+
+
Shares
घुमघाम :

हुआङशान र ताइपिङ तालको छेउछाउ

चीनले प्रविधि र पर्यटनलाई जोडेर कसरी आर्थिक कायापलट गर्दैछ भन्ने कुरा हुआङशान शहर, विश्व सम्पदामा सूचीकृत पहाड र ताइपिङ तालको विकास मोडलबाट स्पष्ट हुन्छ। पानी उद्योगमा रोबोटको प्रयोग, पहाड चढ्न सघाउने अत्याधुनिक यन्त्र (एक्सोस्केलेटन) र परम्परागत चियालाई विश्वबजारमा बेच्ने चिनियाँ रणनीतिले हामीलाई धेरै पाठ सिकाउँछ।    

झलक सुवेदी झलक सुवेदी
२०८३ जेठ २४ गते ६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको साङ्घाईमा आयोजित 'ग्लोबल मेयर्स समिट' मा सहभागी हुनुभएको छ ।
  • चीनको हुआङशानमा रहेको स्वचालित नोङ्फु स्प्रिङ उद्योगले रोबोटिक प्रविधि प्रयोग गरी दैनिक ९० हजार मेट्रिक टन पेय पदार्थ उत्पादन गर्छ ।
  • युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चीनको प्राचीन होङचुन गाउँले गत वर्ष ४५ लाख पर्यटकबाट २.५ अर्ब युआन आम्दानी गरेको छ ।

मे १३ तारिखको रात्रिकालीन उडान त्यति उत्साहजनक थिएन। दुखेको ढाड र चाइना साउदर्नको ‘न्यारो बडी’ जहाजको सीमित स्पेस! ग्वान्झाउ विमानस्थलबाट भने चाइना साउदर्नकै ‘वाइड बडी’ वाला विशाल जहाजले आरामसँग लग्यो।

सबैभन्दा पछिल्लो रोमा रहेको झ्यालतिरको खाली सिटमा पुगेर चीनका शहर, गाउँ र समुद्री तटहरू हेर्ने अवसर मिल्यो। हरेक गाउँ उस्तै र हरेक शहर उस्तै हुन् कि जस्तो लाग्ने। अर्को एउटा कुरा पनि फरक लाग्यो, हाम्रोमा जस्तो डाँडाकाँडामा एउटा पनि बस्ती देखिएन। पहाडको फेदी, नदीकिनार र खेतमै बनाइएका एकनासका बस्ती। पछि हुआङशान पहाडको फेदीतिरका पर्यटकीय क्षेत्रमा बाहेक कुनै पाखामा घर र बस्ती देखिएन।

पहिलो पटक पुगेको विशाल साङ्घाई विमानस्थलमा ‘मेयर धनराज आचार्यलाई ग्लोबल मेयर्स समिटमा स्वागत छ’ भन्ने प्लेकार्ड लिएर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) की पोर्चुगिज विभागकी पत्रकार युजिन ल्यु र साङ्घाईकै अर्का एक जना पत्रकार स्वागत गर्न उभिएका थिए। उनीहरूले स्वागत सत्कार गर्दै दिउँसोको खाजा र कफीको व्यवस्था गरे- स्टारबक्स र अमेरिकानो। चिनियाँ ब्रान्डको कफी त्यहाँ उपलब्ध थिएन।

उनीहरूसँग सामान्य परिचय र भलाकुसारी भयो। विमानस्थलसँग जोडिएको चीनको चर्चित ‘हाई स्पिड’ रेलको प्लेटफर्मतिर लागियो। मानिसहरूको भीड उस्तै थियो।

युजिन ल्यु

देखिने मानिस हाम्रै पोखरातिर भेटिने गुरुङ, मगर या तामाङ, नेवार या काठमाडौंमा भेटिने राई, शेर्पा र लिम्बू जस्ता थिए। भाषाबाहेक बिरानो अनुभव नहुने। हाम्रो अगुवाइ गरिरहेकी ल्यु त साप्लेको लालसुब्बा दाइकी छोरी सुविना हो कि झैं झुक्किन्थें म।

