News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव र फिफा विश्वकप २०२६ को अवसरमा काठमाडौँमा ‘गोल युएसए २०२६ फाइनल्स’ सम्पन्न भएको छ ।
- विराटनगर, सुर्खेत, भैरहवा र पोखराका छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडी ललितपुरको सातदोबाटोमा आयोजित फाइनल खेलमा सहभागी भएका थिए ।
- अमेरिकी दूतावासद्वारा आयोजित यस कार्यक्रमले खेलकुदमार्फत नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।
काठमाडौं । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव तथा फिफा विश्वकप २०२६ को उत्साहलाई मनाउने उद्देश्यसहित अमेरिकी दूतावासको आयोजनामा ‘गोल युएसए २०२६ फाइनल्स’ सम्पन्न भएको छ ।
यो कार्यक्रम विराटनगर, सुर्खेत, भैरहवा र पोखरामा आयोजना गरिएका फुटबल सीप सिकाइका चुनौतीको शृंखलाबाट सुरु भएको थियो । उक्त कार्यक्रममार्फत सयौँ युवा खेलाडी टोली भावना र नेतृत्व विकासका गतिविधिमा सहभागी भएका थिए ।
प्रत्येक सहरबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी काठमाडौंमा आयोजित राष्ट्रिय फाइनलमा छनोट भएका थिए । फाइनलमा उनीहरूले प्रतिस्पर्धा गर्नुका साथै युवा सहभागी, चर्चित खेलाडी तथा अमेरिकी दूतावासका कर्मचारीहरू सम्मिलित विशेष मैत्रीपूर्ण खेलमा पनि भाग लिएका थिए ।

यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको फ्रिडम २५० अभियानको हिस्सा हो । साथै, संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ प्रति बढ्दो उत्साहलाई पनि यसले प्रतिबिम्बित गरेको छ ।
खेल सुरु हुनुअघि कार्यवाहक राजदूत स्कट अर्बोमले भने, ‘गोल युएसएले संयुक्त राज्य अमेरिका र नेपालबीचको दीर्घकालीन मित्रतालाई प्रतिबिम्बित गर्छ । संयुक्त राज्य अमेरिका फिफा विश्वकप २०२६ आयोजना गर्ने तयारीमा रहँदा, हामी नेपालभरका युवासँग त्यो उत्साह बाँड्न र हाम्रा समुदायलाई अझ नजिक ल्याउने सम्बन्ध निर्माण गर्न पाउँदा गर्व महसुस गर्छौं ।’
प्रतियोगिताले खेलकुदमार्फत समुदायलाई जोड्ने, युवा नेतृत्वलाई प्रेरित गर्ने तथा साझेदारीलाई सुदृढ बनाउने शक्तिलाई उजागर गरेको थियो । प्रतियोगिताभर सहभागीले टोली भावना, अनुशासन, दृढता र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रदर्शन गरेका थिए । यी गुणहरू मैदानभित्र मात्र होइन, मैदान बाहिरको सफलताका लागि पनि महत्वपूर्ण मानिन्छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजित फाइनलमा नेपालभरका युवा, खेलाडी, पूर्व सहभागी, सामुदायिक अगुवा तथा समर्थकको सहभागिता रहेको थियो ।


प्रतिक्रिया 4