+
+
Shares

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पक्षसँग अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च–२०२६’ मा दुवै देशका प्रतिनिधिहरूले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
  • कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि भारतीय निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याइएको छ।
  • नेपाल र भारतका व्यवसायीहरूले भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योग आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको बताएका छन्।

२१ जेठ, बुटवल ।  नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औल्याइएको छ ।

बिहिबार भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च–२०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।

विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो ।

छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय उद्योगहरू आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो । सहभागीहरूले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप भूमिका खेल्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए । बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो ।

भारतस्थित नेपाली दूतावासका सहसचिव तारानाथ अधिकारीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए । उनले दुवै देशका निजी क्षेत्रबीचको साझेदारी आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने बताए ।

भारतस्थित नेपाली दूतावासका इकोनोमिक काउन्सिलर रवीन्द्रजंग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

भारत–नेपाल आर्थिक सहयोग मञ्चका सचिव  उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमलेस जैनले नेपाल–भारत आर्थिक सहकार्यका सम्भावना, व्यापारिक सम्बन्ध र निजी क्षेत्रको भूमिकाबारे जानकारी गराउँदै दुवै देशबीचको साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्ने बताए ।

भारतीय उद्योगपति अनुकुल भटनागरले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउदै  व्यापार, उद्योग, लगानी र वित्तीय सहकार्य विस्तारमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने धारणा व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र उद्योग प्रवर्द्धनका लागि निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमावर्ती क्षेत्रको आर्थिक विकास, पर्यटन र औद्योगिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, वाणिज्य तथा उद्योग सङ्घका पदाधिकारी तथा विज्ञहरूबीच गोलमेच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, सेजमा लगानी विस्तार, व्यापारिक प्रक्रियाको सरलीकरण, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको सहकार्य अभिवृद्धिमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?