News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र चिनियाँ राजदूत झाङ माओमिङबीच कृषि, वन तथा वातावरण क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा भेटवार्ता भएको छ ।
- मन्त्री चौधरीले नेपाली कृषि उत्पादनको चिनियाँ बजारमा पहुँच विस्तार र ताप्लेजुङ सीमावर्ती क्षेत्रको चौँरी आवागमन समस्या समाधानका लागि चीनसँग सहयोग अपेक्षा गरिन् ।
- राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने र विभिन्न क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताए ।
२९ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्य थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।
यस्तै कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौता कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोग लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोग अपेक्षा गरिन् ।
साथै, ताप्लेजुङ सीमावर्ती क्षेत्रमा याक तथा चौँरी आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि समेत चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उनले बताइन् ।
भेटमा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताए ।
प्रतिक्रिया 4