+
+
Shares

बाजुरा–हुम्ला विवाद : जनप्रतिनिधि सहितमाथि कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको हिमाली गाउँपालिका–३ मा जनप्रतिनिधिसहितलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा हुम्लाका २३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
  • सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि जग्गा दान दिएको निहुँमा उत्पन्न विवादका कारण ३ जेठमा उक्त समूहले कुटपिट गरेको थियो ।
  • घटनामा संलग्नहरूको खोजीका लागि बाजुरा र हुम्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली लाम्पाटा क्षेत्रमा खटिएको छ ।

११ जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीय जनप्रतिनिधिसहितलाई बन्धक बनाएर कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी परेको छ ।

३ जेठमा लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीबाट आएको समूहले वडा सदस्य पेमागारा गुरुङसहितलाई बन्धक बनाएर कुटपिट गर्ने २५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी परेको हो ।

बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) शैलेश्वरी बोहराले कुटपिटमा परेका हिमालीका मिन कुँवरका बुवाले उनीहरूविरुद्ध शरीर बन्धक बनाएर कुटपिट गरेको भन्दै जाहेरी दिएको बताइन् ।

उनकाअनुसार शनिबार कुँवरका परिवारले २३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा उनीहरूको खोजी थालिएको बोहराले जानकारी दिइन् ।

हुम्लाका प्रमुुख प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर खड्काले पनि उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए । उनका अनुसार भौगोलिक विकटताका कारण केही असहज भएपनि खोजीका लागि प्रहरी परिचालन भइसकेको छ ।

प्रहरी स्रोतकाअनुसार खार्पुनाथ गाउँपालिका–२ थालीका देवराज रावल, किशोर रावल, चन्द्रबहादुर रावल, रामदत्त रावल, सुन्दर जेठारा, माने जेठारा, वीर रावल, लोकेश रावल, कालजङ्ग रावल, गगन रावल, मेख रावलविरुद्ध किटानी जोहरी परेको छ ।

यस्तै, खार्पुनाथकै ज्ञानेन्द्र शाही, शेर रावल, जया रावल, बुद्धि रावल, बृख रावल, कैलाश रावल, परेलाल रावल, करे रावल, लामा रावल, शङ्कर रावल, शान्त रावल र सिद्ध कार्कीविरुद्ध पनि किटानी जाहेरी दिइएको छ ।

लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्ने र सीमाको विषयलाई लिएर जेठ पहिलो हप्तादेखि विवाद भइरहेको थियो । प्रहरी चौकी निर्माण गर्न जग्गा दान दिएको निहुुँमा खार्पुनाथबाट लाम्पाटा आएको समूहले वडा सदस्य  पेमागारा गुरुङको घरमा आक्रमण गर्दै ३ जेठमा कुटपिट गरेको थियो ।

कुटपिट गरेपछि गुरुङको परिवारलाई बन्धक बनाएर उनकै घरमा बसिरहेको समूहले मिन कुँवरसहितका अन्य स्थानीयमाथि पनि कुटपिट गर्दै नियन्त्रणमा राखेका थिए । हाम्रो सुदूरपश्चिम हामी चिनाउछौँ अभियान लिएर पुगेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई ५ जेठमा सोही समूहले आक्रमण गर्ने प्रयास गरेको थियो ।

साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन जान हिडेको टोलीलाई ढुंगामुढा गरेपछि उनीहरू धनगढी फर्किएका थिए । सञ्चार सम्पर्क बाहिर रहेको लाम्पाटामा भएको घटना मेयरको टोली पुगेपछि मात्र बाहिर आएको थियो । त्यसपछि दुई दिनदेखि बन्धक बनाइ कुटपिट गरेर घाइते अवस्थामा रहेकाहरूको पनि हेलीकप्टरमार्फत उद्दार गरिएको थियो ।  यो घटनापछि बाजुरा र हुम्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली लाम्पाटा क्षेत्रमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?