+
+
Shares

लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री 

प्रधानमन्त्री शाहले भने- नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले युरोपेली मुलुकको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भेट गर्दै लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक स्थिरताका लागि प्रतिबद्धता जनाए ।
  • "नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन," प्रधानमन्त्री शाहले भने ।
  • राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेकामा नेपालको प्रशंसा गर्दै आर्थिक समृद्धि र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपाल भ्रमणका रहेका युरोपेली मुलुकको उच्चस्थतरीय प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै नयाँ भए पनि विगतका कुराहरूबाट पूर्ण अलग नहुने बताए ।

‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे ।

वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जनाएकी छन् ।

प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे ।

उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए ।

जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनल भने ।

नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गरे ।

व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए ।

आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि उनीहरूले उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?