News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको वर्ल्ड स्कोर सुधार भई सन् २०२५ को २३.०५ बाट सन् २०२६ मा २३.५२ पुगेको छ ।
- टाइम्स हायर एजुकेसनको विषयगत र्यांकिङ अनुसार त्रिभुवन विश्वविद्यालयको मेडिकल शिक्षा विश्वकै ६०१ औँ स्थानमा रहेको छ ।
- त्रिभुवन विश्वविद्यालयले विगत चार वर्षमा कुल ४,६३८ वटा रिसर्च पेपर प्रकाशित गरेको छ ।
१४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वर्ल्ड स्कोरमा सुधार आएको छ । सन् २०२५ मा २३.०५ रहेको स्कोर २०२६ मा बढेर २३.५२ पुगेको छ ।
टाइम्स हायर एजुकेसनको र्यांकिङमा यथावत रहे पनि स्कोरमा सुधार आएको हो । विश्व र्यांकिङमा भने त्रिवि १५०१ प्लसमा छ । त्रिविले र्यांकिङ बढाउन भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।
उक्त समितिले डाटाहरू इन्ट्री गरिरहेकाले पनि स्कोरमा सुधार आएको हो । ‘विश्वमा ५० हजार बढी विश्वविद्यालय छन् । त्रिविको र्यांकिङ यथावत छ । तर स्कोरमा सुधार आएको छ,’ प्रा.डा. अधिकारीले भने, ‘विश्वमान चित्रमा त्रिभुवन विश्वविद्यालय राम्रो छ । हाम्रो उद्देश्य उत्कृष्ट १ हजारमा पर्ने हो ।’
सन् २०२३ सम्म त्रिविको र्यांकिङ १ हजारमा थियो । त्यसपछि ओरालो लागेर १ हजार ५०१ मा पुगेको हो । यो वर्ष र्यांकिङ यथाव रहेपनि स्कोरमा सुधार आएको हो । त्रिविका अनुसार आगामीवर्षबाट र्यांकिङमा पनि सुधार हुने दाबी गरेको छ ।
तर, कसरी १ हजारको र्यांकिङमा पुग्ने त ? प्रा.डा. अधिकारी त्रिविको र्यांकिङ बढाउन सहज रहेको बताउँछन् । ‘१ हजारमा ल्याउन सहज छ । राम्रो डकुमेन्ट हुनुपर्छ । वास्तविक विद्यार्थी, शिक्षक र पब्लिकेसन हुनुपर्छ,’ उनले भने ।
त्रिवि अन्तर्गतका क्याम्पसले गरेको रिसर्चको डकुमेन्ट नभएकाले र्यांकिङ यथावत रहेको दाबी त्रिविको छ । यसका लागि के गर्ने त ? ‘सामुदायिक कलेज धेरै छन् । रिसर्च पेपर प्रकाशित पनि गर्छन् । तर उनीहरूले त्रिभुवन विश्वविद्यालय भनेर उल्लेख गरेका हुँदैनन् । सम्बन्धन पाएका निजी कलेजले पनि गरेका हुन्छन् । तर त्रिवि भनेर लेखेका हुँदैनन्,’ उनले भने, ‘सामुदायिक र निजी कलेजले पनि त्रिवि भनेर लेखे भने र्यांकिङ बढाउन मद्दत पुग्छ ।’
रिसर्च पेपरमा त्रिविको नाम उल्लेख गर्दा त्रिविको भनेर गणना हुन्छ । कसरी गणना हुन्छ ? टाइम्स हायर एजुकेसनलाई केही डाटा त्रिविले दिन्छ । केही डाटा टाइम्स हायरले आफैं अनलाइनबाट लिने हुन्छ । र्यांकिङका लागि विभिन्न विधामा प्रतिशत छुट्याएको हुन्छ ।

