+

भीमनारायण गोल्डकपको फाइनलमा आयोजक

२०८३ जेठ  १४ गते १८:५७ २०८३ जेठ १४ गते १८:५७

बिहीबार सम्पन्न खेलमा आयोजकले सलहेश फुटबल क्लब, सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

भीमनारायण गोल्डकपको फाइनलमा आयोजक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकपको पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लबलाई १–० ले हराउँदै आयोजक टोली फाइनलमा प्रवेश गरेको छ।
  • खेलको ९औं मिनेटमा अमित बेश्राले गरेको गोल नै निर्णायक बन्यो भने आयोजक टोलीका विवेक गुरुङ 'प्लेयर अफ द म्याच' घोषित भए।
  • प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शुक्रबार बिर्तामोड युनाइटेड क्लब, झापा र बेलबारी फुटबल क्लब, मोरङबीच हुने आयोजक समितिले जनाएको छ।

१४ जेठ, धनकुटा । धनकुटामा जारी १८औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा आयोजकले सलहेश फुटबल क्लब, सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

खेलको सुरुवाती चरणमै आयोजकले अग्रता बनाएको थियो। खेलको ९औं मिनेटमा विदेशी खेलाडी अमित बेश्राले गरेको गोल नै निर्णायक सावित भयो। बाँकी समय दुबै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।

सलहेशले खेलभरि केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपर्‍यो। खेलको २०औं मिनेटमा सलहेशका खेलाडीको प्रहार आयोजकका गोलरक्षक प्रिसोले उत्कृष्ट रूपमा बचाएका थिए। त्यसपछि अर्को प्रहार गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो, जसले टोलीलाई बराबरी गर्ने अवसरबाट वञ्चित गरायो।

आयोजक टोलीले पनि केही स्पष्ट अवसर गुमाएको थियो। घरेलु दर्शकको समर्थन पाएको आयोजकले खेलमा राम्रो प्रदर्शन गरे पनि गोल अन्तर बढाउन भने असफल रह्यो।

उक्त खेलमा आयोजकका विवेक गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शुक्रबार बिर्तामोड युनाइटेड क्लब, झापा र बेलबारी फुटबल क्लब, मोरङबीच हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिएका छन्।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ। साथै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद ६ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

२०५५ सालमा स्थापना गरिएको यो गोल्डकप २०६३ सालपछि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिताको नाम शहीद भीमनारायण श्रेष्ठको सम्झनामा राखिएको हो। श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो भने उनलाई २०७४ सालमा शहीद घोषणा गरिएको थियो।

शहीद भीमनारायण गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय