+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ६ सीमाविद्को खेद- क्षमायाचना गर्नुपर्छ

उनीहरूले प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गरेको हो स्पष्ट पार्न भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति सीमाविद्हरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर खेद व्यक्त गरेका छन् ।
  • सीमाविद्हरूले प्रधानमन्त्रीलाई कुन प्रमाणका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भनी स्पष्टीकरण दिन र क्षमायाचना गर्न माग गरेका छन् ।
  • उनीहरूले प्रतिनिधि सभामा व्यक्त सो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रह गरेका छन् ।

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति सीमाविद्हरूले खेद व्यक्त गरेका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेलले खेद विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आश्चर्यचकित बनाएको बताएका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गरेका हुन् स्पष्टी पार्न भनेका छन् ।

‘आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो,’ वक्तव्यमा उल्लेख छ, ‘प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौं ।’

वक्तव्यमा नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो कार्यको करिब ९८ प्रतिशत हिस्सा सम्पन्न गरिसकेको जानकारी सार्वजनिक भइसकेको तर, उक्त आयोग वा अन्य कुनै आधिकारिक निकायबाट नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष सार्वजनिक नभएको उल्लेख छ ।

उनीहरूले बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमाविवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिक रूपमा स्थापित रहेको भनेका छन् ।

‘राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्वका विषय हुन्। यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र बोलिनु आवश्यक हुन्छ,’ उनीहरूले भनेका छन्, ‘साथै, प्रधानमन्त्रीलाई नेपाल सरकारले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सासमेत जारी गरिसकेको तथ्य स्मरण गराउन चाहन्छौं ।’ यस परिस्थितिमा प्रधानमन्त्रीले भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति के–कस्तो तथ्य, प्रमाणका आधारमा दिनुभएको हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएकाले हामी त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछौं ।’

उनीहरूले प्रधानमन्त्रीले यसबारे सार्वजनिक रुपमा स्पष्टीकरण दिनुका साथै क्षमायाचनासमेत गर्नुपर्ने र संसद्को रेकर्डबाट प्रधानमन्त्रीको उक्त अभिव्यक्ति हटाउन पनि भनेका छन् ।

‘यसबाट आम नेपाली जनतामा उत्पन्न भएको भ्रम निवारणका लागि प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्पष्टीकरण दिनुका साथै आफ्नो अभिव्यक्तिप्रति क्षमायाचनासमेत गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनीहरूले थप भनेका छन्, ‘यसका अतिरिक्त, प्रधानमन्त्रीबाट प्रतिनिधि सभामा व्यक्त उक्त गलत अभिव्यक्तिलाई प्रतिनिधि सभाको अभिलेख (रेकर्ड) बाट हटाउन सम्माननीय सभामुख समक्ष आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?