News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोली काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएको छ ।
- मुख्य प्रशिक्षक जगदिश भट्टले सर्भिस राम्रो नहुँदा र अनुभवी खेलाडी नचल्दा पराजित हुनुपरेको बताए ।
- नेपालले तेस्रो स्थानका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
१५ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलअघि इरान अपराजित थियो भने नेपाल भारतसँग पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगिताको साविक विजेता समेत रहेको इरान यस पटक पनि उपाधि दाबेदार टिममध्ये एक थियो ।
त्यही इरानसँग नेपालले बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा नेपालले सकारात्मक नतिजा ल्याउँछ भन्ने नेपाली समर्थहरुको आश थियो । तर नेपाल इरानसँग सोझो सेटमा पराजित भयो ।
इरानले जुन किसिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ र प्रतियोगिताको लागि तयारी गरिरहेको छ त्यो हेर्दा उनीहरु सिरियस पनि थिए र कन्फिडेन्ट पनि देखिन्थे ।
समूह चरणमा तीन मध्ये तीन खेल जित त्यो पनि सोझो सेट । इरानलाई अहिलेसम्म कुनै पनि टिमले एक सेट पनि हराउन सकेको छैन । नेपाल भने समूहको पहिलो खेलमै भारतसँग ३-२ सेटमा पराजित भएको थियो ।
समूह चरणमै उपाधि दाबेदार मध्ये एक बलियो टोली कजाखस्तानलाई सोझो सेटमा हराएपछि इरानी टिमको आत्मविश्वास बढेको थियो । यसअघि नै नेपालमा खेलिसकेको इरान नेपाली दर्शकअघि खेल्न पनि उत्साहित थियो । नेपालको माहोलबारे इरान जानकार थियो ।
पहिलो सेटमा नेपालले १०-८ को अग्रता समेत बनाएको थियो । १०-१० को बराबरी हुँदासम्म पनि इरानलाई नेपालले टक्कर दिइरहेको थियो । तर इरानले टाइम आउट मागेर लगातार अंक जोड्दै बराबरी मात्र गरेन त्यसपछि नेपालमाथि अग्रता समेत बनाउन थाल्यो । अग्रता कायम राख्दै इरानले पहिलो सेट २५-२० ले जित्यो ।
दोस्रो सेटमा नेपालले पुनरागमन गर्ने प्रयास गर्यो । दर्शक र समर्थकको आश पनि थियो । तर यो सेटमा इरानले सुरुवातदेखि नै अग्रता बनायो र २५-१५ ले आफ्नो पक्षमा पार्दै २-० सेटको अग्रता बनायो ।
खेलमा रहिनरहन नेपाललाई तेस्रो सेट जित्नैपर्ने बाध्यता थियो भने इरान फाइनल पुग्नबाट एक सेट जित मात्र टाढा थियो । लगातार दुई सेट गुमाएपछि तेस्रो सेटमा त नेपाल इरानविरुद्ध निरीह जस्तै बन्यो । कभर्डहलमा उपस्थित करिब दुई हजार दर्शकलाई इरानले चुप लगायो ।
तेस्रो सेटमा इरान पूर्ण रुपमा हावी बन्यो । ८-२, १६-४ को अग्रता बनाउँदै इरानले २५-११ ले सेट सहजै आफ्नो पक्षमा पारेर खेल जित्दै फाइनल यात्रा तय गर्यो । विजयी टिम इरानका लागि मासोउमेह घाडामीले सर्वाधिक १२ स्कोर गरिन् । सेपिनुड दास्तबार्जनले १० र रेहाने करिमीले ९ अंक जोडिन् ।
नेपालका लागि सुमित्रा रेग्मीले सर्वाधिक ११ अंक जोडिन् । त्यसबाहेक मिना सुनार र उषा भण्डारीले समान ५ अंक जोडे ।

खेलपछि नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले सर्भिस राम्रो हान्न नसकेको र अनुभवी खेलाडी चल्न नसक्दा पराजित हुनुपरेको बताए । उनले इरान र कजाखस्तान जस्ता टिमको स्तर नेपाल भन्दा धेरै माथि रहेको पनि स्वीकारे । ‘इरान र कजाखस्तान जस्ता टिम हामी भन्दा धेरै माथिल्लो स्तरको छ । इरान विरुद्ध आज हाम्रो प्रदर्शन राम्रो रहेन’ भट्टले भने ।
इरानकी खेलाडी सेपीनुर्डले नेपाली दर्शकको अगाडि खेल्दा सुरुमा सम्हालिन केही गाह्रो भएको बताइन् । नेपाली दर्शकको अगाडि खेल्दा एकदमै रमाइलो भएको उनले बताइन् ।
नयाँ कप्तान अनि फेरिएको टिमबाट घरेलु कोर्टमा उपाधि जित्ने लक्ष्य राखेपनि नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । अब नेपालले शुक्रबार चिरपरिचित प्रतिद्वन्दी भारतसँग तेस्रो स्थानको लागि खेल्नेछ । बिहीबारै भएको पहिलो सेमिफाइनलमा भारत कजाखस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।
नेपालका प्रशिक्षक भट्टले अब भारत विरुद्ध जित्नकै लागि खेल्ने बताए । ‘अब हामी भारत विरुद्ध जित्नका लागि खेल्छौं । भारतलाई हराएर ब्रोन्ज मेडल जित्यौं भने पनि त्यो हाम्रो लागि ठूलो उपलब्धि हुन्छ’ उनले भने ।
यो प्रतियोगिता सुरु हुनुअघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिताको विजेताले अर्को वर्ष एभीसी एसियन कप खेल्ने बताएका थिए । फाइनल पुग्न असफल भएपछि नेपालले त्यो अवसर त गुमाइसकेको छ । तर प्रशिक्षक भट्टले यदी नेपालले भारतलाई हराएर तेस्रो भए एसियन कप खेल्ने अवसर पाउने बताए । ‘इरान र कजाखस्तान एसियन कपका लागि छनोट भइसकेका छन् । अब हामीले भारतलाई हरायौं भने एसियन कपमा छनोट हुन्छौँं’ उनले भने ।
काठमाडौंमा खेल्न आएका इरान र कजाखस्तान यस वर्षको एभीसी कप खेल्नका लागि फिलिपिन्स जानेछन् । उनीहरु एफआईभिबी वरियतामा पनि शीर्ष ५० भित्र छन् । यसै प्रतियोगिता खेलेपनि एफआईभीबी वरियतामा समावेश भएको नेपाल भने हाल ५४औं स्थानमा छ ।
एभीसी कपमा एसियाका १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4