१४ जेठ, काठमाडौं । स्विस लिग र यूईएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै युरोपेली फुटबलमा आफ्नो पहिचान बनाएका खेलाडी हुन्, इजिप्टका मोहमद सालाह । उनै सालाह फिफा विश्वकप २०२६ मा इजिप्टलाई पहिलो जित दिलाउने प्रयत्नमा हुनेछन् ।
२०औं जन्मदिनमै स्विजरल्याण्डको क्लब बासेलमा पुगेका उनी २ वर्षपछि चेल्सीमा आवद्ध भए । जसमा सालाह सफल हुन सकेनन् । त्यसपछि उनी इटालीको फियोरेन्टिना क्लबमा पुगे । फियोरेन्टिनाबाट प्रभावशाली प्रदर्शन गरेपछि रोमामा अनुबन्ध भए । रोमाबाट उनले ८३ खेलमा ५५ गोल योगदान दिंदै आफूलाई विश्वस्तरीय अट्याकर रूपमा स्थापित गरे ।
सन् २०१७ मा लिभरपुलले सालाहलाई अनुबन्ध गर्यो । पहिलो सिजनमै उनले ४४ गोल गरे । जुन ३४ वर्षयता लिभरपुलका कुनै खेलाडीले एकै सिजनमा गरेको सबैभन्दा धेरै गोल थियो । साथै, डेब्यू सिजनमै क्लबको नयाँ कीर्तिमान पनि बनेको थियो । तीमध्ये ११ गोल युरोपेली प्रतियोगितामा आएका थिए । जसको मद्दतले लिभरपुल सन् २००७ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
त्यसपछिका वर्षहरूमा पनि सालाहको गोल यात्रा निरन्तर चलिरह्यो । उनले प्रत्येक पूर्ण सिजनमा कम्तीमा २३ गोल गरेका छन् । यसक्रममा उनले लिभरपुलका चर्चित खेलाडी रोबी फाउलर, स्टिभ जेरार्ड र गोर्डन होजसनलाई पछि पार्दै क्लबको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा पुगे । नोभेम्बर २०२५ मा उनले एस्टन भिल्लाविरुद्धको जितमा लिभरपुलका लागि आफ्नो २५०औँ गोल पूरा गरेका थिए ।
मोहमद सालाहले सिजन २०१७/१८ मा प्रिमियर लिगमा ३२ गोल गर्दै ३८ खेलको सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । पछि यो रेकर्ड अर्लिङ हालान्डले ३६ गोलसहित तोडे ।
सालाह प्रिमियर लिग र युईएफए च्याम्पियन्स लिगमा इतिहासकै सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडी हुन् । उनले यी दुवै कीर्तिमानमा डिडियर ड्रोग्बाललाई पछि पारेका हुन् । सालाह चार पटक प्रिमियर लिग गोल्डेन बुट जित्ने दोस्रो खेलाडी हुन् । उनले २०१७/१८, २०१८/१९, २०२१/२२ र २०२४/२५ मा यो अवार्ड जितेका थिए । यसअघि यस्तो उपलब्धि आर्सनलका थियरी हेनरीले मात्र हासिल गरेका थिए ।
सन् २०१८ पुस्कस अवार्ड जित्ने पहिलो तथा हालसम्मकै एकमात्र अफ्रिकी खेलाडी बने । सालाहले इंग्लिस प्रिमियर लिग सिजन २०१७/१८ एभर्टनसँगको खेलमा २०१८ मा उनले प्रिमियर लिगको प्लेयर अफ द मन्थ अवार्ड संयुक्त रूपमा सर्वाधिक सात पटक जितेका छन् । यो कीर्तिमानमा उनी सर्जियो अगुएरो र ह्यारी केनसँग बराबरीमा छन् ।

त्यस्तै, केभिन डे ब्रुइनसँगै उनी दुई वा सोभन्दा बढी प्रिमियर लिग प्लेमेकर अफ द सिजन जित्ने खेलाडीमध्ये पर्छन् । यो अवार्ड सर्वाधिक असिस्ट गर्ने खेलाडीलाई दिइन्छ । साथै, सालाह र ह्यारी केन मात्र यस्ता खेलाडी हुन् जसले एउटै सिजनमा गोल्डेन बुट र प्लेमेकर अफु द सिजन दुवै जितेका छन् ।
सिजन २०२४÷२५ मा उनले २९ गोल र १८ असिस्टसहित एकै सिजनमा सर्वाधिक गोल योगदानको नयाँ कीर्तिमान बनाए । डिसेम्बर २०२५ मा लिभरपुल एफसीबाट उनले आफ्नो २७७औँ प्रिमियर लिग गोल योगदान दर्ता गरे । यससँगै उनले वेन रुनीलाई पछि पार्दै एउटै प्रिमियर लिग क्लबका लागि सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडी बने ।
राष्ट्रिय टोलीतर्फ सालाह इजिप्टका लागि दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले ६७ गोल गरेका छन् र यो सूचीमा उनी राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक हसम हसनभन्दा मात्र पछाडि छन् । फिफा विश्वकप छनोट इतिहासमा पनि सलाह सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडी हुन् । उनले २० गोल गरेका छन् ।
सालाहको विश्वकप इतिहास
सालाहकै गोलहरूको मद्दतले इजिप्टले २८ वर्षपछि फिफा विश्वकप २०१८ मा स्थान बनाएको थियो । छनोट चरणमा सालाहले तीन गोल गरे भने कंगोविरुद्धको निर्णायक खेलमा दुई गोल गर्दै इजिप्टलाई विश्वकपमा पुर्याएका थिए । तर, चोटका कारण सालाह पूर्ण फिटनेसमा विश्वकप खेल्न सकेनन् । त्यसपछि पनि उनले प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भए ।
आयोजक रुसविरुद्ध ३–१ को हारमा सालाहले पेनाल्टीमार्फत गोल गरे । त्यो गोल इजिप्टले फिफा विश्वकप १९९० मा नेदरल्याण्ड्ससँग १–१ को बराबरी खेलेपछि विश्वकपमा गरेको पहिलो गोल थियो ।
त्यसपछि साउदी अरेबियाविरुद्धको खेलमा सालाहले इजिप्टलाई २२औं मिनेटमा अग्रता दिलाए । यससँगै उनी फावजीपछि विश्वकपको खुला खेलबाट गोल गर्ने पहिलो इजिप्टियन खेलाडी बने । फावजीले १९३४ को फिफा विश्वकपमा मा यस्तो उपलब्धि हासिल गरेका थिए । साथै, सालाह विश्वकपको एकै संस्करणमा एकभन्दा बढी गोल गर्ने पहिलो इजिप्टियन खेलाडी पनि बने । तर, सालाहको उत्कृष्ट प्रदर्शनका बाबजुद इजिप्टले त्यो खेल २–१ ले गुमाएको थियो ।

विश्वकप २०२६ मा इजिप्टको आशा
इजिप्ट विश्वकप इतिहासको पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । उत्तर अफ्रिकी टोलीले हालसम्म विश्वकपमा खेलेका सात खेलमध्ये दुई खेल बराबरी खेलेको छ भने पाँच खेलमा हार बेहोरेको छ ।
टोलीका मुख्य स्टार मोहमद सलाह न्यूजिल्यान्डविरुद्धको खेलको अघिल्लो दिन ३४ वर्ष पुग्ने भएकाले, यो संस्करण इजिप्टका लागि त्यो निराशाजनक यात्रा अन्त्य गर्ने सबैभन्दा राम्रो अवसर मानिएको छ ।
म्यान्चेस्टर सिटीका स्टार ओमर मरमाउश र तीव्र गतिका ट्रेजेगेटले सालाहसँग मिलेर बलियो आक्रमण पंक्ति बनाउनेछन् । जसले प्रतियोगिताका कुनै पनि रक्षापंक्तिलाई दबाबमा पार्न सक्छ ।
यसबाहेक अनुभवी गोलकिपर मोहम्मद एल शेनावी, डिफेन्डर रामी राबिया र मिडफिल्डर हम्दी फाथीले टोलीको अनुभवी आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4