News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबमा कमेडी भिडियो बनाउँदै आएका निमेश श्रेष्ठले निर्देशन गरेको डेब्यु फिचर फिल्म ‘लाइफ ड्यामेज’ हलहरूमा प्रदर्शन भइरहेको छ।
रुचिले मान्छेलाई कहाँसम्म लैजान सक्छ ? अहिलेको समयमा यो प्रश्नको गतिलो उत्तर निमेश श्रेष्ठ हुन् भन्दा फरक पर्दैन । युट्युबमा कमेडी भिडियो बनाउँदै आइरहेका उनले लेखन/निर्देशनमा डेब्यु गर्दै फिचर फिल्म बनाएका छन्– लाइफ ड्यामेज । जुन अहिले हलहरूमा प्रदर्शन भइरहेको छ
फिल्ममेकिङमा उनको रुचि नहुँदो त फेन्टासी कमेडी ड्रामा विधाको यो फिल्म, सायदै बन्ने थियो । फिल्मका थप कुरा गर्नुअघि उनको यात्रा बुझ्न जरुरी छ । किनकि यो फिल्म विशुद्ध आफ्नो रुचिलाई पछ्याउँदाको नतिजा हो । र, उनलाई बुझ्न हामी २०११ मा फर्कनु पर्छ ।
त्यसबेला उनी १७ वर्षका थिए । काठमाडौंमा जन्मे, हुर्केका उनलाई फिल्म, क्यामेरा जस्ता भिजुअल कुराहरूसँग सानैदेखि एक प्रकारको लगाब थियो । नाच्न असाध्यै मन पर्थ्यो । अभिनय र फिल्ममेकिङको बिजारोपण नै उनको हकमा नाचबाट भएको थियो ।
२०१२ बाट भने आफ्ना नाचहरूको भिडियो बनाउन थाले । फोनबाट । अनि तिनलाई सामाजिक सञ्जालमा राख्दै पनि गए । अलि पछि कमेडी शैलीका भिडियोहरू पनि बनाउन थाले । तर, अहिले जस्तो फोन र इन्टरनेट सर्वसुलभ थिएन । त्यो बीचमा पनि उनका केही भिडियोहरू धेरैसामु पुग्न सकेको थियो ।

यसरी आफूसँग भएको सीमित स्रोतबाट भिडियो बनाउँदै जाँदा उनलाई यो क्षेत्रको औपचारिक शिक्षा लिने इच्छा पलायो । ठीक त्यसैबेला अस्कर फिल्म स्कुलमा नयाँ भर्ना खुलिरहेको थियो । उनी भर्ना भए । त्यसबेला उनको उमेर २१ वर्ष थियो ।
फिल्म पढिरहँदा यो क्षेत्रबारे थप धेरै कुरा सिक्न पाएको उनले सुनाए । पढेको कुरा स्क्रिनमा निकाल्न पाउँदा व्यवहारिक ज्ञान पनि बढेको उनको भनाइ छ । सन् २०१५ मा उनी त्यो कोर्स सक्काएर निस्कए ।
यस बीचमा उनले सर्ट फिल्म बनाउने, फेस्टिभलहरूमा सहभागी हुने र स्वयंसेवकको रूपमा काम गर्दै अनुभव बटुले । तर, त्यहाँबाट उत्तीर्ण भइसकेको दुई वर्ष जस्तो उनका लागि निकै संघर्षपूर्ण रहे । किनकि उनले तत्कालै कतै काम पाएनन् ।
एकफेर एक मिडियामा उनले काम पनि पाएका थिए । तर, कर्पोरेट शैलीको त्यो कम्पनीमा उनी काम गरिरहन सकेनन् । ५/६ दिन काम गरेर छाडिदिए । बरू अरूको फिल्ममा लाइट बोक्ने, असिस्ट गर्ने र मुख्यतया भिडियो एडिटिङ गरेर उनले आफ्नो खर्च जुटाउन थाले ।
यसरी काम गर्दै जाँदा उनलाई आफ्नै केही सुरु गर्ने गरी विचार आयो । त्यसपछि सन् २०१७ मा उनले अन्य दुई जनासँग मिलेर ‘फन रेभोलुसन टिभी’ नामक युट्युब च्यानल सुरु गरे । उनका लागि युट्युब दर्शकको मनोविज्ञान बुझ्ने र आफ्ना कथा भन्ने शैलीलाई निखार्ने एउटा टेस्टिङ ग्राउन्ड जस्तै बन्यो ।

