+
+
Shares

मे महिनामा पर्यटक आगमन उल्लेख्य सुधार, भित्रिए १ लाख २ हजार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को मे महिनामा १ लाख २ हजार ६२६ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १९.०३ प्रतिशतले बढी हो ।
  • यस अवधिमा छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै ४० हजार ७८२ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका छन् ।
  • नेपाल पर्यटन बोर्डका अनुसार यस महिना चीनबाट ११ हजार ५१४ र अमेरिकाबाट ९ हजार १ जना पर्यटक नेपाल आएका छन् ।

१९ जेठ, काठमाडौं । २०२६ को पछिल्लो मे महिनामा नेपाल आएका पर्यटक संख्यामा उल्लेख्य सुधार भएको छ ।

अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिनामा १ लाख २ हजार ६२६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या २०२५ को मे महिनाको तुलनामा १९.०३ प्रतिशत अधिक हो । सो महिना ८६ हजार २१६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

यो वर्ष मे महिनामा आएको पर्यटक संख्या कोभिडअघि सन् २०१९ को सोही महिनाको तुलनामा समेत धेरै हो । सो वर्षको मे महिना ७८ हजार ३२९ पर्यटक आएका थिए ।

प्रि–मनसुन रहेको यो सिजन नेपालमा पर्वतारोहण, पदयात्राका गतिविधि अधिक हुन्छन् । यसबाहेक भारतीय पर्यटक गर्मी छल्न समेत ठूलो संख्यामा नेपाल भ्रमणमा आउँछन् ।

नेपालले हवाई मार्गबाट आएका भारतीय नागरिकलाई मात्र पर्यटकका रुपमा गणना गर्छ । यसरी आउने भारतीय पर्यटकको संख्यामा ३२.६६ प्रतिशतको विस्तार हुँदा समग्र पर्यटक आगमनमा सुधार देखिएको हो ।

बोर्डका अनुसार मे २०२६ मा ४० हजार ७८२ भारतीय नेपाल आएका छन् । अघिल्लो वर्ष सोही महिनामा २८ हजार १६० भारतीय आएका थिए । भारतीय पर्यटकको संख्यामा भएको सुधारले यस वर्ष समग्र सार्क मुलुकको तथ्यांकमा पनि सुधार भएको देखिन्छ ।

बोर्डका अनुसार सार्क क्षेत्रबाट यस वर्ष अघिल्लो वर्षको मे महिनाको तुलनामा ३३.४ प्रतिशत धेरै पर्यटक आएका छन् । बंगलादेशबाट ५ हजार २९८, भुटानबाट १ हजार ३६०, पाकिस्तानबाट ४३४ र श्रीलंकाबाट ५८० पर्यटक यस महिनामा नेपाल आएका छन् । मे महिनामा नेपाल आएका पर्यटकमध्ये सार्क मुलुकको हिस्सा ४७.२२ प्रतिशत बराबर छ ।

चीनबाट समेत आगमन सुधार भएको छ । तथ्यांक अनुसार मे २०२६ मा ११ हजार ५१४ पर्यटक चीनबाट आएका छन् । सन् २०२५ मा चिनियाँ पर्यटक ८ हजार ८२४ जना आएका थिए । सार्कबाहेक एसियाका अन्य मुलुकबाट कुल पर्यटकको १९.९४ प्रतिशत हिस्सा ओगट्ने गरी पर्यटक आगमन भएको छ । इण्डोनेसियाबाट ४२८, जापानबाट १७ सय ५६, मलेसियाबाट २८ सय ५७, म्यानमारबाट ३३५, फिलिपिन्सबाट ६०४ पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । यसैगरी सिंगापुरबाट ४४६, दक्षिण कोरियाबाट १२ सय १७, भियतनामबाट ४४६ र थाइल्याण्डबाट ८२४ पर्यटक आएका छन् ।

यूरोपेली मुलुकबाट कुल पर्यटकको १३.१० प्रतिशत बराबर पर्यटक आगमन यो महिनामा भएको छ । जसमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ३७५ पर्यटक आएका छन् । फ्रान्सबाट ११ सय ५४, जर्मनीबाट १५ सय ४८, नेदरल्याण्डबाट १२ सय ७८ र रुसबाट १५ सय ५० पर्यटक आएको बोर्डले जनाएको छ ।

अस्ट्रेलियाबाट २ हजार ७० पर्यटक आएको तथ्यांक छ । अमेरिकी मुलुकबाट आउने पर्यटक हिस्सा १०.३५ प्रतिशत छ । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ९ हजार १ पर्यटक आएको तथ्यांक छ । गत वर्षको तुलनामा अमेरिकी पर्यटकको संख्या भने केही कमी आएको छ । सन् २०२५ मे मा ९ हजार ७४ पर्यटक आएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?