१८ जेठ, काठमाडौं । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणका लागि बजेट माग्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । सोमबार मधेश प्रदेशसभा अगाडि प्रदर्शन गरिएको हो ।
आन्दोलनकारीहरूले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ ?’ भन्दै नारासमेत लगाएका छन् ।
प्रदर्शनमा ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने ?’, ‘प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो ?’ जस्ता नारा लेखिएको ब्यानर पनि प्रयोग भएको छ ।
हुलाकी–कमला संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवले कमला पुल निर्माणका विषयमा प्रदेश सरकारबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै आन्दोलन गर्नपरेको बताए ।

उनले यसअघि मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउन जाँदा गैरजिम्मेवार अभिव्यक्ति आएको दाबी गरे । उनका अनुसार मुख्यमन्त्री यादवले आफूसँग ‘कहाँबाट कमला पुल बनाइदिनू ? आफ्नो सम्पत्ति बेचेर पुल निर्माण गरिदिनू ?’ र ‘सिरहाबाट जितेका चार जना सांसदलाई गएर भन्नू’ जस्ता कुरा भनेको उनको दाबी छ ।
संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा हुलाकी सडकअन्तर्गतका आठ वटा पुल निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर, पुनर्निर्माणको चरणमा रहेको कमला पुललाई समावेश नगरिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयले अब प्रदेश सरकारको बजेटमा कमला पुल समेटिनुपर्ने माग राखेका छन् । नभए चरणबद्ध आन्दोलन गरेर सशक्त रूपमा अघि बढ्ने चेतावनी स्थानीयको छ ।
१५ वर्षअघि निर्माण सुरु भएको कमला पुल २०७८ सालको बाढीबाट क्षति पुगेपछि पुनर्निर्माण हुनसकेको छैन ।
प्रतिक्रिया 4