+
+
Shares

कान्सको शीर्ष पुरस्कार ‘फ्योर्ड’ लाई, मुंगिउले दोस्रोपटक जिते पाल्मे दे’ओर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोमानियाली निर्देशक क्रिस्टियन मुंगिउको फिल्म ‘फ्योर्ड’ले कान्स फिल्म महोत्सवमा पाल्मे द’ओर पुरस्कार जितेको छ।
  • मुंगिउले यो पुरस्कार दुईपटक जित्ने विश्वका दशौं निर्देशकमध्ये एक बनेका छन्।
  • ‘फ्योर्ड’मा नर्वेली सामाजिक व्यवस्थासँग ठोक्किँदा बाल दुव्र्यवहारको मुद्दामा फसेको रोमानियाली परिवारको कथा छ।

काठमाडौं । रोमानियाली निर्देशक क्रिस्टियन मुंगिउको फिल्म ‘फ्योर्ड’ले विश्वप्रसिद्ध कान्स फिल्म महोत्सवमा उत्कृष्ट फिल्मको पाल्मे द’ओर पुरस्कार जितेको छ । यससँगै मुंगिउ दुईपटक पाल्मे द’ओर जित्ने विश्वका दशौं फिल्म निर्देशक बनेका छन् ।

उनले यसअघि १९ वर्षअघि ‘फोर मन्थ्स, थ्री विक्स एन्ड टु डेज’का लागि यही प्रतिष्ठित पुरस्कार जितेका थिए । ‘फ्योर्ड’मा हलिउड अभिनेता सेबास्टियन स्टान र नर्वेली अभिनेत्री रेनेट रेन्स्भे मुख्य भूमिकामा छन् । फिल्ममा नर्वेको सामाजिक व्यवस्थासँग ठोक्किँदा बाल दुव्र्यवहारको मुद्दामा फस्ने एक रोमानियाली इसाई परिवारको कथा प्रस्तुत गरिएको छ । प्रतिस्पर्धा खण्डमा यो फिल्मलाई लिएर निकै बहस भएको थियो ।

समीक्षकबीच मत विभाजित भए पनि दक्षिण कोरियाली निर्देशक पार्क चान–वुक नेतृत्वको जुरी टिमले भने यसलाई उत्कृष्ट ठहर गर्‍यो । पुरस्कार ग्रहण गर्दै मुंगिउले विनम्र प्रतिक्रिया दिए । उनले भने, ‘सबै पुरस्कार समय र सन्दर्भमा आधारित हुन्छन् । आज तपाईंहरूले दिएको यो सम्मानले हामीलाई खुशी बनाएको छ । तर यी फिल्म साँच्चै समयको परीक्षामा टिक्छन् कि टिक्दैनन् भन्ने बुझ्न १० वा २० वर्ष कुर्नुपर्छ ।’

यो फिल्म मुंगिउको पहिलो यस्तो कृति हो, जसको छायांकन र कथा दुवै उनको मातृभूमिभन्दा बाहिर निर्माण गरिएको हो । समीक्षकले यसलाई सामाजिक संरचना र व्यक्तिगत अस्तव्यस्तताको उत्कृष्ट नाटकका रूपमा व्याख्या गरेका छन् ।

सेबास्टियन स्टान र रेनेट रेन्स्भेको संयमित अभिनयलाई विशेष प्रशंसा गरिएको छ । यो जित अमेरिकी वितरण कम्पनी नियनका लागि पनि ठूलो उपलब्धि बनेको छ । कम्पनीले लगातार सातौं वर्ष पाल्मे द’ओर विजेता फिल्म वितरण गर्ने कीर्तिमान कायम गरेको हो ।

यसअघि सन् २०१९ मा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’बाट सुरु भएको यो यात्रा अझै जारी छ । यसपटक धेरैले फ्रान्समा बसोबास गरिरहेका निर्वासित रुसी निर्देशक आन्द्रेई ज्भ्यागिन्त्सेभको फिल्म ‘मिनोटोर’ले शीर्ष पुरस्कार जित्ने अपेक्षा गरेका थिए ।

