News Summary
Generated by OK AI. Editorially reviewed.- रविन परियारले २०७१ सालमा सामाजिक विषयमा आधारित नाटक बनाएर अभिनय यात्राको सुरुवात गरे।
- शिल्पी थिएटरमा प्रशिक्षणपछि रविनले मुक्त थिएटर प्रवर्द्धन गर्दै देश विदेशमा नाटक प्रदर्शन गरिरहेका छन्।
कुरा २०७१ को हो । रविन परियार १० कक्षामा पढ्थे । गीत गाउने, अतिरिक्त क्रियाकलापमा सक्रिय रहने र विद्यालयमा सदन नेता समेत रहेका उनी शिक्षकहरूका प्रिय विद्यार्थी थिए । त्यस्तैमा एक दिन शिक्षकले उनलाई नसोचेको कुरा अह्राए- रविन, तिमीले नाटक बनाउनुपर्छ ।
त्यसबेला रविनलाई नाटक के हो ? नाटक कसरी बनाइन्छ ? केही थाहा थिएन । ९ कक्षाको सामाजिक विषयमा नाटक बनाउने क्रियाकपाल थियो । त्यसैमा आधारित भएर उनले नाटक बनाउनुपर्ने थियो ।
रविनले जसोतसो काम चलाउ नाटक बनाए । उनका अनुसार त्यो नाटक गरिबी र सामाजिक विभेदको मुद्दामा आधारित थियो । नाटकमा उनले एक गरिब गाउँलेको भूमिका निभाएका थिए ।
आज त्यो नाटकको धेरै स्मृति त उनीसँग छैन, तर त्यसले तयार बनाएको बाटो भने छँदैछ । जसमाथि नै उनी हिँडिरहेका छन् ।
000
रविन धादिङको उत्तरी भेगमा जन्मे, हुर्के । उनको घरमा २४ सै घण्टा रेडियो बज्थ्यो । गीत संगीतप्रति सघन प्रभाव पार्ने माध्यम हो रेडियो । अलि पछि उनका माइलो बुबाले कतारबाट टेलिभिजन ल्याए । त्यसपछि नेपाली र हिन्दी सिनेमाहरू हेर्ने बाटो खुल्यो । र, यसैले हो उनमा अभिनयको बीउ अंकुरण गराएको ।
रविनको जीवनमा २०७२ सालको भूकम्प एउटा ठूलो टर्निङ पोइन्ट बन्यो । भूकम्पले उनको घर मात्रै भत्किएन हजुरबुबाको ज्यान समेत लियो । त्यो दु:खान्त घटनापछि पनि उनी फेरि नाटकमा जोडिए । त्यसपछि उनी केही गैरसरकारी संस्थाहरूसँग मिलेर बालविवाह र मानव बेचबिखन विरुद्धका नाटकहरूमा जोडिए ।

तर, नाटकमै भविष्य बनाउनका लागि गाउँमै बसिरहेर सम्भव छैन भन्ने उनलाई लाग्यो । अनि उनको नयाँ अध्याय सुरु भयो- काठमाडौं ।
७ चैत २०७४ । खल्तीमा १२ हजार रुपैयाँ बोकेर उनी काठमाडौं जाने गाडी चढे । उनी पहिलो पटक काठमाडौं आइरहेका थिए । पैसा हराउला भन्ने डर यति थियो कि उनले घरबाट काठमाडौं आउँदासम्म पैसा भएको गोजीबाट हात हटाउँदै हटाएनन् । कपनमा रहेको दिदीको कोठामा पुगेर मात्र गोजीबाट हात झिके । त्यो पैसा उनले नाटक सिक्न ल्याएका थिए ।
काठमाडौं आएको केही समय यताउता गर्दागर्दै बित्यो । पैसा पनि सकिँदै गयो । त्यो बीचमा उनले शिल्पी थिएटरमा प्रशिक्षण सुरु हुन लागेको खबर पाए । तर, शिल्पीमा १५ जनाको मात्र कोटा थियो । तैपनि रविन १६औँ विद्यार्थीको रूपमा भर्ना भए । तर, उनीसँग प्रशिक्षणको पूरा शुल्क तिर्न पैसा भएन । केही मात्रै दिएर प्रशिक्षणमा भर्ना भएका थिए । र, जसोतसो प्रशिक्षण सक्काए ।
त्यसयता शिल्पी थिएटर उनका लागि ‘अर्को घर’ भएको छ । कार्यालय भन्नु नै उनका लागि शिल्पी हो । त्यहाँ भेटिने अन्य नाट्यकर्मीहरू उनका नजिकका आत्मीय साथी बने । शिल्पीमै आबद्ध भएर नाटक गर्दै जाँदा उनी देश, विदेश घुमे । नाटकभित्र पनि फरक–फरक शैलीमा काम गर्न सके।

