३० जेठ, काठमाडौं । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्।
ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
दुर्घटना विमान एयरबेसमा अवतरण गर्ने प्रयास गरिरहँदा भएको हो । दुर्घटनालगत्तै विमानमा भयानक आगो लाग्यो र यो दुई टुक्रा भयो। यो एउटा एएन-३२ कार्गो विमान थियो, जसको प्रयोग सैनिक र सैन्य सामग्री ओसारपसार गर्न गरिन्छ।
दुर्घटनालगत्तै एयरबेसमा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गरियो र दमकल तथा सेनाका जवानहरूले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।
इन्डियन एयरफोर्सले विमान नियमित उडानमा रहेको बताएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। वायुसेनाले प्रारम्भिक नतिजा नआएसम्म कुनै अनुमान नलगाउन अपिल गर्दै घटनाको अनुसन्धानका लागि ‘कोर्ट अफ इन्क्वायरी’ को आदेश दिइएको जनाएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, भारतीय वायुसेना आफ्ना पुराना एएन-३२ र आईएल-७६ मालवाहक विमानहरूको फ्लिट बदल्ने तयारी गरिरहेको छ। भविष्यमा सैनिक, हतियार र सैन्य सामानको सुरक्षित ओसारपसारका लागि नयाँ ‘मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट’ खरिद गरिनेछ।
के हो एएन-३२ विमानको विशेषता?
भारतीय वायुसेनासँग हाल करिब १०० एन्टोनोभ एएन-३२ ट्याक्टिकल ट्रान्सपोर्ट विमानहरू प्रयोग भइरहेका छन् । सुरुमा सोभियत संघमा निर्मित १२५ वटा यस्ता विमान किनिएको थियो।
सन् १९८० देखि नै एएन-३२ ले वायुसेनाको ‘मिडियम-लिफ्ट ट्रान्सपोर्ट’ क्षमताको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तातो मौसम र हिमालय जस्ता उच्च तथा दुर्गम हिमाली क्षेत्रमा सञ्चालन गर्न सक्ने बलियो क्षमताका कारण यसलाई निकै महत्त्वपूर्ण मानिन्छ।
प्रतिक्रिया 4