रेल चढेर यात्रा गर्दा प्लेनमा भन्दा निकै आरामदायी भयो। सिटहरू र सेवा पनि त्यस्तै राम्रा। त्यसपछि झ्यालबाट चीनका गाउँ र शहर हेर्ने क्रम शुरु भयो। गाउँ र शहर बीचको भेद अग्ला भवन छन् कि छैनन् र जमिनमा खेती छ कि छैन भन्नेबाट मात्रै थाहा हुन्थ्यो।

बाटोमा चीनको विश्वचर्चित कम्पनी अलिबाबा समूहको ई-कमर्स व्यवसायको मुख्यालय रहेछ, झेचियाङको हाङझाउमा। हाङझाउलाई चीनका अनलाइन व्यापार कम्पनीहरूको केन्द्र मानिंदो रहेछ। औद्योगिक प्रतिष्ठानहरूको विस्तारित शहर र यस्ता प्रतिष्ठानको वरपर आवास क्षेत्र देखिन्थ्यो। यस्तो आवास क्षेत्र भने अपार्टमेन्ट नभएर मध्यमवर्गीय परिवारका घरहरूले बनेको, एकनास र उस्तै आर्किटेक्टका थिए। वरपर जेलिएका सडक र रेलमार्गले उनीहरूको आर्थिक क्रान्तिका आधारबारे सूचित गर्थे।

हुआङशानतर्फ हामीलाई लिएर दौडेको रेलको उच्चतम गति २९७ किमी प्रति घण्टासम्म पुगेको डिस्प्ले देखाउँदै थियो। लगभग तीन घण्टाको यात्रापछि हुआङशान रेल्वे स्टेसनमा पुगियो। केही लिफ्ट र केही हिंडाइपछि बाहिर निस्कँदा हामीलाई पर्खिरहेको थियो- हुवावेको अत्याधुनिक प्रविधियुक्त लक्जरियस कार ‘लक्सिड’।

सम्भवतः यो कारकै विज्ञापन गर्ने उद्देश्य पनि थियो होला। त्यसमा उपलब्ध सबै सुविधाको जानकारी लिन नसके पनि त्यत्तिको आरामदायी कार नचढेको मेरा लागि नयाँ अनुभव थियो। नेपालसम्म आइपुग्दा झन्डै चार करोड पर्ने कार यता कसैले प्रयोग गरे वा नगरेको मलाई थाहा भएन। यो टेस्लालाई उछिन्ने चिनियाँ प्रयासको सङ्केत थियो।

तोकिएको समयमै हामी क्राउन प्लाजा होटल पुग्यौं। साँझ केही औपचारिक कार्यक्रम सहितको डिनरपछि हामीलाई बसमा राखेर शहरको बीचबाट बग्ने शिनआन नदीकिनारको पर्यटकीय गन्तव्यतिर लगियो। नगरका मेयर ‘हे यी’ आफैं पाहुनाहरूसँग गफिंदै गएका थिए।

सन्ध्याकालीन झिलीमिलीमा सेन्चुरी स्क्वायर र नदीको वारिपारिका बस्तीहरू आकर्षक देखिन्थे। एक प्रकारले हाम्रो पोखराकै लेकसाइडको झल्को दिने भए पनि त्यहाँको सफाइ र पूर्वाधारको गुणस्तर लोभलाग्दो थियो। हाम्रोभन्दा महँगो पनि थियो।

हामी सबै क्रुजमा बस्यौं, उनीहरूले अनेक स्वादका चिया (ग्रिन र ब्ल्याक टी) चखाए। चिया पिउँदै साँझको रमाइलो हेरियो (ठाउँचाहिं एउटा बियर या अमेरिकानो लिएर आनन्द उठाउने खालको थियो र माहोल पनि त्यस्तै, तर मिलेन)। बीचमा एउटा पुस्तक पसल देखिएको थियो, तीन तलाभरि पुस्तक राखिएको। तर त्यहाँ जाने समय कसैले मिलाउन सकेन।

यहाँको पर्यटकीय व्यवस्थापन हेर्दा, सफा बनाउन सके बागमती किनार, पोखराको फेवा, बेगनास र सेती, भरतपुरको नारायणी या कोशी लगायतका नदीकिनारहरू कसरी पर्यटकीय आम्दानीको स्रोत बन्न सक्छन् भन्ने सिक्ने प्रशस्त ठाउँ देखिए।

