News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्।
- उनले आगामी बजेट सुधारवादी हुने र सुशासन प्रवर्द्धनका लागि कानुनी सुधार, सूचना प्रविधि र डिजिटाइजेसनमा जोड दिइने बताए।
- सरकारले डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा, पर्यटन र उच्च मूल्य कृषिमा जोड दिँदै निजी क्षेत्रको लगानी आवश्यक रहेको उल्लेख गरेको छ।
४ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित नेपाल बिजनेस समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराइने बताए ।
‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै वाग्लेले आगामी बजेट सुधारवादी बजेट आउने बताए ।
उनकाअनुसार सुशासन प्रवर्द्धनका लागि संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन, सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ ।
ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको आधार निर्माणमा सरकारले प्राथमिकता दिइरहेको छ ।
नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेको छ । अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ । आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे ।
युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिए ।
पूर्वाधार विकासमा सरकारले एकीकृत दृष्टिकोण अपनाउने बताउँदै उनले सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइने बताए ।
नेपाललाई आन्तरिक रूपमा, क्षेत्रीय रूपमा र विश्वसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेकाअनुसार सरकारले सामाजिक क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण, आधारभूत वित्तीय पहुँच र दिगो सामाजिक सुरक्षा संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ ।
उनले वैदेशिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाइने बताए । विश्वभरि रहेका गैरआवासीय नेपालीहरूको सञ्जाललाई केवल भावनात्मक सम्बन्धका रूपमा नभई लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको माध्यमका रूपमा उपयोग गरिने समेत उनको भनाइ थियो ।
भौतिक पूर्वाधार विस्तारमा निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारको पूँजीगत खर्च मात्र पर्याप्त नहुने बताए ।
प्रतिक्रिया 4