News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
- कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा बढेर ४४.२५ प्रतिशत पुगेको छ ।
- नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णाली प्रदेशमा भित्रिने पर्यटकको संख्या ५०.०७ प्रतिशतले घटेको छ ।
२९ जेठ, काठमाडौं । कर्णाली प्रदशेका उद्योगको क्षमता उपयोगमा सुधार आएको छ । गत वर्ष ४०.२२ प्रतिशत रहेको उद्योगको औसत क्षमता उपयोग ४४.२५ प्रतिशत पुगेको हो ।
चालु आर्थिक वर्ष पुससम्म कर्णालीका कागज उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी शतप्रतिशत क्षमता उपयोग गरेको छ भने बिजुलीका उपकरण अन्तर्गत बिजुलीका तार र केबुल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
उद्योगका उत्पादनमध्ये अन्न तथा पशुदाना, चाउमिन, अन्य लत्ताकपडा, गलैँचा, चिरेको काठ, कागज र बिजुलीका तार र केबुल उत्पादन गर्ने उद्योगको उत्पादन बढेको छ भने प्रशोधित दूध र छाला जुत्ता उत्पादन गर्ने उद्योगको उत्पादन घटेको छ ।
चालु आव २०८२/८३ मा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: ३१.५२ प्रतिशत, १०.०७ र ५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
चालु आव पुस मसान्तसम्म कर्णालीमा खाद्य बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.३७ प्रतिशतले वृद्धि भएको छ । प्रमुख खाद्य बालीमध्ये धान बालीले ढाकेको क्षेत्रफलमा २.९४ प्रतिशतले ह्रास आएको छ भने मकै, गहुँ, कोदो, जौर फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमश: ०.३१ प्रतिशत, ०.२५, ०.२५, ११.१७ र २.४९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा ०.२५ प्रतिशतले वृद्धि भएको छ भने फलफूल खेतीले ढाकेको क्षेत्रफल ४.५१ प्रतिशतले वृद्धि भएको छ ।
कर्णालीमा समग्र कृषि बाली उत्पादन गत आव पुससम्मको तुलनामा ०.०५ प्रतिशतले घटेको छ । तर यस अन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन भने २.०६ प्रतिशतले बढेको छ ।
प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौ र फापर बाली उत्पादन क्रमश: ६.७६ प्रतिशत, ०.२५, २.५०, ०.३४, १३.७४ र २.५१ प्रतिशतले वृद्धि भएको छ ।
गत पुस मसान्तसम्म तरकारी तथा बागबानी उत्पादन र फलफूल खेती उत्पादन क्रमश: ४.७१ प्रतिशत र ४.११ प्रतिशतले घटेको छ । २०८२ पुस मसान्तमा कर्णालीमा प्रवाह भएको कृषि कर्जा २०८१ पुस मसान्तको तुलनामा ५.०७ प्रतिशतले घटेको छ । कर्णालीमा प्रवाह भएको समग्र कर्जाको ७.६३ प्रतिशत हिस्सा कृषि कर्जाले ओगटेको छ ।
कर्णालीमा प्रवाह भएको समग्र कर्जाको ६.८९ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ । यस प्रदेशमा भित्रिने पर्यटक संख्या ५०.०७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटक संख्यामा क्रमश: ५०.८६ प्रतिशत, ७०.८२ र ३२.४६ प्रतिशतले कमी आएको छ ।
सेवा क्षेत्रको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ९.०८ प्रतिशतले बढेको छ । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४८ प्रतिशत कर्जा सेवा क्षेत्रमा छ ।
२०८२ पुस मसान्तमा कर्णालीमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४ सय ८० पुगेको छ र कर्जा निक्षेप अनुपात ६८ प्रतिशत छ ।
कर्णालीमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।
चालु आव साउनदेखि पुस मसान्तसम्म कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १४ हजार ६६ रहेको अध्ययनले औँल्याएको छ ।
प्रतिक्रिया 4