तर अन्ततः उक्त फिल्मले दोस्रो ठूलो सम्मान ‘ग्रान्ड प्रिक्स’मै चित्त बुझाउनुपर्‍यो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध नीतिमाथि आलोचनात्मक दृष्टि राखिएको यो फिल्म राजनीतिक कारणले रुसबाहिर लाट्भियामा छायांकन गरिएको थियो ।

निर्देशनतर्फको उत्कृष्ट पुरस्कार भने दुई फिल्मले संयुक्त रूपमा जिते । पोलिस निर्देशक पावेल पावलिकोव्स्कीको युद्धपछिको जर्मनीमाथिको फिल्म ‘फादरल्यान्ड’ र स्पेनी निर्देशक जोडी हाभिएर काल्भो तथा हाभिएर अम्ब्रोसीको फिल्म ‘द ब्ल्याक बल’ले संयुक्त रूपमा यो सम्मान पाए ।

पुरस्कार समारोहमा पावलिकोव्स्कीले ठट्टा गर्दै भने, ‘यो त अस्तव्यस्त दृश्य संयोजन जस्तै भयो ।’ त्यसपछि स्पेनी निर्देशकद्वयले एलजिबिटिक्यु समुदायको पीडा र इतिहास सम्झँदै भावुक मन्तव्य दिएका थिए ।

उनीहरूले भने, ‘हामीअघिका पुस्ताले भोगेको मौनता, पीडा र मृत्युको सम्मान गर्ने एउटै उपाय भनेको अब आउने पुस्तालाई अझ बढी स्वतन्त्रता सुनिश्चित गर्नु हो ।’

पावलिकोव्स्कीले पनि राजनीतिक सिनेमाबारे धारिलो अभिव्यक्ति दिए । उनले भने, ‘हामी राजनीति भित्रै बाँचिरहेका हुन्छौं र सिनेमाले त्यसलाई प्रतिबिम्बित गर्नुपर्छ । तर राजनीतिज्ञ र अभियानकर्ताले तोकेको भाषामा होइन । तानाशाह र गुण्डाको प्रतिरोध गर्न साहस चाहिन्छ, तर भीड, एल्गोरिदम र दबाबको प्रतिरोध गर्न पनि त्यत्तिकै साहस आवश्यक हुन्छ ।’

अभिनयतर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार फ्रान्सेली अभिनेत्री भर्जिनी एफिरा र जापानी कलाकार ताओ ओकामोटोले संयुक्त रूपमा जिते । उनीहरूलाई जापानी निर्देशक र्युसुके हमागुचीको फिल्म ‘अल अफ अ सडन’मा गरेको अभिनयका लागि सम्मानित गरिएको हो ।

उत्कृष्ट अभिनेताको पुरस्कार बेल्जियन निर्देशक लुकास धोन्तको युद्धनबारेको फिल्म ‘कावर्ड’का कलाकार भ्यालेन्तिन क्याम्पान्ये र नयाँ अभिनेता इमानुएल माकियाले संयुक्त रूपमा प्राप्त गरे । पुरस्कार पाएपछि क्याम्पान्ये मञ्चमै सहकलाकारको काखमा हाम फालेर खुसी व्यक्त गरेका थिए ।

जुरी पुरस्कार जर्मन निर्देशक भालेस्का ग्रिसेबाखको फिल्म ‘द ड्रिम्ड एडभेन्चर’लाई प्रदान गरियो । उत्कृष्ट पटकथाको पुरस्कार फ्रान्सेली निर्देशक इमानुएल मारेले ‘अ म्यान अफ हिज टाइम’का लागि जिते ।

यसपटकको कान्सले विश्व सिनेमा सीमाहीन र खोजमूलक माध्यमका रूपमा अघि बढिरहेको सन्देश दिएको समीक्षकको टिप्पणी छ । ‘फ्योर्ड’, ‘मिनोटोर’, ‘द ड्रिम्ड एडभेन्चर’, ‘फादरल्यान्ड’ र ‘अल अफ अ सडन’ जस्ता फिल्महरूले विस्थापन, सीमापार सम्बन्ध र नयाँ सांस्कृतिक पहिचानका विषयलाई केन्द्रमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?