खासगरी पोखराको फेवा किनारमा पछिल्लो समय भइरहेको मापदण्ड तय गर्ने र त्यसलाई व्यवस्थापन गर्ने प्रयास सफल भयो भने त्यसले थप दशौं हजार रोजगारी सिर्जना गर्न सक्छ भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। 

प्रविधि, पानी उद्योग र स्मार्ट चस्मा

चिनियाँहरू ‘कटिङ एज टेक्नोलोजी’ का क्षेत्रमा खासगरी अमेरिकासँग प्रतिस्पर्धामा छन्। आफूले अनुसन्धान र विकास गरेका प्रविधिलाई उच्च मुनाफायुक्त उद्योगमा मात्र होइन, मानिसहरूको दैनिक जीवनमा पनि जोडिरहेका छन् भन्ने केही अनुभव यस पटकको घुमाइबाट सिकियो।

२९ मेमा हामीलाई बिहानको ब्रेकफास्टपछि युनेस्को विश्व सम्पदामा सूचीकृत हुआङशान पर्वतमालामा लगिएको थियो। भोलिपल्टचाहिं ताइपिङ तालछेउका चियाबगान, चिया उद्योग र एउटा अत्याधुनिक पानी तथा वेभरेज उद्योगमा लगियो।

हुआङशानमा रहेको ‘नोङ्फु स्प्रिङ’ कम्पनीको उद्योगमा पुगियो। यो कम्पनी चीनको सबैभन्दा ठूलो मिनरल तथा वेभरेज उद्योगमा पर्दो रहेछ। त्यसको एउटा शाखा यहाँ रहेछ। हामीलाई उद्योगभित्र डुलाउँदै त्यसको उत्पादन प्रक्रिया देखाइयो। यो सम्पूर्ण रूपमा स्वचालित उत्पादन प्रक्रियामा आधारित थियो। रोबोट (सञ्चित श्रम) को प्रयोगले जीवित श्रमको आवश्यकता ह्वात्तै घटाएको थियो।

बोतलका लागि प्लास्टिकका दानाहरू, पानीको सप्लाई र आवश्यक इन्ग्रेडियन्ट राखिदिएपछि स्वचालित रूपमा उत्पादन, प्रशोधन, बोटलिङ र प्याकेजिङ भएर निस्कने।

अन्त्यमा रोबोटिक मिनी ट्रक जस्ता साधनले २४ क्रेट भएका प्याकेज उचालेर बोक्दै लगेर स्टोरमा मिलाएर राखिदिने। त्यहाँबाट लोड–अनलोड पनि उनीहरूले स्वचालित रूपमै गर्ने रहेछन्। प्रतिदिन ९० हजार मेट्रिक टन उत्पादन यही प्रक्रियाबाट हुने रहेछ।

यत्तिको ठूलो उत्पादनको काममा जम्मा ३०० देखि ५०० सम्म कर्मचारीले पुग्ने रहेछ। यस कम्पनीको वार्षिक बिक्री ५४ अर्ब युआन र खुद नाफा १५ अर्ब युआन रहेछ। यहाँ पिउन मिल्ने चिया बोटलिङ गरिंदो रहेछ, अरू केही जुसहरू पनि उत्पादन हुने गर्दा रहेछन्। आउने समयमा कसरी उद्योगमा मानिसहरूको श्रम विस्थापित हुनेछ अनि रोबोटले मानिसलाई कति सजिलो बनाइदिनेछ भन्ने अनुमान मात्र गर्न सकिन्छ।

 

त्यसको अघिल्लो दिन हामीलाई प्रसिद्ध हुआङशान पहाड घुमाउन लगिएको थियो। टोपी खस्ने उकालोमा केही बेर केबलकारमा यात्रा गरेपछि सिंढी भएको ठाडो उकालोमा हिंड्नुपर्ने थियो। हामीलाई केबलकारबाट निस्कनेबित्तिकै ‘एक्सोस्केलेटन’ प्रयोग गर्न लगाइयो। कम्मरमा र घुँडामाथि पेटी बाँधे जस्तो गरेर बाँध्ने एउटा यन्त्र लगाएपछि त्यसले स्वचालित रूपमा हाम्रा गोडा उचालिदिने रहेछ। आफूले मिलाएर सिंढी चढ्दै जाँदा हुने।