जस्तो, रविन र उनको टोलीले गाउँमा रंगमञ्च अर्थात् मुक्त थिएटरको अवधारणा अघि सारिरहेका छन् । थिएटरलाई ब्ल्याक बक्सबाट बाहिर निकालेर गाउँका कुना–कुना सम्म पुर्याउनु यो अवधारणाको लक्ष्य भएको उनको भनाइ छ ।
त्यस्तै जलवायु परिवर्तन जस्तो गम्भीर मुद्दालाई नाटक ‘हिउँको पृथ्वी यात्रा’ मार्फत देखाएर नेपालका अधिकांश जिल्लामा प्रदर्शन गरिसकेका छन् । यो नाटक जर्मनीको मञ्चसम्म पुगिसकेको छ । अहिलेसम्म ९० पटक प्रदर्शन भइसकेको छ।
यसैगरी जर्मनीका थिएटर शिक्षकहरूसँग मिलेर उनले नेपालमा बफुन थिएटर शैली भित्र्याउन भूमिका पनि निभाए । यसमा शरीरलाई अलिकति अस्वभाविक बनाएर अभिनय गर्ने गरिन्छ ।
यो समयसम्म आइपुग्दा उनले एन्टोन चेखभको कथामा आधारित ‘द बेट’ नामक नाटक पनि निर्देशन गरेका छन् । जुन शिल्पीमै मञ्चन भएको थियो । पछिल्ला वर्षहरूमा उनी मञ्चमा देखिएका थिएनन् । नेपथ्यमा रहेर शिल्पीमा मञ्चन हुने हरेक नाटकमा प्राय: काम गरिरहेका थिए ।
केही समयअघि मञ्चन भएको ‘सिकल सेल’मार्फत फेरि उनी मञ्चमा फर्किए । यस नाटकमा उनले सिकल सेल रोग लागेको पात्र मुकेशको भूमिका निर्वाह गरेका थिए । पात्र निभाउन उनले पालिरहेको लामो कपाल काटेका थिए ।
दुई वर्षपछि मञ्चमा फर्किएका उनले मुकेशको भूमिकालाई न्यायपूर्ण तरिकाले प्रस्तुत गर्न सके । मुकेशमा थिए १३/१४ वर्षको किशोर । रविन २८ वर्षका युवक । तर, नाटकमा पात्र मुकेश जस्तो हुनुपर्ने हो रविन ठ्याक्कै त्यस्तै देखिए– रोगी, सिकुटे र ख्याउटे ।

रविनको अभिनयलाई विश्लेषण गर्दा उनी डुइङ (गर्नु) भन्दा बिइङ (हुनु)लाई प्राथमिकता दिन्छन् । उनको विचारमा, कलाकारले अभिनय गर्नु मात्र पर्याप्त छैन, ऊ त्यो पात्रमा घटित हुनुपर्छ ।
‘जब कलाकार पात्रमा घटित हुन्छ, त्यसले गर्ने र हेर्ने दुवैलाई आनन्द दिन्छ,’ उनी भन्छन् । अहिले त उनलाई विचारविहीन कला त्यति धेरै मन पनि पर्दैन । त्यस्ता कलालाई मनोरञ्जन मात्र ठान्छन् । विचार सहितको कला हुनुपर्नेमा उनको जोड छ । र, अबको यसै विचारमा रहेर काम गर्ने उनको रहर छ ।
प्रतिक्रिया 4