+
+
Shares

सगरमाथाको चुचुरोमा पुगेर हेर्दा लाग्यो– सायद स्वर्ग भनेको यही होला !

नेपालतिर हेर्दा टाढाटाढा सम्म देखिन्थ्यो । अर्कोतर्फ तिब्बत र चीनका धेरै टाढासम्मका भू–भागहरू स्पष्ट र सुन्दर थिए ।

भिजन तामाङ भिजन तामाङ
२०८३ जेठ २४ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली गाइड र अमेरिकी भ्लगर ज्याण्डर जेठ १० गते राति क्याम्प ४ बाट यात्रा शुरू गरी भोलिपल्ट बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगे।

हुन त हिमालसँग यसअघि नै राम्रैसँग परिचय भइसकेको थियो । ६ हजारदेखि ७ हजार मिटरसम्मका ८ वटा हिमाल चढिसकेको थिएँ । विश्वकै सर्वोच्च शिखरतर्फ पाइला अगाडि बढाउन पाउँदा उत्साह बेग्लै थियो । साथै मनमा डर पनि उत्तिकै थियो थियो ।

जेठ १० गते राति १० बजेतिर हामी क्याम्प ४ छाडेर अगाडि बढ्यौँ । हाम्रो अघिपछि सगरमाथाको चुचुरो ताकेर उकालो लाग्ने अरू पनि धेरै थिए।

सगरमाथाको चुचुरोमा पुग्दाको खुसीको कल्पना गर्दा मनमा निकै आनन्द हुन्थ्यो । तर त्यो लक्ष्य त्यति सहज थिएन । अनेकौं कठिनाइसँग जुध्न बाँकी थियो । लक्ष्य भन्दा निकै टाढा थियौँ । अन्य दिन भन्दा त्यो दिन हावाको बेग बढी नै थियो । यसले यात्रालाई झन गाह्रो बनाइरहेको थियो।

मेरो मुख्य जिम्मेवारी आफू पुग्नु मात्रै थिएन । संसारकै अग्लो शिखर चुम्ने लक्ष्य बोकेर नेपाल आएका अमेरिकी पर्यटक ज्याण्डरलाई माथि पुर्‍याउनुपर्ने थियो ।  ३६ वर्षीय ज्याण्डर एक चर्चित भ्लगर हुन् । उनी निकै साहसी थिए । उत्साहित पनि देखिन्थे ।

सगरमाथा चढ्नका लागि करिब २ महिना अघिदेखि बेस क्याम्प पुगेर तयारी गरिरहेका थियौं।

उत्साहसँगै माथि पुग्न सकिन्छ कि सकिँदैन भन्ने डर मनमा थियो । हरेक वर्ष धेरै मान्छे सगरमाथाको चुचुरोमा पुग्छन् । धेरै जना असफल भएर फर्कन्छन् । कतिले यही आफ्नो ज्यान फाल्छन् । अरु चढेको खबर सुन्दा समान्य जस्तो लागे पनि यो यात्रा निकै कठिन हुन्छ । हरेक क्षण मृत्युसँग लड्दै अघि बढ्नुपर्छ ।

उकालो चढ्दै गर्दा कति मान्छेहरू थाकेर शिथिल भएर बसेको भेटिन्थे । कतिपयहरू माथि चढ्ने आँट हराएर फर्किरहेका हुन्थे । कति जना बिरामी परिरहेका हुन्थे । कतिपय ठाउँमा शव लडिरहेको समेत देखिन्थ्यो । त्यो दृश्यले पूरै जिउ सिरिङ्ग बनाउँथ्यो ।

केही दिनअघि क्याम्प २ बाट क्याम्प ३ जाने बाटोमा आफ्नै आँखाअगाडि एक जना गाइडको मृत्यु भयो । एमपीसी २ भन्ने ठाउँमा ती शेर्पा चिप्लिएर लड्न पुगे र निकै तल खस्दा उनको त्यहीं मृत्यु भयो ।

