0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १७:३५

२७ जेठ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सबस्टेन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ ।

संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा हुने अन्तर्राष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य भइरहेको छ ।

एमसीसी नेपाल कम्प्याक्टमार्फत विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । त्यसैअन्तर्गत नुवाकोटको रातमाटे सबस्टेसन, दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको शिलान्यास गरिएको छ ।

शिलान्यास गरिएको २९७ किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।

शिलान्यास गरिएका सबस्टेसन तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न छन् ।

टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा प्रसारण लाइन खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किलोमिटर लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किलोमिटर लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् ।

निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेसनमध्येका हुनेछन् । यी सबस्टेसन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् ।

यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ, घरपरिवार र व्यवसायहरूका लागि विद्युत् आपूर्तिको भरपर्दाेपनामा सुधार गर्नेछ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको वृहत सहभागिता गराउन सघाउनेछ ।

‘सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ’ अर्थ सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवद्र्धन गर्न तथा नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।’

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यी पूर्वाधारले नेपालको ऊर्जा भविष्यमा मेरुदण्ड निर्माण गर्ने बताए । भरपर्दो बिजुली देशका कुना कुनामा प्रवाहित हुने उनले विश्वास जनाए । ‘नेपाली व्यवसायहरूको विस्तारका लागि पनि यसले नयाँ क्षितिज उघार्नेछ’ उनले भने ।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्त्वमाथि जोड दिँदै बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाउनु जरुरत रहेको बताए । ‘एमसीसी यस रूपान्तरणकारी पूर्वाधार निर्माण पहलमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित छ’ उनले भने ।

समारोहलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार भएको बताए । त्यस्तै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले यी आयोजनाले विद्युत् प्रसारण अवरोध न्यूनीकरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?