अलि कमजोर, वृद्धवृद्धा, बालबालिका र कतिपय फरक क्षमताका मानिसहरूलाई पनि यसको प्रयोग गरेर पहाड चढ्न सहज हुने रहेछ।

यो प्रविधिलाई मानिसको दैनिक जीवनसँग र अन्ततः व्यापारसँग जोड्ने गजबको तरिका लाग्यो। वास्तवमा हाम्रा पहाडको पदयात्रामा जाने र हिमाल चढ्नेहरूले यसको प्रयोग गर्दा निकै सहज हुने देखियो।

यन्त्रकै कुरा गर्दा, रेल्वे र विमानस्थलका टर्मिनलमा सफा गरिरहेका, होटलमा यताउता विभिन्न सामान ओसारिरहेका रोबोटहरू, मानिसको जीवनलाई सहज बनाइरहेका द्रुत रेल सेवा अनि लक्जरियस ब्रान्डका विद्युतीय कारहरू चीनमा जता हेरे पनि भविष्यमा बाँचिरहेको जस्तो लाग्थ्यो। यी प्रगति चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा देङ स्याओ पिङ आएपछि राज्य, समुदाय र निजी क्षेत्रको साझा प्रयास अथवा बजार अर्थतन्त्र र राज्यको सहकार्यमा सम्भव भएको हो।

अनुसन्धान तथा नवप्रवर्तनमा चिनियाँहरूले बढाउँदै लगेको लगानी, शिक्षा र पूर्वाधारमा गरिएका खर्चले यस्तो सम्भव बनाएको बुझ्न सकिन्छ। ‘समाजवादी बजार अर्थतन्त्र’ नाम दिइएको यो व्यवस्थाले व्यक्तिका हरेक सम्भावनाहरूलाई उजागर गर्ने अवसर दिएको छ।

कोही छिटो धनी भएका छन्, अत्यधिक धनी पनि । तर आम समाज पनि सँगसँगै सम्पन्न हुँदै गएको र जीवनको गुणस्तर ह्वात्तै बढेको अनुभूति गर्न सकिन्छ।

त्यस्तो अनुभव त पहाड चढ्न आउने महँगो पर्यटकीय गन्तव्यमा मुख्य रूपमा चिनियाँहरू नै हुनुले पनि देखाउँथ्यो, उनीहरूको लवाइखवाइले देखाउँथ्यो।

जुन शहर हामी घुमिरहेका थियौं, त्यो अपेक्षाकृत रूपमा कम प्रतिव्यक्ति आय भएको जिल्लामा पर्दो रहेछ। त्यसैले पनि आर्थिक र वित्त क्षेत्रका जानकार व्यक्तिलाई मेयरका रूपमा पठाइएको रहेछ।

हाम्रो कार्यक्रम रहेको होटलको लबीमा हुवावेको हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको हुवावेकै ‘स्मार्ट चस्मा’ र ल्यापटप प्रदर्शन गरिएको थियो। ल्यापटप सहजै फोल्ड हुने, तर खोल्दा त्यहाँ फोल्ड गर्न मिल्ने कुनै सङ्केत थाहा नहुने, हात लगेपछि आफैं किबोर्ड आउने उन्नत स्तरको प्रविधि प्रयोग भएको थियो। हुवावेकै मोबाइल पनि थियो- फोल्डिङ गर्न मिल्ने र अत्यन्त आधुनिक फङ्सनहरू भएको।

मूल्य सोधेको, करिब दुई लाख नेपाली रुपैयाँ पर्ने रहेछ। माइक्रोचिप्स र आधुनिक प्रविधि निर्यातमा मात्र होइन, हुवावेका सामान खरिद गर्नमा पनि प्रतिबन्ध लगाएर अमेरिकाले खुम्च्याउन खोज्दा त्यसको असर उल्टो पर्न थालेको छ। चीन यी सबै क्षेत्रमा आत्मनिर्भर हुँदै जाँदा अमेरिकाको बजार खुम्चिएको छ।

हुवावेको स्मार्ट चस्मा प्रदर्शनमा थियो। मैले पनि एकपटक त्यसलाई टेस्ट गरी हेरें। मैले बोलेका र मलाई अरूले चिनियाँ भाषा र अङ्ग्रेजीमा गरेका कुराहरू सहजै नेपालीमा तत्काल टाइप भएर चस्माको स्क्रिनमा पढ्न मिल्ने। त्यही बेला ती कुरा चस्माबाटै सुन्न पनि मिल्ने।

