News Summary
Generated by OK AI. Editorially reviewed.- घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको छ ।
- त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई २५-२०, २५-१५ र २५-११ को सोझो सेटमा हरायो ।
- उपाधिका लागि अब इरानले कजाखस्तानसँग खेल्नेछ भने कजाखस्तानले अर्को सेमिफाइनलमा भारतलाई पराजित गरेको थियो ।
१४ जेठ, काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो ।
इरानले नेपाललाई २५-२०, २५-१५, २५-११ ले हरायो । घरेलु कोर्टमा करिब दुई हजार बढी दर्शक उपस्थित भएर नेपालको पक्षमा समर्थन गरेपनि इरानले नेपाली दर्शकलाई चुप गराइदियो ।
इरानले भने अब उपाधिका लागि कजखस्तानसँग खेल्नेछ । कजाखस्तानले बिहीबारै पहिलो सेमिफाइनलमा भारतलाई ३-० कै सेटमा हराएर फाइनल पुगिसकेको छ ।
समूह ए को दुवै टोली सेमिफाइनलमा पराजित हुँदा समूह बीका दुई टोली भने फाइनल पुगेका हुन् । समूह चरणमा इरानले कजाखस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेटमा नेपालले १०-८ को अग्रता लिएको थियो । त्यसपछि इरानले टाइम आउट लिँदै खेलमा फर्कियो र पहिलो पटक ११-१० को अग्रता बनायो । १४-१४ को बराबरीपछि भने इरानले अग्रता कायम राख्दै पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो ।
पहिलो सेट जितेपछि इरानले दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिँदै नेपाललाई दबाबमा राखेको थियो । दोस्रो सेटमा इरानले अग्रता कायम राख्दै २५-१५ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनायो ।
तेस्रो सेटमा नेपालको प्रदर्शन झन् कमजोर भयो । इरानले ८-२, १६-४, २२-९ को अग्रता बनाउँदै सेट सहजै आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
प्रतिक्रिया 4