News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जेठ १५ देखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कप’ आयोजना हुने भएको छ ।
- नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको योगदानको सम्मानमा समर्पित यस महोत्सव एनसेल फाउन्डेसनको सहकार्यमा हुन लागेको हो ।
- महोत्सवमा पुलित्जर पुरस्कार विजेता ट्रेसी के. स्मिथ र पल मल्डुनसहित नेपाल तथा विभिन्न देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
११ जेठ, काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कप’ आगामी शुक्रबार (जेठ १५) देखि हुने भएको छ ।
दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्येको एक संस्करण जेठ २२ गतेसम्म काठमाडौंमा आयोजना हुने छ ।
महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकको सहभागिता रहनेछ ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठ दिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित छ । यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ ।
साताव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफल समावेश गरिएका छन् ।
यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायतको उपस्थिति रहनेछ ।
नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।
प्रतिक्रिया 4