+
+
Shares
संसदीय सुनुवाइ :

प्रस्तावित प्रधानन्यायाधीशको शैक्षिक योग्यतामा उठ्यो प्रश्न, बौद्धिक चोरीको पनि आरोप

छलफलमा भाग लिँदै उजुरीकर्ता दिपक न्यौपानेले भनेका छन्, ‘प्रधानन्यायाधीश हुनु अगावै सर्वोच्चमा सेटिङ गरिरहनुभएको छ । सीसीटीभी समेत मगाएर हेरियोस् ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ जेठ ५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरीमाथि छलफल भइरहेको छ।
  • उजुरीकर्ताले शर्माको शैक्षिक योग्यता र पार्टी कार्यालयमा शपथ लिएको विषयमा प्रश्न उठाएका छन्।
  • सांसदहरूले बौद्धिक चोरी, रिट दर्ता प्रभावित गर्ने र ७० लाख लिएको आरोपका प्रमाण मागेका छन्।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँग छलफल चलिरहेको छ ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि अहिले छलफल चलिरहेको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् ।

‘योग्यतामा प्रश्न उठिसकेको छ । उहाँको फाइल मगएर समितिले अध्ययन गरोस्,’ छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘प्रधानन्यायाधीश हुनु अगावै सर्वोच्चमा सेटिङ गरिरहनुभएको छ । सीसीटीभी समेत मगाएर हेरियोस् ।’

उनले न्यायाधीश हुँदा पार्टीको कार्यालय पुगेर शपथ लिएको विषय पनि उठाए । ‘हिजो न्यायाधीश भएपछि एमाले पार्टी कार्यालय गएर शपथ खानेलाई ख्याल गर्नुपर्ने हुन्छ,’ उजुरीकर्ता न्यौपानेले भनेका छन् ।

यसैबीच रास्वपा सांसद राजीव खत्रीले बौद्धिक चोरीको तथ्य प्रमाण के हो ? भन्दै प्रश्न गरे । ‘बौद्धिक चोरी गरेको आरोप लगाउनु भएको छ । यसको तथ्य प्रमाण के हो ?,’ उनले भने, ‘थेसिस पनि ल क्याम्पसका प्राध्यापकलाई लेखाएको भनेको के हो ?’

अर्का सांसद नरबहादुर विष्टले एमाले पार्टी कार्यालयमा शपथ लिएको विषयबारे प्रश्न गरे । ‘एमालेको पार्टी कार्यालय गएको भन्नुभयो । उहाँ अहिले पनि एमाले हो भन्ने दाबी हो ?,’ उनको प्रश्न थियो ।

एमाले सांसद पद्मा अर्यालले भनिन्, ‘सिफारिसकर्ता र उजुरीकर्ताबीच केही स्वार्थ थियो कि ? यहाँले लगाउनुभएको आरोप झुटा ठहरिए सजाय भोग्न तयार हो ?’

रास्वपा सांसद मधु चौलागाईंले ‘रिट दर्ता गर्न प्रभावित गरेको प्रमाण के हो ?’ भनी प्रश्न गरे । उनले थप प्रश्न गरे, ‘जुन आरोप तपाईंले उठाउने हो वा जसको बौद्धिक चोरी भयो उसले उठाउने हो ?’

नेकपा सांसद वर्षमान पुनले ‘मुद्दा  प्रभावित गर्न ७० लाख लिएको भन्ने आरोपको प्रमाण के हो ?’ भनी प्रश्न गरे । उनको थप प्रश्न थियो, ‘अहिले नै सेटिङ गरेको भन्नुभयो । यसलाई कसरी पत्याउने ? आधार के छ ?’

उजुरीकर्ता न्यौपानेले आफूसँग प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मासँग कुनै रिसइबी नभएको भन्दै प्रमाणपत्र झिकाएर हेर्न आग्रह गरे ।

‘थेसिस प्लेगारिजम भएको हो वा होइन झिकाएर हेरियोस्,’ उनले जवाफका क्रममा भने, ‘उहासँग मेरो व्यक्तिगत रिसइबी केही छैन । दिपकराजको पनि योग्यताको प्रमाण झिकाइयो र पछि प्रधानन्यायाधीशमा अनुमोदन हुनु भएन । डा.शर्माको पनि योग्यता झिकाएर हेरियोस् ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?