५ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइबारे प्रहरीमाथि नै छानबिन सुरु भएको छ ।
ललितपुर प्रहरीमाथि छानबिन गर्न अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम अधिकारीको नेतृत्वमा समिति बनाएर काम सुरु गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि भन्दै १९ चैतमा भट्ट पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण विभागको आफ्नै हिरासत नभएकाले ललितपुर प्रहरीको हिरासतमा राखेर भट्टमाथि अनुसन्धान गरिएको छ ।
२१ चैतमा सम्पत्ति शुद्धीकरणको कसुरकै लागि भन्दै अर्का व्यवसायी सुलभ अग्रवाल पनि समातिए । उनीहरु दुबैलाई ललितपुर प्रहरीकै हिरासतमा राखिएको छ ।
हिरासतमा रहँदा उनीहरुलाई सुविधा सम्पन्न ठाउँमा राखिएको, डिजिटल ग्याजेट प्रयोग गर्न दिएको भन्ने उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि अहिले प्रहरीमाथि नै छानबिन अघि बढाइएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘हिरासतमा रहेको व्यक्तिलाई डिजिटल डिभाइस प्रयोग गर्न दिएको भन्ने छ । त्यहाँमाथि उनीहरुलाई छुट्टै सुविधा सम्पन्न ठाउँमा राख्ने गरिएको भन्ने जानकारी आएपछि छानबिन अघि बढाइएको हो’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4