News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको ठोरी गाउँपालिका–१ र २ जोड्ने ढेडुखोलामा पुल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ ।
- पूर्वाधार विकास मन्त्रालयले चितवन, पर्सा र मोरङका एक दर्जन पुलका लागि एकमुष्ट ५६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
- पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले ढेडुखोला पुल निर्माणसँगै स्थानीय नागरिकले ठूलो राहत पाउने बताए।
२८ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-१ र २ नम्बर वडा बीचमा रहेको ढेडुखोलामा पुल निर्माण हुने भएको छ । ठोरी गाउँपालिका-१ दिपक नगर र वडा नम्बर-२ भञ्ज्याङ जोड्ने पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।
यो खोलामा पुल नहुँदा वर्षायाममा मानिसहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । बिरामी हुँदादेखि विद्यालय आउजाउ गर्न समेत समस्या छ ।
लामो समयदेखि यो खोलामा पुल नबन्दा ठोरी हुँदै चितवन र जिल्ला सदरमुकाम वीरगञ्ज आउजाउ गर्न समस्या थियो ।
ढेडुखोलामा पुल निर्माणका लागि बजेट विनियोजन गर्न सरकारलाई आफूले दबाब दिएको र लामो समयदेखिको यस क्षेत्रको पुल सपना पूरा हुने पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले बताए ।
उनले भने, ‘ढेडुखोलामा पुल नहुँदा वर्षौंदेखि यस क्षेत्रका नागरिकले समस्या झेल्दै आइरहेका थिए । अब पुल बन्ने भएपछि यस क्षेत्रका नागरिकमा राहत महसुस हुनेछ । पुल निर्माणका लागि रेडबुकमा यथोचित बजेट विनियोजन हुनेमा म ढुक्क छु ।’
सांसद शाक्यका अनुसार यो खोलामा हुलाकी सडक आयोजनाले पनि चाँडै पुल निर्माण प्रक्रिया अगाडि बढाउने छ ।
पूर्वाधार विकास मन्त्रालयले चितवन, पर्सा र मोरङका लागि पुल निर्माण गर्न छनोट गरिएका योजनामा ढेडुखोला पुल निर्माणका लागि पनि बजेट राखिएको छ ।
यी तीन जिल्लाका झन्डै एक दर्जन पुलका लागि एक मुष्ट ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास विभागमार्फत यी कार्यक्रम कार्यान्वयन हुनेछन् ।
ढेडुखोलामा पुल निर्माणसँगै ज्योतिफर्मदेखि चोर्नी पुग्ने सडकमा पर्ने सिर्सिया खोला, भवनी र पशुपतिनगरबीच सिंगाही खोला, बबाँहाणि र बनिहार बजार जोड्ने फन्टी खोला, धोबिनी गाउँपालिका-१ स्थित घोडदैडा ओरिया नदीमा पनि पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सोही योजना अन्तर्गत चितवनको रत्ननगर-१६ स्थित हत्तीगढदेखि खैरहनी-४ कैयर खोला हुँदै गैडाहाल निस्कने पुल, भरतपुर महानगरपालिका-२ स्थित पुंगीखोला, कयर खोला, घाँगर खोला र बेथरीखोलामा पनि पुल बनाउनका लागि बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया 4