News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
- जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनका कागजात र प्रतिनिधि विवरण अद्यावधिक नभएकाले निर्वाचन स्थगित गरिएको बताए ।
- वर्तमान जिल्ला सभापति सरोज बानियाँले डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा त्रुटि भएको भन्दै छानबिन र कारबाहीको माग गरे ।
२४ जेठ, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ ।
हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए । तर अपराह्न करिब पौने ४ बजे निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।
जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको बताए ।
‘पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण छन् । निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी छ भने स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि पनि देखिएको छ,’ उनले भने, ‘यी कारणले तत्काल निर्वाचन प्रक्रिया सञ्चालन गर्न सम्भव भएन ।’
उनका अनुसार प्रदेश अधिवेशन जेठ २८ गतेका लागि तय भएकाले त्यसअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
वर्तमान जिल्ला सभापति तथा सभापति पदका उम्मेदवार समेत रहेका सरोज बानियाँले पार्टीको आधिकारिक डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको दाबी गरे ।
‘केन्द्रले छानबिन गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्छ । विधि र विधानअनुसार विवरण अद्यावधिक गरेर जिल्ला अधिवेशन अघि बढाउनुपर्छ,’ उनले भने ।
जिल्ला अध्यक्ष पदका लागि वर्तमान सभापति वानियाँ, कृष्णनन्दन यादवलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया 4