यो देखेर निकै डर लाग्यो । तर यसले सतर्क हुन पनि सिकायो । ‘सानो असावधानीले पनि ज्यान जान सक्छ’ भन्ने कुरा यो घटनाले सिकायो ।

हावा बढी भएकाले हाम्रो यात्रा कठिन बनिरहेको थियो । श्वास फेर्न गाह्रो हुने, हावाको बेग अनुहारमा पर्दा पोल्ने, दुख्ने भयो । थकाइले लखतरान पारिरहेको थियो ।

माथि पुगेर फर्कँदै गरेकाहरूलाई अब कति छ भनेर सोध्ने गर्थ्यौं ।

हिलारी स्टेप भन्दा केही मुनि ट्यांगुलर रकमा पुगेपछि ज्याण्डरले अलि हरेस खाए । उनले अब सकिँदैन होला फर्किनुपर्छ कि भन्न थाले । तर अब लक्ष्य नजिकै थियो । एक घण्टा आसपासमा हामी माथि पुग्न सक्छौँ भन्ने कुरा माथिबाट फर्कनेहरूले सुनाइरहेका थिए । मैले उनको अक्सिजन बढाइदिएँ । चक्लेटहरू खान दिएँ । यत्रो लक्ष्य बोकेर, त्यति धेरै खर्च गरेर उहाँबाट यहाँसम्म आएको कुरा स्मरण गराएँ । त्यो सपना अब ‍धेरै नजिक रहेको सुनाएपछि उनले हिम्मत जुटाए । उज्यालो पनि हुन थालिसकेको थियो । नरन्तर अगाडि बढ्यौं ।

बिहानको ठिक ६ बजे हामी सगरमाथाको चुचुरोमा पुग्यौँ । त्यो क्षण निकै अद्‍भूत थियो । हामी संसारकै अग्लो ठाउँमा पुगिसकेका थियौँ । पारिलो घाम लागिसकेको थियो । हिउँमा ठोक्किएर आएका घामका किरणहरू बढी नै तेजिला थिए । मौसम खुलेको थियो ।

हामीले अंगालो हाल्दै एक–अर्कालाई धन्यवाद दियौँ । ज्याण्डर र मेरो साथमा हाम्रै कम्पनीका फोटोग्राफर साथी थिए ।

हामी त्यहाँ पुग्दा अरू १५–२० जना चुचुरोमा थिए । धेरैजसो खुसी हुँदै रमाउँदै फोटो खिचिरहेका थिए । थकानले होला केही व्यक्तिहरू भने लखतरान पनि देखिन्थे । त्यो उचाइमा पुग्दाको खुसीमा पनि उनीहरू खुलेर रमाउन सकिरहेका थिएनन् ।

हामी हिमालमा यात्रा गर्नेहरूका लागि सगरमाथाको चुचुरोमा पुग्नु भन्दा ठूलो खुसी अरू केही हुन सक्दैन ।

हामीले धेरै फोटो, भिडियो खिच्यौँ । चारैतिर नियालेर निकै बेर घोरिएर हेर्‍यौं । नेपालतिर हेर्दा टाढाटाढा सम्म देखिन्थ्यो । अर्कोतर्फ तिब्बत र चीनका धेरै टाढासम्मका भू–भागहरू स्पष्ट र सुन्दर थिए । अहिलेसम्म देखेको, पुगेको भन्दा अर्कै संसार देखिन्थ्यो ।

मैले सोचेँ– सायद संसारको स्वर्ग भनेको नै यही होला । धेरै खुसीले आँखाबाट आँसु आयो ।

खुसी र उत्साहले गर्दा तलबाट उक्लिँदाको थकाइ सबै मेटियो ।

करिब २० मिनेट जति बिताएपछि हामी फर्कियौँ । लक्ष्य प्राप्त भइसकेपछिको यात्रा निकै सजिलो हुने रहेछ । अब तल पुगेर मन लागेको कुरा टन्न खान पाउने, आराम गर्न पाउने सोच्दा पनि थकाइ नलाग्दोरहेछ ।

करिब ४ घण्टामा हामी सुरक्षित रुपमा क्याम्प ४ आइपुग्यौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?