+
+
Shares

पर्यटकीय स्थल मिक्लाजुङमा काव्य उत्सव

मिक्लाजुङ साहित्य समाज, मोरङको आयोजनामा सम्पन्न काव्य उत्सवमा कोसी प्रदेश र प्रदेशबाहिरका करिब ६० जना कविहरूले आ–आफ्ना कविता निरन्तर तीन घण्टासम्म सुनाए।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ जेठ ३० गते २०:५७

३० जेठ, सुनसरी । मोरङको उत्तरी पहाडी भेगमा पर्ने सुन्दर पर्यटकीय गाउँ मिक्लाजुङका स्थानीय बासिन्दाहरू पाहुना कविहरूको कवितामा तीन घण्टा मोहित भए। विभिन्न जिल्लाबाट बोलाइएका पाहुना कविहरूको कविता सुन्न मिक्लाजुङका बासिन्दा पालिकाको हलमा भेला भएका थिए।

काव्य उत्सवलाई मिक्लाजुङ गाउँपालिकाका प्रमुख बविकुमार राईले आधा शताब्दीअघि आयामेली कवि वैरागी काइँलाले सिर्जना गरेको ‘माया र मफलर’ शीर्षकको कविता वाचन गरेर औपचारिक उद्घाटन गरे।

कविता नलेख्ने मात्रै होइन, कहिल्यै वाचनसमेत नगरेका तर साहित्यप्रेमी मिक्लाजुङ गाउँपालिका प्रमुख राईले दर्शक-श्रोताले खचाखच भरिएको हलको मञ्चमा राखिएको पोडियममा उभिएर मोबाइलको स्क्रिनमा औँला चलाउँदै काइँलाको सदाबहार कविता सुनाए-

मेरो माया मफलर भए

बाँधिहिँड्थेँ गलामा !

कैलेकाहीँ त मन नहुँदा

टाँगिहिँड्थेँ किलामा !

उक्त कविता वाचनसँगै कार्यक्रम सञ्चालकले ‘मिक्लाजुङ काव्य उत्सव–२०८३’ को विधिवत् उद्घाटन भएको जनाउ दिएपछि विराटनगरकी कवि सीमा आभासले ‘चक्रवर्ती महाराजप्रति’ शीर्षकको कविता सुनाइन्।

मिक्लाजुङ साहित्य समाज, मोरङको आयोजनामा सम्पन्न काव्य उत्सवमा कोसी प्रदेश र प्रदेशबाहिरका करिब ६० जना कविहरूले आ–आफ्ना कविता निरन्तर तीन घण्टासम्म सुनाए।

‘पर्यटनसँगै साहित्य’ नाराका साथ सम्पन्न भएको काव्यिक उत्सवमा कविहरू भूपिन, निमेश निखिल, बिना थिङ, मुनाराज शेर्मा, सुन्दर कुरुप, शुभलक्ष्मी लम्साल, सुमित्रा वाङ्देल चेली, प्रकाश बुढाथोकी, देवान किराती, सुदीप पाख्रिन, सबिता फागो, नरेश काङ्माङ राई, चन्द्र गुरुङ, विनेश राई मिन्जाई, अमित थेबे, पराजित पोमु, टोलीप्रसाद राजवंशी र प्रकाश दिप्सालीले आफ्ना अब्बल कविताहरू सुनाए।

यसैगरी विवश बलिभद्र, भूपेन्द्र तिमल्सिना, कृष्ण काश्यप, अभागी थेगुवा, सेलिङ केसी, रुमानी कुलुङ, जेबी निखुन्त, अनिश राई, विराट किराती, केपी घिमिरे, युवराज ठकुरी, सुमन राई, राजकुमार सुब्बा, राज भट्टराई, निहाङ किराती, साङ्सेन पन्धाक, अबिलाल राई, प्रवेग हाङ्स्रोङ, दीपा मग्राती, किरण सिवालगायत कविहरूले पनि आफ्ना पछिल्ला सिर्जना पस्किए।

चितवनबाट मिक्लाजुङको काव्य उत्सवको निमन्त्रणामा आइपुगेका कवि भूपिनले भने, ‘भव्य ! यतिका धेरै कविहरू एकैठाउँ समेट्नु आयोजकका लागि जोखिम थियो। तर आज मेरो शङ्काले फेल खायो। अलिकति पनि बोरिङ भएन।’

पर्यटकीय स्थलका रूपमा विस्तार भइरहेको मोरङको मिक्लाजुङ–१, रमितेखोलास्थित ‘न्यु रमिते स्काई भ्यु’ मा आयोजित काव्य उत्सवमा मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता पर्वत राईले भने, ‘साहित्यमा भूगोल, समाज र संस्कृति स्वाभाविक रूपमा आउने भएकाले आगामी दिनहरूमा तपाईँहरूका सिर्जनामा समेत रमितेखोलाको सुवास मिसियोस्, जसले भर्खरै ‘राइज’ हुँदै गरेको यस पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस्।’

स्थानीय कवि गगन योक्पाङ्देनले सहजीकरण गरेको काव्य उत्सव सकिएपछि पालिका प्रमुख बविकुमार राईले भने, ‘आज अचम्मै भयो। साहित्यको पनि यति भव्य कार्यक्रम हुने रहेछ ! एकैपटक यतिका धेरै कविहरूलाई आफ्नै क्षेत्रमा सुन्न पाउनुलाई मैले अवसरका रूपमा लिएको छु।’

उनले कविहरूले वाचन गरेको कविताको प्रशंसा गर्दै आफूले सुनेका पाहुना कविहरूको कविताको व्याख्यासमेत गर्न भ्याए। उनी यतिमै अडिएनन्; आउने आर्थिक वर्षमा पालिकाले विशेष बजेटको व्यवस्था गरेर बृहत् साहित्य तथा पर्यटन महोत्सव गर्ने प्रतिबद्धता नै जनाए।

मिक्लाजुङ गाउँपालिका, मोरङ र अन्य शुभेच्छुकहरूको आर्थिक व्यवस्थापनमा भएको काव्य उत्सवका सभाध्यक्ष तथा मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरेले पाहुना कविहरूलाई बिदाइ गर्दै भने, ‘हाम्रो मिक्लाजुङलाई एकपटक जुरुक्क उठाइदिनुभयो। फेरि भेट्ने बाचा गर्दै तपाईँहरू सबैलाई धन्यवाद !’

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?