कुनै पसलमा पुगेको खण्डमा चस्माले आफैं कुनै सामानको मूल्य पढ्ने र त्यसको गुणस्तरबारे पनि बताइदिने रहेछ। यो प्रविधिमा गुगलसँग चीनका हुवावे र साओमी प्रतिस्पर्धामा रहेछन्। 

चियाका कुरा

चियाको प्रयोग सर्वप्रथम चीनमा नै भएको मानिन्छ। चियामा चीनको इतिहास, संस्कृति र सभ्यताको एउटा धागो बुनिएको छ। हामीलाई पहिलो दिन नै खासगरी ब्ल्याक र ग्रिन टीका अनेक प्रकारका टेस्ट एक–एक घुट्की चखाइएको थियो नदीको क्रुजमा।

यहाँका ‘ताइपिङ होउकुइ टी’ (मङ्की टी), ‘हुआङशान माओफेङ’ ब्रान्डको ग्रिन टी र ‘छिमेन ब्ल्याक टी’ विश्वप्रसिद्ध मानिंदो रहेछ। चिया खेतीमा करिब सात लाख किसान संलग्न रहेका छन्। ४७ हजार हेक्टरमा गरिएको चिया खेतीबाट उत्पादित ८८ प्रतिशत चिया उच्च गुणस्तरको बन्दो रहेछ।

चिया टिप्ने र गोडमेल गर्ने स्थानीय गाउँले सम्मिलित सहकारीको चियाबगानमा हामीलाई चिया टिप्न, त्यसको उत्पादनको प्रोसेस अवलोकन गर्न लगिएको थियो। यहाँ आफ्नै फार्ममा काम गर्ने ज्यालादारी मजदुरले औसत २५० देखि ३०० युआन दैनिक ज्याला पाउने गरेको बताए। पछि चिया उद्योगमा काम गरिरहेका मजदुरले पनि त्यही ज्यालादर बताएका थिए।

हुआङशान हुओकेङ चिया उद्योग घुमाउन लगियो। यो चियाको विशाल औद्योगिक ग्राम जस्तो थियो। ६६६ हेक्टर जमिनमा यसको चिया खेती फैलिएको छ र वरपरका किसानले उत्पादन गरेको चिया पनि यसले खरिद गर्छ। चिया परम्परागत तरिकाले छनोट गर्ने, सुकाउने र प्याकिङ गर्ने गरिन्छ। दुई पात र एउटा सुइरो (कोपिला) भएका कम्तीमा चार इन्च चिया टिपिन्छ।

औद्योगिक ग्राममा चिया म्युजियम, चिया अनुसन्धान केन्द्र समेत छन्। यो निजी क्षेत्रले सञ्चालन गरेको चिया उद्योग हो। यहाँको म्यानेजरलाई सोधेको थिएँ, ‘वर्षको कति नाफा कमाउँछौ ?’ उसले ‘यो गोप्य कुरा हो, भन्न मिल्दैन’ भनेर हाँसीहाँसी पन्छियो।

परम्परागत तरिकाले तयार पारिएको ‘चियाको राजा’ भनिने चियाको मूल्य प्रतिकिलो ९० हजारदेखि १ लाखसम्म पर्दोरहेछ। चियाको गुणस्तर र उत्पादन प्रक्रिया हेर्दा चिनियाँहरू आफ्नो परम्परागत सीप, ज्ञान र उत्पादनलाई कसरी आधुनिक बजारशास्त्रसँग जोडेर बिक्री गरिरहेका र धन कमाइरहेका छन् भन्ने थाहा हुन्छ।

समुद्री सतहबाट करिब ३०० देखि ९०० मिटर उचाइमा रहेको, वरपर हरिया वनले ढाकिएको (वनमा बाँस निकै धेरै देखिन्थ्यो), समशीतोष्ण जलवायु भएको यो ठाउँ ताल र नदीहरूले हरदम सिञ्चित छ। चिस्यान भएको यो गाउँ आफैंमा मनमोहक छ, चियाबारीले यसको सुन्दरतामा अझ निखार ल्याएको छ। 

