News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्न अनुमति पाएको छ ।
- महानगर प्रमुख धनराज आचार्यले यो अनुमतिबाट पोखराको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए ।
- दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले मध्यपूर्व, युरोप र अफ्रिकासहित ३ सयभन्दा बढी सहरसँग पोखराको पहुँच पुग्ने छ ।
२६ जेठ, काठमाडौं । यूएईको फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्न अनुमति पाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको जानकारी दिए ।
‘नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान सञ्चालनका लागि अनुमति पाएको खबरले सम्पूर्ण पोखरेलीलाई उत्साहित बनाएको छ ।’
यसबाट एक हवाई सेवा थपिने विषयमात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौं केन्द्रित हवाई चाप विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर समेत भएको उनले बताएका छन् ।
दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत ३ सयभन्दा बढी सहरसँग पोखराको पहुँच पुग्ने समेत उनले बताए ।
प्रतिक्रिया 4