News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मदन भण्डारी राजमार्गका लागि कुल १ अर्ब ४० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- विनियोजित रकममध्ये मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतलाई ३९ करोड ६६ लाख र गुल्मी कार्यालयलाई ३१ करोड रुपैयाँ बजेट दिइएको छ ।
- झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्म जोडिने यस राजमार्गको निर्माण सम्पन्न भएपछि देशभरका ७२ लाखभन्दा बढी नागरिक लाभान्वित हुनेछन् ।
२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मदन भण्डारी राजमार्ग अन्तर्गत विभिन्न ७ खण्ड र कार्यालयका लागि बजेट छुट्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो राजमार्गका लागि कुल १ अर्ब ४० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसअनुसार गाइघाट–दिक्तेल सडकलाई २ करोड विनियोजन भएको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकलाई २६ करोड विनियोजन गरिएको छ । सडक डिभिजन हेटौंडाको नाममा २ करोड विनियोजन भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललितपुरलाई १९ करोड ४८ लाख विनियोजन गरिएको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले ३१ करोड बजेट पाएको छ । सडक डिभिजन घोराही दाङले २० करोड बजेट पाएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले ३९ करोड ६६ लाख बजेट पाएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मदन भण्डारी राजमार्गको बाहुनडाँगीदेखि रुपालसम्म अगाडि बढेका सडक आयोजनामा यो रकम खर्च हुनेछ ।
मन्त्रिपरिषद्को ६ जेठ, २०७५ को निर्णय अनुसार चुरे तथा भित्री मधेशका उपत्यका र सो क्षेत्रभित्र पर्ने खानी स्थललाई प्रमुख शहरसँग जोड्न झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्म पुग्नेगरी मदन भण्डारी राजमार्गको सुरुवात भएको हो ।
महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको छ । यो राजमार्गको निर्माण सम्पन्न भएपछि देशभरीका ७२ लाख जनसंख्या प्रत्यक्ष–अप्रत्यक्ष लाभान्वित हुने छन् ।
प्रतिक्रिया 4