प्रा.डा. अधिकारीका अनुसार शिक्षणलाई २९.५ प्रतिशत, रिसर्च वातवरणमा २९ प्रतिशत, रिसर्चको गुणस्तरमा ३० प्रतिशत, उद्योगमा ४ प्रतिशत र अन्तर्राष्ट्रिय शिक्षक र विद्यार्थीमा ७.५ प्रतिशत राखेको हुन्छ । ‘विश्वविद्यालयमा विदेशी शिक्षक र विद्यार्थी कति छन् त्यो पनि हेरिन्छ । अन्तर्राष्ट्रिय साझेदारी पनि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
टाइम्स हायर एजुकेसनलाई त्रिविले शिक्षणको तथ्याङ्क उपलब्ध गराएको हुन्छ । ‘त्रिविका शिक्षक, विद्यार्थी कति छन् त्यो डाटा दिन्छौं । स्नातक र पीएचडीमा भएका विद्यार्थीको संख्या महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘स्नातकमा पढेका विद्यार्थी कतिले पीएचडीमा पुगे भन्ने पनि हुन्छ ।’
अर्को भनेको शिक्षक र विद्यार्थीले गर्ने रिसर्च हो । ‘विश्वविद्यालयले विद्यार्थीलाई ज्ञान दिने हो । अर्को प्रचारप्रचार गर्ने हो । ज्ञानको क्रिएट अर्थात् रिसर्च गर्ने हो । रिसर्च गर्ने पाटो स्नातक र स्नातकोत्तरभन्दा पनि पीएचडीमा हो । त्यसैले र्यांकिङ बढाउन पीएचडीको भूमिका हुन्छ,’ प्रा.डा. अधिकारीले भने ।
विश्वविद्यालयमा गर्ने लगानीलाई पनि र्यांकिङको आधार मानिएको हुन्छ । ‘विश्वविद्यालयको आम्दानी कति छ । सरकारले कति लगानी गरेको छ । त्रिविले आफैंले कति गरेको छ ।
उद्योगसँगको सहकार्य, रिसर्च फन्ड पनि हेरिएको हुन्छ,’ उनले भने, ‘त्रिविको बजेट पनि हेरिएको हुन्छ ।’ त्रिविले उपलब्ध गराउने बाहेक रिसर्च पेपर कति प्रकाशित भयो भनेर टाइम्स हायर एजुकेसनले स्कोपस भन्ने वेबसाइटबाट लिन्छ ।
‘सबै रिसर्च अनलाइनमा हुन्छ । हामीले दिनु पर्दैन । उसैले हेर्छ,’ उनले भने । रिसर्चको लागि सरकारले पनि बजेट बढाउनु पर्नेछ । ‘रिसर्चको लागि बजेट भयो भने र्यांकिङ पनि बढ्छ,’ उनले भने ।
त्रिविसँग हाल रिसर्च स्टाफ ७०० जति छन् । ‘चार वटा रिसर्च सेन्टर छन् । ‘अध्ययन विधामा पीएचडी गर्न अथवा पीएचडीभन्दा माथिको अध्ययन विधामा बसेका जति पनि फ्याकल्टी छन् तिनलाई पनि गणना गरिन्छ,’ उनले भने ।
उत्तीर्ण भएका विद्यार्थीको संख्या बढ्दा पनि स्कोरमा सुधार आएको हो । सन् २०२३ मा झन्डै ५७ हजारले ब्याचलर्स डिग्री पाएका थिए भने २०२४ मा ६५ हजार जतिले पाएका थिए । यी दुवै वर्ष ५०० को हाराहारीमा पीएचडी उत्तीर्ण भएका छन् । ‘पास भएको विद्यार्थी बढ्दा स्कोरमा सुधार आएको हो,’ प्रा.डा. अधिकारीले भने ।
त्रिविले समिति नै बनाएर पहिलो पटक डाटा पढाउन लागेको हो । ‘सन् २०२३ मा पहिलो पटक दिइएको हो । डाटा चाहिँ दुई वर्ष अगाडिको दिइन्छ,’ उनले भने, ‘अबको दुई वर्षमा धेरै सुधार आउँछ ।’
