+
+
Shares

प्रचण्डको डेरा नभेटेर अलमलिए बामदेव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:४१
तस्वीर : मिलन तिमिल्सिनाको फेसबुकबाट ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को डेरा नचिनेर पूर्वगृहमन्त्री वामदेव गौतम ललितपुरको मानभवन सडकमा अलमलिनुभएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
  • पत्रकार मिलन तिमिल्सिनाले १२ जेठ बिहान ९ बजेतिर गौतम एक्लै सडकमा मोबाइल हेर्दै अलमलिरहेको तस्वीर खिचेर सार्वजनिक गर्नुभएको हो ।
  • प्रचण्डलाई भेट्न हिँड्नुभएका गौतमले फोन कसैले नउठाएको र डेराको ठेगाना पनि थाहा नभएको बताउनुभएको थियो ।

१२ जेठ, काठमाडौ । नेपाली राजनीतिका एक प्रभावशाली नेता हुन्, बामदेव गौतम ।

तीनपटक उनी यो देशको गृहमन्त्री भए । लामो राजनीतिक पृष्ठभूमिका गौतम सरकारमा नहुँदा पनि प्रभावशाली भूमिकामा रहन्थे ।

तर उनै शक्तिशाली नेता आज सडकमा अल्मलिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । पत्रकार मिलन तिमिल्सिनाले बामदेव अलपत्र परेर मोबाइल हेरिरहेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् ।

तिमिल्सिनाका अनुसार, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको डेरा नचिनेर गौतम सडकमा अलपत्र परेका थिए । ‘अहिले भेट्ने भनेर बोलाउनु भएको थियो, फोन पनि कसैले उठाउँदैन, आफूले पनि डेरा चिनेको छैन,’ गौतमले तिमिल्सिनासँग गरेको संवाद फेसबुकमा राखिएको छ ।

पत्रकार तिमिल्सिनाका अनुसार यो घटना आज बिहान ९ बजेतिरको हो । ‘म अस्पताल जाँदै थिए । ललितपुरको मानभवनमा प्रचण्डको डेरा नचिनेर अल्मलिनु भएका बामदेव गौतम भेटेँ,’ उनले अनलाइनखबरसँग भनेका छन् ।

पूर्वगृहमन्त्री गौतम एक्लै अलमलिरहेको उक्त तस्वीर सामाजिक सञ्जालहरुमा शेयर र पोष्ट भइरहेका छन् । तस्वीरसँगै पत्रकार तिमिल्सिनाले लेखेको स्टाटसले पनि धेरैको ध्यान तानेको देखिन्छ ।

‘उहाँसँग छुट्टिएर हिंड्दै गर्दा अलि वर्षअघिको रातपात, शक्तिशाली, अगुवापछुवाले घेरिएर हिड्ने वामदेवको याद आयो,’ पत्रकार तिमिल्सिनाले लेखेका छन् ‘अहिले न अगुवा न पछुवा, न पुर्‍याउने जाने, न लिन आउने, न शक्ति, न भक्ति ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?