यस च्यानलमार्फत विशेषत: उनले सामाजिक कुरीति र विसंगतिहरूमाथि व्यङ्ग्यात्मक कमेडी गर्ने गर्थे । जुन धेरै दर्शकले रुचाए । अहिले यो च्यानलमा १ लाख १५ हजारभन्दा बढी सब्सक्राइबर जोडिइसकेका छन् ।
उनलाई युट्युबको सानो स्क्रिनमा मात्र अडिनु थिएन । एक प्रकारको दर्शक पनि तयार पारिसकेका थिए । अनुभव पनि बटुलिसकेका थिए । अब बस्, उनलाई कथा र फिल्ड मात्र चाहिएको थियो । यसको एउटा आधार २०२२ मा तयार भयो।
त्यसबेला उनीहरूले ‘हजब्यान्ड्स एज बुहारी’ भन्ने शीर्षकमा सर्ट फिल्म बनाएका थिए । नाम जस्तै यो सर्ट फिल्ममा पात्रहरूको लैङ्गिक भूमिका परिवर्तन गरिएको थियो । भलै त्यो सर्ट फिल्म लैंगिक हिंसासम्बन्धी सचेतना फैलाउनका लागि संस्थाहरूमार्फत बनाएका थिए ।
उनलाई लाग्यो- यदि संसारै उल्टो भयो र मातृसत्तामा चल्न थाल्यो भने समाज कस्तो देखिन्छ ? त्यसपछि उनले यही प्रश्नमा रहेर फिचर फिल्म बनाउने निर्णय गरे ।
निमेशका अनुसार यो फिल्मको स्क्रिप्ट तयार पार्न मात्र डेढ वर्ष समय लागेको छ । त्यसमा ६ महिना निरन्तर लेखन, २ महिना रि-ड्राफ्टिङ र बाँकी समय छलफल र परिमार्जनमा बिताइएको उनी सुनाउँछन् ।
यसमा उनीहरूले सुटिङअघि नै एडिटिङ भन्ने एउटा विशेष पद्धति पनि अपनाए । अर्थात् सुटिङमा जानुअघि नै कुन सिन कस्तो हुन्छ र कुन पछि कुन आउँछ भन्ने कुरा स्क्रिप्टमै स्पष्ट पारिएको थियो ।

युट्युबका लागि भिडियो बनाइरहेका उनलाई फिल्डमा सजिलो भएन । फिल्मको सुटिङ सक्किएको लामो समयसम्म आर्थिक अभाव हुँदा पोस्ट-प्रोडक्सनको काम रोकियो । आफ्नो कमाइबाट जुटाएर, साथीभाइ र परिवारसँग मागेर बल्लतल्ल फिल्मलाई पूर्णता दिएको उनले सुनाए ।
त्यसपछि युट्युबमा सिकेका अनुभवहरूलाई फिल्मको ठूलो पर्दामा उतार्दै उनले तयार गरेका हुन्- लाइफ ड्यामेज ।
निमेशको यो सफलता समग्र कन्टेन्ट क्रियटरहरूको पनि सफलता भएको कन्टेन्ट क्रियटर विनायक कुइँकेल बताउँछन् । ‘हाम्रो कम्युनिटीबाट सानो स्केलमा, सानो प्रोडक्सनमा, सानो टिमबाट सुरु गरेर सिल्भर स्क्रिनमा पुग्नु भनेको त बबाल कुरा हो’ एक भिडियोमा उनले भनेका छन् ।
यसरी डान्सिङ र मोबाइल भिडियोबाट सुरु भएको निमेशको यात्रा अहिले हलहरूमा देखिन्छ ।
कस्तो छ फिल्म ?
यो फिल्मबारे एक फेर निमेशले भनेका थिए, ‘अर्काको जुत्तामा उभिंदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौं ।’
उनले भने जस्तै अरूको जीवन, खास गरी लैंगिक भूमिका परिवर्तन हुँदा के हुन्छ ? कस्तो हुन्छ ? भन्ने कुरा नै फिल्ममा मुख्य विषयवस्तुका रूपमा देखाइएको छ । फिल्मको कथामा यस अवस्थाको सिर्जना ईश्वरहरूले नै गरेका हुन्छन् । उनीहरूको असावधानीका कारण विश्वमा अहिले चलिरहेको लैंगिक भूमिकामा परिवर्तन हुन्छ । त्यसपछि के–के हुन्छ ? फिल्मको कथा त्यतै बग्छ ।

यस प्रकारको अलि पृथक विचारमा बनाइएको फिल्ममा सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् । निमेश स्वयं पनि फिल्ममा छन् । उनी सुरक्षा पन्तको श्रीमान (श्रीमती !)को भूमिका छन् ।
यो फिल्ममा युट्युबलाई माध्यम बनाउँदै आइरहेका अन्य कलाकारहरू छन् । आदिम कालदेखिको त्यो लैङ्गिक भूमिका परिवर्तन देखाउन दुई मिनेट जतिको एनिमेसन छ । यसले फिल्ममा एक प्रकारको नवीनता थपेको छ । फिल्मले मातृसत्तामा चलिरहेको संसार देखाउँदा देखाउँदै पनि पृतिसत्ताको अहमता देखाउन सकेको छ । सायद यो फिल्मको सफल पक्ष हो ।
तर, ब्याकग्राउन्ड स्कोर, कलर ग्रेडिङ र कथामा केही काम गरेको भए यो फिल्म अझ राम्रो बन्ने थियो ।
यद्यपि पृथक कथा हेर्न, कमेडी विधाको स्वाद चाख्न र अनवरत आफ्नो रुचिमा लागिपरहेको एक फिल्ममेकरलाई अनेकन् पक्षबाट समर्थन गर्न यो फिल्म हेर्नु उपयुक्त हुन जान्छ ।
प्रतिक्रिया 4