पर्यटकीय गन्तव्य

पोखरा महानगरका लागि आफ्नो क्षेत्रको पर्यटकीय पहिचानलाई आम मानिसहरूको आयआर्जनको स्रोत या रोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने कुराले विशेष अर्थ राख्छ। पोखराले पर्यटन प्रवर्धन मार्फत राम्रो रोजगारी सिर्जना गरेको छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान पनि गरिरहेको छ। नयाँ–नयाँ होटल, पर्यटकीय पूर्वाधार र गन्तव्यहरू बन्दै गएका पनि छन्। राज्य, निजी क्षेत्र तथा समुदायले सक्रियतापूर्वक लगानी पनि गरिरहेका छन्। तर उता गएर हेर्दा भने हामी कति हो कति पछि छौं भन्ने लागिहाल्छ। म यहाँ तीनवटा गन्तव्यको कुरा गर्नेछु।

१. हुआङशान पहाड : युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको यो चट्टानी पहाड एउटा अद्भुत प्राकृतिक उपहार रहेछ। हामी जाने दिन मात्र यहाँ ४३ हजार पर्यटक घुमिरहेका थिए। घुइँचो उस्तै, साना नानीहरूदेखि वृद्धहरूसम्म। ९९ प्रतिशत चिनियाँहरू। देशका विभिन्न भागबाट दृश्यावलोकन गर्न आउनेहरू र कतिपय यहाँको धार्मिक विश्वास अनुसार धर्म गर्न आउनेहरू।

पर्यटन पूर्वाधारका दृष्टिले फेदीसम्म जाने सार्वजनिक यातायात, वरपर पर्यटकीय महत्त्वका होटलहरू र केही होमस्टेहरू छन्। फेदीबाट केबलकार झन्डै ९० वटा गोन्डोला बोकेर ४५ डिग्रीको ढल्काइमा ओहोरदोहोर गरिरहेका थिए। पहाडैसम्म पैदल जान मिल्ने गरी भिरालो चट्टानमा बाटाहरू बनाइएका थिए।

शिखरमा राम्रा होटल, रेस्टुरेन्ट र बैठक कक्षहरू पनि थिए। तिखा र अग्ला चट्टान चढेर आनन्द लिन यहाँ भुइँकुहिरोले ढाक्ने जाडो मौसम राम्रो मानिंदो रहेछ। १८०० देखि २००० मिटरसम्मका नाङ्गा चट्टान, केही पवित्र र विशिष्ट प्रकारका मानिने धुपीका रूखहरू। हिउँदमा हिउँ पनि पर्ने।

गत वर्ष मात्रै लगभग ४५ लाख पर्यटकले यसको भ्रमण गरेका थिए रे! पहाड हो, अचम्म लाग्छ। ‘पहेंलो पहाड’ भनिने यो आरक्षित क्षेत्र १२०० स्क्वायर किमी रहेको छ, जुन उत्तर–दक्षिण ४० किमी र पूर्व–पश्चिम ३० किमी फैलिएको छ। हामीसँग हिमाल छन्, तर अझै राम्ररी बेच्न थालेकै छैनौं। यहाँ हेर्दा पूर्वाधारले कसरी पर्यटनलाई सहयोग गर्छ भन्ने थाहा हुन्छ।

२. ताइपिङ ताल र चियाबारी : हरिया डाँडाहरूका बीच फैलिएको र कतै–कतै साना गल्छीहरूमा भित्रसम्म घुसेको नीलो पानीको ताइपिङ ताल रमणीय मात्र छैन, वातावरणीय संरक्षण र पारिस्थितिक प्रणालीको रक्षाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको देखिन्छ।

यो मानवनिर्मित ताल हो, अर्थात् नदीको बहाव रोकेर बनाइएको विशाल ताल। यसले ८८.६ वर्गकिमी क्षेत्रफल ढाकेको छ। ४० मिटर औसत गहिराइ र ८० किमी लम्बाइ भएको यो ताल एकराते बसाइका लागि धनीमानी र मध्यमवर्गका चिनियाँहरू जाने गन्तव्य रहेछ। विदेशीहरू पनि उत्तिकै आउने यसको एउटा कुनामा हामी पुगेका थियौं।

