News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा अत्यधिक तातो लहर चल्ने सम्भावना छ ।
- काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
- पश्चिम नेपालमा तत्काल वर्षाको सम्भावना नभएकाले गर्मी अझै बढ्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
११ जेठ, काठमाडौं । आज पनि लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा तातो दिन तथा तातो लहर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन हुनेछ भने तराई भू–भागमा तातो लहर हुने सम्भावना छ ।
दिपायल, धनगढी, नेपालगञ्जमा तातो हावाको लहर चल्ने छ । दिपालयमा आजको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र रुपन्देहीको भैरहवामा तातो दिन हुने पूर्वानुमान गरिएको महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
भैरहवाको अधिकतम तापक्रम आज ३८ देखि ४० डिग्री सेल्सियस रहने अनुमान छ । यसैगरी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३७ देखि ३९ र घोराहीको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा तातो दिन वा तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको थियो ।
पश्चिमको तुलनामा मध्य र पूर्वी नेपालका जिल्ला तुलनात्मक रुपमा शीतल छन् । आज काठमाडौं उपत्यकासहित, बागमती, गण्डकी र कोशीका तराई तथा पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ ।
आज दिउँसो काठमाडौं, पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी, ताप्लेजुङमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यीनै क्षेत्रमा आज राति पनि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रुपन्देहीको भैरहवामा आज राति भने आंशिक बादल लाग्ने पूर्वानुमान छ । तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
मौसमविद विनोद पोखरेलका अनुसार आजदेखि वर्षा हुने ठाउँ र वर्षाको मात्रा पूर्वतिर बढ्ने सम्भावना छ । केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनको अनुमान छ ।
अर्का मौसमविद उज्ज्वल उपाध्याय पनि काठमाडौं र पूर्वी क्षेत्रमा अपराह्न वर्षा हुने सम्भावना रहेको बताउँछन् ।
तर पश्चिम नेपालमा भने तत्काल पानी पर्ने सम्भावना छैन । त्यसैले गर्मी अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया 4