News Summary
Generated by OK AI. Editorially reviewed.- वामपन्थी, समाजवादी, प्रगतिशील तथा पहिचानवादी युवाहरूले नयाँ राजनीतिक र सामाजिक अभियानका लागि आगामी ४ असारमा काठमाडौंमा बृहत् छलफल आयोजना गर्दै छन् ।
- यो अभियानले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र संविधानले सुनिश्चित गरेका जनअधिकारहरूको रक्षा गर्दै राज्य प्रणालीलाई उत्तरदायी बनाउने उद्देश्य राखेको छ ।
- अभियानको सार्वजनिक आह्वानपत्रमा पूर्वमन्त्री, नागरिक समाजका प्रतिनिधि, कलाकार, युवा अभियन्ता र पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले हस्ताक्षर गरेका छन् ।
२४ जेठ, काठमाडौं । लोकतन्त्रप्रति प्रतिबद्ध वामपन्थी, समाजवादी, प्रगतिशील तथा पहिचानवादी धाराका युवाहरूले संयुक्त रूपमा नयाँ राजनीतिक–सामाजिक अभियानको तयारी गरेका छन् । त्यसका लागि आगामी ४ असारमा काठमाडौंमा बृहत् छलफल आयोजना गरिँदै छ ।
आज सार्वजनिक एक आह्वानपत्रमा लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता तथा संविधानले सुनिश्चित गरेका जनअधिकारहरूको रक्षा गर्दै राज्य प्रणालीलाई थप उत्तरदायी बनाउने उद्देश्यसहित आयोजना हुने छलफलमा सहभागी हुन सम्बद्ध सबैलाई भनिएको छ ।
आह्वानपत्रमा विगतमा लोकतन्त्र र परिवर्तनका पक्षमा योगदान गरेका नेताहरूको भूमिकालाई सम्मान गर्दै नयाँ पुस्ताका सक्षम, जनउत्तरदायी र दूरदर्शी नेतृत्व तयार पार्न आवश्यक रहेको जनाइएको छ ।
साथै संविधानको पुनरावलोकन प्रक्रियामा जनअधिकारको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने, सरकारबाट हुने जनविरोधी तथा संविधानविपरीत गतिविधिको खबरदारी गर्ने र उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र तथा लिङ्गका अधिकारका पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
राष्ट्रियता, सुशासन, सामाजिक न्याय र समृद्धिसम्बन्धी मुद्दामा साझा अभियान निर्माण गर्ने उद्देश्यसहित छलफल गर्न लागिएको हो ।
आह्वानपत्रमा पूर्वमन्त्री तथा पूर्वसांसद, नागरिक समाजका प्रतिनिधि, कलाकार, युवा अभियन्ता र पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको हस्ताक्षर रहेको छ ।
हस्ताक्षरकर्तामध्ये लक्ष्मी गुरुङ, तिलक थापामगर, तिलक परियार, चन्द्र खड्का, रत्नेश्वरप्रसाद शर्मा, प्रकाश शाही, जिवछ यादव, प्रोसिड चौधरी र पत्रकार मनऋषि धिताल लगायत रहेका छन् ।
प्रतिक्रिया 4