हामीलाई होमस्टे भिजिटमा लगियो। तर तिनमा उपलब्ध सुविधा त शहरका कहलिएका चारतारे होटल सरहका थिए। एक रातको एउटा कोठाका लागि ६०० देखि ८०० युआन (१२ हजारदेखि १५ हजार नेरु) सम्म लिने। गाउँलेहरूको कृषि उपज त खपत हुनेभयो, तर हाम्रो जस्तो अर्गानिक खाने भन्ने फन्डा पनि त्यता रहेनछ। हामी पुगेको गाउँका सबैजसो घर होटल र पर्यटन व्यवसाय अनि चिया खेतीसँग जोडिएका थिए। एकदम स्फटिक, शान्त र नीलो ताल। वरपर सदाबहार हरिया डाँडा। चियाबारीमा घुम्नु र चिया टिप्नु पर्यटकका लागि थप आकर्षणका कुरा मिलाइएका थिए।

स्थानीयहरू पर्यटनमैत्री व्यवहार गर्न सिकिसकेका छन्। कतिपयले परम्परागत र आधुनिक शैलीको मिसमास गरेर पाहुना सत्कारको शैली विकास गरेका छन्। मलाई यहाँ पुग्दा बेगनास र रारा ताल सम्झनामा आए। तिनको मूल्य पनि यो तालभन्दा बढीको हुन सक्दो हो, मिलाएर र राम्रो देखाएर बेच्न सके !

३. प्राचीन होङचुन गाउँ : होङचुन गाउँ ९०० देखि ११०० वर्ष पुरानो एउटा सांस्कृतिक सम्पदाका रूपमा सुरक्षित राखिएको गाउँ हो। विश्व सम्पदा सूचीमा सूचीकृत ३०० भन्दा बढी घर रहेको यो गाउँ आफैंमा एउटा म्युजियम जस्तो देखिन्छ। हरेक घरमा केही न केही पसलहरू छन्। क्युरियोका सामान बिक्री गर्ने, त्यहाँ सौभाग्यको प्रतीक मानिने माछा आकारका लालटिनहरू बनाउने परम्परा रहेछ। अरू पनि अनेक कलात्मक कामहरू भइरहेका थिए।

गाउँको बीचमा एउटा अर्धचन्द्राकार पोखरी (हाफ मुन लेक) छ। त्यसलाई विशेष संरक्षण गरिएको छ। ४० भन्दा बढी होमस्टेहरू छन्। यहाँ भने परम्परागत गल्लीहरूको जालोले जोडिएका पुरानो शैलीका घरलाई नै होमस्टेमा बदलिएको रहेछ। दैनिक सरदर ६ देखि ९ हजार र चापको समयमा १० हजारसम्म पर्यटकहरू आउने गर्दा रहेछन्।

अघिल्लो वर्ष झन्डै ४५ लाख पर्यटकबाट गाउँलेले २.५ अर्ब युआन कमाइ गरेका थिए रे! जे जस्तो पहिले थियो, त्यसैलाई जोगाएर गरिएको उपयोग। हामीकहाँ पनि यस्ता सयौं गाउँबस्ती छन् तराईदेखि हिमालसम्म, जसलाई जोगाएर पर्यटकीय गन्तव्य बनाउन सम्भव छ। खासगरी जनजाति र आदिवासी बस्तीहरूमा। 

छुटपुट

यहाँका मेयर ४५ वर्षे हे यी स्मार्ट र गतिशील युवा रहेछन्। पहिले आनहुई सरकारको वित्तीय विभागमा काम गरेका यिनी सन् २०१९ मा यहाँको उपमेयर र पछि मेयर बनेका रहेछन्। यिनको गतिशीलता र बोल्ने शैली हेर्दा कुनै बेला चीनको केन्द्रीय नेतृत्व या भूमिकामा पुग्छन् भन्ने लाग्थ्यो।

भोलिपल्ट बिहानै म ठिकठिकै ठाँटिएर बिहानी घुमाइमा निस्केको थिएँ। होटल बाहिर बाटोमा केही पुरुषहरू भेट भए। म नेपाली हुँ भनेपछि दुइटा कुरा च्वास्स बिझ्ने गरी गरे। तिनीहरू राजनीतिक रूपमा सचेत र देशविदेश बुझेका नै रहेछन्।

