News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पामा एक महिनाभित्र विषालु च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना बिरामी परेका छन् ।
- पछिल्लोपटक तानसेन नगरपालिका–८ का ८ वर्षीय बालकको मृत्यु भएको छ ।
- विषालु च्याउले ज्यान जान थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।
११ जेठ, पाल्पा । पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ ।
च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो ।
गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर लगिएकोमा पुन: स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचाररत थिए । उनको उपचारको क्रममा मृत्यु भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अहिले पनि तानसेन नगर भित्र ११ जना च्याउ खाएर बिरामी छन्, जसमध्ये एक जना गम्भीर छ । अन्यको अवस्था सामान्य छ ।
उता माथागढीको कसेनीका ४ जना, निस्दीका २ जना पनि बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकाका तीन जना पनि च्याउ सेवन गरी बिरामी परेकोमा दुई जनाको गत मंगलबार र बुधबार मृत्यु भएको छ । एक जना उपचाररत छन् ।
बिरामीमध्ये केहीको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको छ ।
प्रि–मनसुनको समयमा उम्रिएका च्याउहरू विषालु हुने हुँदा यस्ता च्याउको सेवनबाट बिरामी र मृत्यु हुने दर बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा विषालु च्याउ सेवन गर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीयहहरुले सचेतनाका कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि, कर्मचारीले विभिन्न तरिका तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनाका कार्यहरु गर्दै आएको जनाएका छन् ।
प्रतिक्रिया 4