News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरी त्रिवि क्रिकेट मैदानको सम्झौता थप गर्ने प्रक्रिया अगाडि बढाएको छ।
- त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानले गरेको २५ वर्षको सम्झौता गत वैशाख महिनामा सकिएको हो।
- रजिस्ट्रार महानन्द चालिसेले विश्वविद्यालयसँग सहमति लिएर र खेल तालिका बुझाएर मात्रै प्रतियोगिता गर्नुपर्ने बताए।
१२ जेठ, काठमाडौं । त्रिवि क्रिकेट मैदानको सम्झौताबारे त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरी सम्झौता थप गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
क्रिकेट मैदानको अर्काे व्यवस्था नभएसम्म प्रतियोगिता आयोजना गर्न दिने गरी सहमतिको तयारी भएको त्रिविका रजिस्ट्रार महानन्द चालिसेले जानकारी दिए ।
‘क्रिकेट मैदानलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । विश्वविद्यालय र क्यान बसेर छलफल गर्छाैं । तर, अब लामो समयको लागि सम्झौता हुँदैन’ उनले भने, ‘छोटो समयका लागि कसरी जाने क्यान प्रतिनिधि बोलाएर कुराकानी गर्छाैं ।’
त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका १८ संघसंस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । त्यसमा क्यान पनि थियो ।
क्यानसँगको सम्झौता सकिएन लागेसँगै त्रिविले मैदान खाली गर्न पत्र काटेको थियो । तर, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रुपमै क्यानसँगको सम्झौता थप हुने बताएपछि त्रिवि लचक भएको थियो ।
त्रिविका रजिस्ट्रार चालिसेले विश्वविद्यालयसँग सहमति लिएर मात्रै प्रतियोगिता गर्नेगरी सम्झौता हुने बताए । ‘अर्काे विकल्प नभएसम्म विश्वविद्यालयसँग अनुमति लिएर प्रतियोगिता गर्नुपर्छ । क्यानले पहिले नै यो दिन खेल हुने भनेर क्यालेन्डर बनाएर दिनुपर्छ । क्यालेन्डर बनाएर त्रिविले अनुमति दिएपछि प्रतियोगिता हुन्छ’ उनले भने, ‘विश्वविद्यालयभित्र क्रिकेटभन्दा पठनपाठन ठूलो हो ।’
त्रिवि क्रिकेट मैदान भाडाका लागि क्यानले गरेको २५ वर्षको सम्झौता वैशाखमा सकिएको हो । क्यानले सम्झौता थपका लागि दिएको निवेदन शिक्षा मन्त्रालयमा पुगेको छ ।
प्रतिक्रिया 4