हामीसँग डेढ दर्जन जति सरकारी सञ्चारमाध्यमका पत्रकारहरू थिए। ती पनि आनहुई बाहेक बेइजिङ, छेङ्दु, सेन्जेन, साङ्घाई लगायतका ठाउँबाट आएका। छापा, रेडियो, टीभी र अनलाइनका। तिनको स्वभाव निकै खुला थियो। छिटोछरितो काम गर्ने, तर जिम्मेवारीपूर्वक विषय उठाउन, सम्पादन र प्रस्तुतिबाट आफ्नो सूचनालाई लोकप्रिय बनाउन प्राविधिक रूपमा पनि सक्षम। यहाँको पत्रकारिताको यो खुलापन देखेर खुशी पनि लाग्यो र रमाइलो पनि।

यो औसत चिनियाँ शहरमध्ये कम धनी शहर हो, खासगरी समुद्रतटीय शहरहरू र औद्योगिक क्षेत्रहरूको तुलनामा। यहाँ ‘हेरिटेज क्षेत्र’ घोषणा गरिएकोले वातावरण संरक्षणका उद्देश्यले ठूला तथा प्रदूषण उत्सर्जन गर्ने खालका उद्योग खोल्न प्रतिबन्ध रहेछ। तर विस्तारित पार्कहरू, सफा सडक, कञ्चन पानी बगिरहेका खोला र नदी तथा स्फटिक तालको नीलो पानी देख्दा भने हामी त्यसैलाई धनी शहरका रूपमा लिन पुगिहाल्छौं।

अरू शहरमा जस्तै बिहान पार्कमा व्यायाम गरिरहेका विभिन्न उमेर समूहका स्त्री–पुरुषहरू देख्दा हाम्रा शहरले यस्तो स्वच्छ र आनन्ददायी वातावरणमा आफ्ना नागरिकलाई सास फेर्न कहिले देलान् भन्ने लाग्ने।

भोलिपल्ट बिहानै म ठिकठिकै ठाँटिएर बिहानी घुमाइमा निस्केको थिएँ। होटल बाहिर बाटोमा केही पुरुषहरू भेट भए। म नेपाली हुँ भनेपछि दुइटा कुरा च्वास्स बिझ्ने गरी गरे। तिनीहरू राजनीतिक रूपमा सचेत र देशविदेश बुझेका नै रहेछन्।

पोखराको विमानस्थल अझै नचलेको समाचारले तिनलाई दिक्क लागेको रहेछ। चीनबाट लिएको ऋण सही सदुपयोग नभएको चिन्ता जस्तो देखिन्थ्यो। अर्को कुरा, नेपाल गरिब देश हो भन्ने उनीहरूको बुझाइ रहेछ। मलाई उनीहरूसँग ठोक्किन पुगेकोमा केही असहज महसुस भयो। जे हो त्यही अरूले भन्दा नमीठो लाग्ने मान्छेको जात !

 यो भ्रमणबाट मैले के सिकें ?

गरेको खण्डमा हामीसँग पनि चिनियाँहरूले जस्तो मानिसहरूलाई छिटो धनी बनाउन अवसर जुटाउने पर्याप्त खजाना छ। चीन आम मानिसहरूको जीवन उकास्ने सङ्गठित र योजनाबद्ध प्रयाससँगै उच्च प्रविधिको प्रयोग जनताको सेवामा लगाइरहेको र भविष्यमा बाँचिरहेको समाज बनिसकेछ। सकारात्मक माहोल बन्दा नेपाल पनि जम्मा १० वर्षमा निकै माथि उकासिन सक्छ। सपना देख्न नछाडौं।

जुन बाटो गइएको थियो, तीन रात बिताएर उही बाटो फर्कियो। पोखरा महानगरका मेयर धनराज आचार्यजीलाई यो अवसर मिलाउनुभएकोमा धन्यवाद। हाम्रो यात्रालाई अत्यन्त सहज बनाउन मरिमेटेर खटेकी सीआरआईकी पत्रकार युजिन ल्युलाई विशेष धन्यवाद सहित हुआङशानका मेयर र हामीलाई सत्कार गर्ने सबैलाई धन्यवाद ! युजि हुइ चाइ जियान !

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?