0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कोशीमा रास्वपा जिल्ला अधिवेशन : अधिकांश सर्वसम्मत, कतै हात हालाहाल

रास्वपाले जिल्ला अधिवेशनमा समूह बनाएर निर्वाचन गर्न दिएको थिएन् । व्यक्तिगत रूपमा चुनाव लड्न छुट दिएको थियो । प्रदेशका सबै जिल्लामा लामिछानेनिकट रहेका नेताहरू सभापति चुनिएको रास्वपा स्रोत बताउँछ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:२२

२५ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १३ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । विवादका कारण रोकिएको उदयपुरको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबार मतदान हुँदैछ ।

रास्वपा कोशी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख लालविक्रम थापाका अनुसार झापाको सभापतिमा ओम भण्डारी, मोरङमा भरत कँडेल र सुनसरीमा सागर दाहाल निर्वाचित भएका छन् । मोरङका कँडेल र सुनसरीका दाहाल यसअघि जिल्ला संयोजकको जिम्मेवारी थिए ।

सुनसरी जिल्लामा  अधिवेशनका क्रममा हात हालाहालको अवस्था सिर्जना भएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाएपछि शनिबार नयाँ नेतृत्व चुनियो ।

यस्तै, ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, संखुवासभामा भक्तनारायण श्रेष्ठ, खोटाङमा मुकुन्दकृष्ण थापा र  सोलुखुम्बुमा नारायणकाजी कार्की सर्वसम्मत जिल्ला सभापति चुनिएका छन् ।

पाँचथरमा प्रकाश गुरुङ र धनकुटामा भुवन थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।

भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुङ्गामा कृष्णबहादुर थापा, इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन् ।

उदयपुरमा भने आइतबार विवाद भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । सोमबार नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको प्रदेश महामन्त्री थापाले बताए ।

उनका अनुसार केही जिल्लामा बाहेक धेरै स्थानमा शान्तिपूर्ण रूपमा जिल्ला अधिवेशन सम्पन्न भएको बताए ।

रास्वपाले जिल्ला अधिवेशनमा समूह बनाएर निर्वाचन गर्न दिएको थिएन् । व्यक्तिगत रूपमा चुनाव लड्न छुट दिएको थियो । जसले गर्दा रास्वपाभित्र देखिँदै गएको बालेन शाह समूह र रवि लामिछानेको समूह छुट्टिएन् ।

तर, प्रदेशका सबै जिल्लामा लामिछानेनिकट रहेका नेताहरू सभापति चुनिएको रास्वपा स्रोत बताउँछ ।

प्रदेश महामन्त्री थापा भने जिल्ला अधिवेशनपछि पार्टी कोशी प्रदेशको पहिलो अधिवेशनमा जुटेको बताउँछन् । प्रदेशमा सर्वसम्मती नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चुनिने उनले बताए । प्रदेशमा निर्वाचन भए समूह बनाउन छुट नहुने उनको भनाइ छ ।

उनका अनुसार पहिलो प्रदेश अधिवेशन जेठ २७ गते मोरङको सुन्दरहरैचामा हुनेछ ।

‘प्रदेश अधिवेशनमा तीन हजार हाराहारी प्रतिनिधि सहभागी हुनुहुन्छ, प्रतिनिधिको सूची भने तयार भइसकेको छैन,’ उनले भने, ‘जिल्ला र पालिकाबाट आउनुहुन्छ, सहमतिका आधारमा अधिवेशनकै दिनपनि चयन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?