१५ जेठ, धनकुटा । धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
आज हुने दोस्रो सेमिफाइनलको खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ४ बजेपछि सो खेल सुरु हुनेछ ।
उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो । यस्तै ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ अन्तिम चारमा पुग्न सफल भएको हो ।
यो खेलको विजेताले फाइनलमा शनिबार बिहीबारको सेमिफाइनल विजेता आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान पहिलो सेमिफाइनलमा बिहीबार सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
पहिलो सेमिफाइनलमा आयोजकका लागि खेलको ९ औँ मिनेटमा विदेशी खेलाडी अमित बेश्रा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेलमा अन्य कुनै गोल नभएपछि अमितले गरेको सोही गोल निर्णायक बनेको थियो ।
दर्शकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।
यस्तै हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोलीहानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो ।
प्रतिक्रिया 4