+
+
Shares
भुटानी शरणार्थी प्रकरण :

ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका हाइप्रोफाइल व्यक्तिहरूलाई बयानका लागि झिकाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ ।
  • जाहेरीकर्ताहरू रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले बिहीबार अदालतमा सो निवेदन दर्ता गराएका हुन् ।
  • नक्कली शरणार्थी प्रकरणका आरोपितहरूविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि अन्तिम सुनुवाइ शुरू भएको छ ।

२९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनुवाइ शुरु भएका बेला केही हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ ।

तीन जना उजुरीकर्ताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री डा. आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् ।

जाहेरीकर्ताहरु रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन् ।

उनीहरुले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरुले यस मुद्दाका प्रतिवादीहरुबाट रकम बुझी लिईएको प्रमाणित हुने विभिन्न डिभाईसहरु यस अगाडि नै सम्मानित अदालतमा बुझाइसकेको सम्बन्धमा निजहरुलाई नै अदालतमा उपस्थित गराई निजहरुको बयान बकपत्र मार्फत कानून बमोजिम प्रमाण मूल्यांकन गरी पाउँ ।’

जाहेरीमा उनीहरुको नाम भएको, कतिपयले बकपत्रमा समेत नाम उल्लेख गरेकाले उनीहरुलाई छानबिनका लागि झिकाउनुपर्ने निवेदकहरुको माग हो ।

उनीहरुले पेश गरेको निवेदन विहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । उनीहरुले आरोपित कतिपयको सम्पत्ति समेत रोक्का नभएको भन्दै सम्पत्ति समेत रोक्का राख्न माग गरेका छन् ।

उनीहरुले माग गरेको निवेदन सम्बोधन भएमा अदालतले पूर्वप्रधानमन्त्री ओलीदेखि पूर्वमेयर शाक्यसम्मलाई अदालतमा बकपत्रका लागि झिकाउनसक्छ । तर त्यो निवेदनको भरमा प्रहरीबाट फौजदारी अनुसन्धान शुरु हुन सक्दैन ।

तीन वर्षअघि नक्कली शरणार्थी प्रकरण सतहमा आउदा उनीहरुको नाम पनि जोडिएको थियो । तर प्रहरीले उनीहरुलाई अनुसन्धानमा तानेको थिएन ।

बिहीबार बहसका क्रममा पीडितको तर्फबाट वकालत गरेका कानूनी व्यवसायीहरुले ओली लगायतका हाइप्रोफाइलहरुलाई बकपत्रमा झिकाउन माग गरेका थिए । तत्काल त्यसको प्रतिवादमा उत्रिएका आरोपितका कानून व्यवसायीहरुले मुद्दामा असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुविरुद्ध चलेको किर्ते, राज्यविरुद्धको कसुर, ठगी र संगठीत अपराधको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?