+
+
Shares

बजेटप्रति सेयर लगानीकर्ता निराश, तीन समूहगत सूचकमा उच्च प्रभाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नयाँ बजेट सार्वजनिक गरेपछि खुलेको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेप्से २६.७२ अंकले घटेर २७५५ अंकमा झरेको छ ।
  • बजेटमा पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाइएको र ४० लाखमाथिको आम्दानीमा कर अन्तिम नहुने आशय देखिएकाले लगानीकर्ता निराश भएका हुन् ।
  • बजेटले व्यवसाय सुनिश्चित गरेपछि नेपाल पुनर्बीमा कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ भने व्यापार समूहको सूचक ६.१४ प्रतिशतले घटेको छ ।

१८ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि खुलेको पहिलो दिनको सेयर बजारले नकारात्मक प्रतिक्रिया जनाएको छ ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटमा सेयर बजारका केही विषय पनि चलाइएको थियो । बजेटमा गरिएका नयाँ व्यवस्थाप्रति लगानीकर्ताले असन्तुष्ट जनाएका छन्, जसको प्रतिक्रिया सोमबारको नेप्से परिसूचकमा देखियो ।

बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाएर अल्पकालीन (१ वर्षभन्दा कम अवधि)का लागि १० प्रतिशत र दीर्घकालीन (१ वर्षमाथिको अवधि)का लागि साढे ७ प्रतिशत कायम गरेको थियो । त्यस्तै पूँजीगत लाभकरलाई अन्तिम भनिए पनि विधेयकले वार्षिक ४० लाखमाथिको आम्दानी गर्नेका हकमा अन्तिम नभएको आशय उल्लेख गरेको छ ।

जसको असरले सोमबार बजार परिसूचक नेप्से २६.७२ अंक (०.९६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७५५ अंकमा अडिएको छ । सुरुवाती कारोबारमा बजार उतारचढाव देखिए पनि ११ : ३७ बजेपछि निरन्तर ओरालोमा रह्यो । दिउँसो २ : ३८ बजे नेप्से आजको न्यूनतम अंक २७४६ सम्म झरेको थियो ।

३५ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ६ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडमा खुम्चियो ।

आज तीन समूहका सूचकलाई बजेटले अत्याधिक प्रभाव पारेको छ । अन्य, निर्जीवन बीमा र व्यापार समूह सूचक बजेटकै कारण बढी प्रभाव परे ।

अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । यसअन्तर्गतको नेपाल पुनर्बीमा कम्पनीलाई बजेटमार्फत २० प्रतिशत पुनर्बीमा व्यवसाय सुनिश्चित गरिएको छ । जुन कम्पनीको मूल्य आज १५ प्रतिशत बढ्दा समग्र समूह सूचक बढ्यो ।

त्यस्तै निर्जीवन बीमा समूह १.३७ प्रतिशत बढ्यो ।  बजेटबाट तेस्रो पक्षको दुर्घटना बीमा रकम दोब्बर बढाएर १० लाख पुर्‍याइएको छ । जसले निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन बढ्ने भएपछि यो समूहमा सकारात्मक प्रभाव देखिएको छ । उता  व्यापार समूह सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ६.९५ प्रतिशत घट्दा यो समूह अत्याधिक घटेको हो ।

विशाल बजारसहित जम्मा २ कम्पनी मात्रै यो समूहमा छन् । बजेटले विशाल बजार कम्पनीमा सरकारी सेयर घटाएर सर्वसाधारणलाई दिने उद्घोष गरेकाले यसको मूल्यमा प्रभाव परेको हो ।

यी तीन समूहमा बजेटको प्रभाव उच्च देखिए पनि अरुमा न्यून परेको छ । बैंकिङ ०.९९, विकास बैंक ०.८१, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४०, जलविद्युत् १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.४२, माइक्रोफाइनान्स ०.९० प्रतिशत घटे ।

नेपाल पुनर्बीमाका अलवा मूल्य धेरै बढ्नेमा कालिन्चोक हाइड्रोको १५ प्रतिशत तथा सेन्ट्रल फाइनान्सको ५.७६ प्रतिशत बढ्यो । त्यस्तै बुंगल हाइड्रोको मूल्य १३.२० प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.९५ प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर छन् ।

आखिर किन निराश भए लगानीकर्ता ?

मुख्यतः बजेटको एक लाइनमा घोषणा गरिएको ‘पूँजीगत लाभकर नै अन्तिम’ भन्ने विषयमाथि गरिएको झुक्यान प्रमुख हो । आर्थिक विधेयकले वार्षिक ४० लाखमाथिको लाभमा पूँजीगत लाभकर अन्तिम नहुने आशय उल्लेख गरेपछि लगानीकर्ता निराश देखिएका हुन् । ४० लाखमाथिको आम्दानी गर्नेले अनिवार्य आय विवरण बुझाउनुपर्ने व्यवस्था आयकरमा छ ।

‘पूँजीगत लाभकर अन्तिम हुने विषयमा घोषणा गरिएको बजेट र आर्थिक विधेयकमा केही विरोधाभाष जस्तो देखियो, यहीं कारण बजारलाई आज असर परेको हुन सक्छ’ एक ब्रोकर सञ्चालकले भने, ‘तर यसको असर लामो नजाला ।’

आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि अर्थमन्त्री वाग्लेले यस विषयमा प्रष्ट पार्न सकेनन् । वार्षिक ४० लाखभन्दा माथिको आम्दानीका विषयमा केही कन्फ्युजन रहेको उनले स्वीकारे । यद्यपि पटक पटक पूँजीगत लाभकर अन्तिम भन्न छुटाएनन् ।

‘तपाईको सेयरबाट आएको आम्दानी फाइनल नै भयो, अरु १० ठाउँमा कन्सल्ट गर्नुहुन्छ, २० ठाउँमा व्यवसाय गर्नुहुन्छ भने एउटा फारम त भर्नुहोला नि, त्यहीं लेख्न पाइहाल्नुहुन्छ नि, सेयरबाट आएको यो लाभ हो, जसबाट करमा कट्टी गर्नु भनेर, त्यो स्वतः देखिन्छ, करमाथि कर लाग्ने कुनै गुन्जायस छैन’ उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?