News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सचेतक निश्कल राईले भने, "प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो ।"
- १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जमीन मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले विरोध गरेका छन्।
- सचेतक राईले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाए।
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् ।
‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँको शुभचिन्तकहरुले पनि नभएका प्रमाणहरु सिर्जना गर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौं हामी? कस्तो समाजको परिकल्पना गरिरहेका छौं?’ उनले सोधे ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
‘हामी प्रतिपक्षी दलहरुले विगत केही बैठक देखि यस सम्मानित सदनमा ठूलो आवाजमा ‘नेपाल सीमा अतिक्रमणकारी देश होइन’ भनेर प्रमाणित गर्न खोजिरहेका छौं । प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनमा स्वयम् आफै उपस्थित भएर आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफि माग्नुपर्छ भनेर माग गरिरहेका छौं,’ उनले थप भने, ‘हामीलाई लागेको थियो- राष्ट्रको अस्मितामाथी धावा बोल्दा सदनको अभिभावकको हैसियतमा सभामुख महोदयले अभिव्यक्ति हटाउन निर्देशन दिनुहुनेछ । तर‚ त्यसो हुन सकेन । त्यसैले आज पनि हामी सभामुख महोदयको साथ चाहान्छौं‚ अभिभावकत्व चाहान्छौं । तपाईंको सालिनतालाई उच्च कदर पनि गर्दछु । रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रिय हितविपरित बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् । खुट्टा नकमाइ- सभामुख महोदय हामी रुलिङ चाहान्छौं ।’
प्रतिक्रिया 4