समितिले वर्षभरि डाटा संकलन गर्ने गरेको छ । ‘संकलन गरेर डाटा इन्ट्री मार्चमा गर्छौं । सन् २०२४ मा इन्ट्री गरेको डाटाको र्यांकिङ २०२६ को अक्टोबरमा आउने हो,’ उनले भने ।
डाटा इन्ट्री दुई वर्षअघिको हुने भएकाले नेपालले अघिल्लो वर्षबाट मात्र सुरु गरेकाले र्यांकिङमा सुधार हुन केही वर्ष लाग्ने भएको हो । ‘अबको दुई वर्ष पछाडि हामी धेरै अगाडि जान सक्छौं । व्यवस्थित र विश्वसनीय इन्ट्री भइरहेको छ,’ उनले भने ।

त्रिविको चार वर्षमा ४६३८ रिसर्च पेपर
त्रिविको ४ वर्षमा ४ हजार बढी रिसर्च पेपसर प्रकाशित भएको छ । प्रा.डा. अधिकारीका अनुसार सन् २०२५ मा १११३, सन् २०२४ मा १२५६, सन् २०२३ मा ११३६, सन् २०२२ मा ११३३ गरी ४६३८ रिसर्च पेपर प्रकाशित भएको छ । विश्वका ठूला विश्वविद्यालयमा भने हजारौं रिसर्च भएको हुन्छ ।
‘विश्वसँग तुलना गर्दा धेरै कम हो । तर हाम्रो जस्तो देशमा यो ठूलो रिसर्च भएको हो,’ उनले भेन, ‘हामीसँग पीएचडी विद्यार्थी १ हजार पनि छैनन् । हरेक फ्याकल्टीमा रिसर्च भइरहेको छ । तर राम्रा फ्याकल्टीहरू थप गर्नु पर्नेछ ।’ उनका अनुसार सबैभन्दा धेरै रिसर्च मेडिकलमा भएको छ । जुन चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत पर्छ ।
यी संकाय जसको र्यांकिङ उत्कृष्ट छ
नेपालका केही संकायको र्यांकिङ १ हजारमुनि छन्, जुन राम्रो मानिन्छ । त्रिविले ११ वटा विषयमा प्रतिस्पर्धा गरेको छ । इन्जिनियरिङ, कम्प्युटर साइन्स, जीवन विज्ञान, फिजिकल साइन्स, सोसल साइन्स, म्यानेजमेन्ट, साइकोलोजी, कानुन, एजुकेसनलगायत ११ वटा विधामा प्रतिस्पर्धा गरेको थियो ।

‘विश्वमा ११ वटा विषयमा प्रतिस्पर्धा गर्ने कम छन् । टाइम्स हायर एजुकेसनमा हामीले पूरै विषयमा प्रतिस्पर्धा गरेका छौँ,’ उनले भने, ‘केही विषयमा उत्कृष्ट छौँ । विश्व र्यांकिङमा मेडिकलमा ६०१ स्थानमा छौं । विश्वकै विश्वविद्यालयहरूमध्ये नेपालमा मेडिकल शिक्षा धेरै राम्रो हो ।’
सामाजिक विज्ञान ८०१, शिक्षाशास्त्र ८०१, व्यवस्थापन १००१, इन्जिनियरिङ १००१, जीव विज्ञान १००१ र भौतिक विज्ञान १२५१औँ र्र्यांकिङमा रहेको छ ।
र्यांकिङ बढाउन के गर्ने ? ‘मुख्य कुरा रिसर्च बढाउने हो । त्यसका लागि बजेट आवश्यक पर्छ । विश्वविद्यालयमा नयाँ विषय पनि ल्याउनु पर्छ । स्नातकमा पढ्ने विद्यार्थीको संख्या बढाउनु पर्छ । स्नातक र पीएचडी गर्नेको अनुपात महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘विदेशी शिक्षक र विद्यार्थी पनि ल्याउनुपर्छ ।’
प्रतिक्रिया 4