News Summary
Generated by OK AI. Editorially reviewed.- कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा शैक्षिक अनियमितता विरुद्ध शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीको जन्तर-मन्तरमा विरोध प्रदर्शन गरिएको छ।
- नीट, सियुइटी, सीबीएसई र एसएससी जस्ता परीक्षाहरूमा भएको धाँधलीले १ करोडभन्दा बढी विद्यार्थीको भविष्य संकटमा परेको सीजेपीले आरोप लगाएको छ।
- संवैधानिक दायराभित्र रहेर शान्तिपूर्ण प्रदर्शन गर्न दीपकेले प्रदर्शनकारीहरूलाई राष्ट्रिय झण्डा, पुस्तक र प्रहरीका लागि फूल बोक्न आग्रह गरे।
२३ जेठ, काठमाडौं । दिल्ली विमानस्थलको व्यस्त र होहल्लापूर्ण वातावरणकै बीच कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके ओर्लिंदा उनलाई अनौठो स्वागत गरियो ।
ठीक त्यसैबेला वरिपरि जम्मा भएका फोटोग्राफर र समर्थकहरूले उनलाई ‘काला हिट’ भन्दै जिस्काइरहेका थिए । ‘काला हिट’ गोदरेज कम्पनीले लामखुट्टे, झिँगा र अन्य उड्ने किराहरूलाई तुरुन्तै मार्नका लागि विशेष रूपमा तयार पारेको ‘एरोसोल इन्सेक्टिसाइड’ हो। यही सन्दर्भलाई जोडेर पापाराजी र समर्थकहरूले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेलाई ‘काला हिट’ उपनाम दिएका हुन् ।
तर, यो हाँसोमजाक र होहल्लाको बीचमा एउटा दृश्यले भने ध्यान खिच्यो । दीपकेको हातमा देशको संविधानका मुख्य निर्माता डा. भीमराव अम्बेडकरको पुस्तक बलियो गरी समातिएको थियो।आफूप्रतिका टिप्पणीहरूलाई वेवास्ता गर्दै उनी सीधै दिल्लीको जन्तर-मन्तरतर्फ अघि बढे । त्यहाँह उनको नेतृत्वमा एउटा ठूलो विरोध प्रदर्शन सुरु हुँदै थियो।
आज जुन ६, २०२६ मा दिल्लीको जन्तर-मन्तरमा आयोजित सीजेपीको यो विरोध प्रदर्शनको मुख्य उद्देश्य देशका प्रमुख परीक्षाहरूमा देखिएका गम्भीर लापरबाही र धाँधलीको विरोध गर्नु हो। सीजेपीले नीट, सियुइटी , सीबीएसई तथा एसएससी जस्ता देशका ठूला परीक्षाहरूमा भएका अनियमितताका कारण झण्डै एक करोडभन्दा बढी विद्यार्थीहरूको भविष्य संकटमा परेको आरोप लगाएका छन्। यही गम्भीर मुद्दालाई लिएर उनीहरूले वर्तमान शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्।
यस्तो संवेदनशील र चुनौतीपूर्ण माहौलमा अभिजित दीपकेले डा. अम्बेडकरको पुस्तक बोक्नु केवल एउटा संयोग मात्र नभएको देखिन्छ । यसले आजको घटनाक्रमसँग गम्भीर राजनीतिक र सामाजिक अर्थ राख्दछ। दीपकेले आफ्नो सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिहरूमा स्पष्ट पारेका छन् कि उनीहरूको यो आन्दोलन भारतको संविधानले दिएको लोकतान्त्रिक अधिकारभित्र रहेर पूर्ण रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढाइनेछ। अभिजित दीपके र उनको दल कक्रोच जनता पार्टीले यस किताब र यसको साङ्केतिक अर्थबारे स्पष्ट रूपमा आफ्ना भनाइहरू सार्वजनिक गरेको देखिन्छ ।
आज दिल्ली ओर्लिने बित्तिकै र जन्तर-मन्तरतर्फ लाग्ने क्रममा दीपके तथा उनको दलले विशेष गरी ‘एक्स’ र इन्स्टाग्राम लाइभ मार्फत यसबारे केही महत्त्वपूर्ण कुराहरू राखेका छन् ।
कक्रोच जनता पार्टीको आधिकारिक ‘एक्स’ हेन्डलबाट गरिएको पोस्टमा भनिएको छ, ‘भारतको संविधानको पूर्ण समर्थन र शक्तिका साथ, कक्रोचहरूले धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा बिहान १० बजेदेखि विरोध प्रदर्शन सुरु गर्नेछन्।’
डा. अम्बेडकरको आत्मजीवनी बोक्नुको अर्थ उनीहरूको यो आन्दोलन पूर्ण रूपमा संवैधानिक दायराभित्र रहेर गरिएको हो भन्ने देखिएको छ ।
दिल्ली पुगेपछि इन्स्टाग्राम लाइभमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै दीपकेले यो आन्दोलनलाई देशकै सबैभन्दा अनुशासित र शान्तिपूर्ण बनाउन अपिल गरे। उनले भनेका छन्, ‘हामीले यो आन्दोलनलाई माया र शान्तिका साथ अगाडि बढाउनुपर्छ।’
दीपकेले जन्तर मन्तर आउने सबै प्रदर्शनकारी युवाहरूलाई एउटा विशेष निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘जन्तर मन्तरमा भेट्न म उत्सुक छु। आउँदा हाम्रो राष्ट्रिय झण्डा र साथमा एउटा किताब बोक्न नभुल्नुहोला। साथै प्रहरी अधिकारीहरूलाई सहानुभूति र कृतज्ञताको प्रतीक स्वरूप फूलहरू प्रदान गर्नुहोला ।’
यसरी दीपकेले डा. अम्बेडकरको पुस्तकलाई शिक्षा क्षेत्रको सुधार, युवाहरूको हकअधिकार र शान्तिपूर्ण लोकतान्त्रिक विरोधको एउटा बलियो हतियारको रूपमा प्रस्तुत गरेका छन्। शैक्षिक अनियमितता विरुद्धको यो लडाइँ कुनै हुलदंगा नभएर विचार र कानुनको लडाइँ हो भन्ने सन्देश दिन उनले यो किताब बोकेका देखिन्छन् ।
यस आन्दोलनले सामाजिक सञ्जाल र सडक दुवैतिर व्यापक रूपमा चर्चा र समर्थन पाइरहेको छ। सामाजिक अभियन्ता सोनम वाङचुक, अभिनेता प्रकाश राज र प्रसिद्ध युट्युबर ध्रुव राठी जस्ता स्थापित व्यक्तित्वहरूले पनि यस प्रदर्शनलाई आफ्नो समर्थन दिएका छन्। सोनम वाङचुकले यसलाई भारतको इतिहासकै सबैभन्दा शान्तिपूर्ण आन्दोलन बनाउन अपिल गर्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
ध्रुव राठीले पनि प्रदर्शनकारीहरूलाई सुरक्षित रहन विभिन्न सुझावहरू दिएका छन्। जन्तर मन्तरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
प्रतिक्रिया 4