+
+
Shares

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई  कडा कारबाही गर्ने सरकारको चेतावनी

उद्योग मन्त्रालयले मापदण्ड विपरीत फोहोर पानी खोलामा फाल्ने उद्योगहरूलाई कानुन बमोजिम कारबाही दायरामा ल्याउने जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिर्सिया नदीमा फोहोर पानी प्रशोधन नगरी विसर्जन गर्ने उद्योगहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
  • मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उद्योगहरूलाई स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन अनुसार अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गर्न निर्देशन दिनुभएको छ ।
  • औद्योगिक तथा वातावरणीय मापदण्ड पालना नगरे उद्योग विभाग र सम्बद्ध निकायबाट प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

२९ जेठ, काठमाडौं । सिर्सिया नदी करिडोरमा सञ्चालित उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी सिधै नदीमा विसर्जन गरेर प्रदूषण बढाएको भन्दै सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मापदण्ड विपरीत फोहोर पानी खोलामा फाल्ने उद्योगहरूलाई कानुन बमोजिम कारबाही दायरामा ल्याउने जनाएको हो ।

पछिल्लो समय उद्योगहरूबाट निस्कने रसायनयुक्त र फोहोर पानी सिधै खोलामा मिसाउँदा जनस्वास्थ्यमा गम्भीर असर परेको र  विभिन्न माध्यमबाट गुनासो तथा उजुरी प्राप्त भएको भन्दै मन्त्रालयले यसतर्फ ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उद्योग प्रतिष्ठानहरूलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण परिपालना गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा स्वीकृत गरिने वातावरणीय अध्ययन प्रतिवेदन अनुसार उत्पादन प्रक्रियाबाट उत्पन्न हुने प्रदूषण नियन्त्रणका लागि फोहोर पानी प्रशोधन प्रणाली अनिवार्य जडान गरी सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।

साथै, उद्योगहरूले वातावरणीय व्यवस्थापन योजना अन्तर्गतका प्रदूषण न्यूनीकरणका उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र सरकारले निर्धारण गरेको मापदण्ड अनुरूप मात्र प्रशोधित पानी विसर्जन गर्नुपर्ने कुरामा मन्त्रालयले जोड दिएको छ ।

नदी तथा खोला प्रदूषण गर्नु मानव स्वास्थ्यका दृष्टिले अत्यन्त गम्भीर सवाल रहेको भन्दै मन्त्रालयले सचेत गराएको छ ।

यदि औद्योगिक तथा वातावरणीय मापदण्डको पूर्ण परिपालना नभएको पाइए उद्योग विभाग तथा अन्य सम्बद्ध निकायबाट प्रचलित कानुन बमोजिम ‘कडाभन्दा कडा कारबाही’ हुने चेतावनी मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?