News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर नेपाली राजनीतिज्ञविरुद्ध समाचार लेख्न खोजेको हल्लालाई चीनविरुद्धको योजनाबद्ध बदनाम भन्दै गम्भीर अनुसन्धान गर्न माग गरेको छ ।
- दूतावासले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमा फैलाइएको हल्लामा संलग्न व्यक्तिहरूलाई कानून अनुसार कडा कारबाही गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
- चीनले सधैं अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै नेपालको सार्वभौमसत्ता र राजनीतिक स्थिरतामा सहयोग गरेको दाबी गरेको छ ।
९ जेठ, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।
दूतावासका प्रवक्ताले जारी गरेको नोटमा उक्त घटनाबारे ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई नेपाली कानुनअनुसार सजाय दिन आग्रह गरिएको छ ।
‘हामी सम्बन्धित नेपाली निकायहरूलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।
हालै सामाजिक सञ्जालमा एक चिनियाँ नागरिकले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई निश्चित नेपाली राजनीतिज्ञविरुद्ध समाचार बनाउन आर्थिक प्रस्ताव गरेको दाबी सार्वजनिक भएको थियो ।
चिनियाँ दूतावासले भने त्यस्ता आरोपलाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्दै चीनको छवि बिगार्ने उद्देश्यले नियोजित रूपमा फैलाइएको प्रचार भएको दाबी गरेको छ ।
दूतावासले चीनले सधैं ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त’ पालना गर्दै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्दै आएको दाबी पनि गरेको छ ।
वक्तव्यमा ‘दुई देशको साझा हितको संरक्षणका लागि सुरक्षा तथा कानुनी सहकार्य सुदृढ बनाउन तयार’ रहेको उल्लेख छ ।
प्रतिक्रिया 4