+
+
Shares

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सीसीटीभीले अपराध अनुसन्धान सहज

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १०:०२

३१ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजार क्षेत्र र सिद्धार्थ राजमार्ग आसपासको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ ।

नगरपालिकाले वडा प्रहरी कार्यालयसँगको सहकार्यमा मुख्य बजार र संवेदनशील स्थानमा उच्च क्षमताका सिसिटिभी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षाको निगरानी थप प्रभावकारी बनेको जनाएको छ ।

बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रविधिसँग जोड्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा विस्तार गरेको नगरपालिकाले जनाएको छ । सिद्धार्थ राजमार्ग र मुख्य बजार क्षेत्रका भीडभाड तथा संवेदनशील स्थानमा १८ वटा उच्च गुणस्तरका आइपी क्यामेरा जडान गरिएसँगै बजारको निगरानी प्रणाली थप सुदृढ बनेको हो ।

नगर प्रमुख कृष्ण खाँणका अनुसार नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ मा यस कार्यक्रमका लागि बजेट विनियोजन गरिएको थियो । स्थानीय सरकार, वडा प्रहरी कार्यालय र सरोकारवालाको सहकार्यमा बजारका प्रमुख चोक तथा संवेदनशील क्षेत्रमा क्यामेरा जडान गरिएको उनले बताए ।

सूचना प्रविधि अधिकृत कमल रेग्मीका अनुसार त्रियासी, रामबाच्छा, मिर्दी, जैसीपँधेरा, वालिङ मोड, तल्लो वालिङ, नयाँबजार, बीपी चोक, एसबीआई बैंक चोक, हस्पिटल चोक, भूने पुल क्षेत्र, भकुण्डे गेट, भेनस चोक, शिव मन्दिर र मदीखोला आसपासका स्थानमा निगरानी प्रणाली विस्तार गरिएको छ । वडा नम्बर ९ ले भुम्रे चोक र कृषि बैंक आसपास थप क्यामेरा जडान गरेको छ ।

प्रहरीका अनुसार क्यामेरा जडानपछि चोरी, सवारी दुर्घटना र अन्य आपराधिक घटनाको अनुसन्धानमा उल्लेखनीय सहयोग पुगेको छ । पछिल्ला केही घटनामा सिसिटिभी फुटेजकै आधारमा दुर्घटनामा संलग्न सवारीसाधन तथा हराएका बालबालिकाको खोजी गर्न प्रहरी सफल भएको बताइएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले अहिले जडान गरिएका क्यामेरामा ९० दिनसम्मको फुटेज सुरक्षित रहने व्यवस्था गरिएको बताए । उनका अनुसार बजारको अवस्था निरन्तर निगरानी गर्न, प्रहरी परिचालन प्रभावकारी बनाउन र सुरक्षा चुनौतीको मूल्याङ्कन गर्न यो प्रणाली उपयोगी बनेको छ ।

स्थानीय व्यवसायी र सर्वसाधारणले पनि सिसिटिभी विस्तारपछि बजार क्षेत्रमा चोरी, दुर्घटनापछि हुने विवाद तथा अवाञ्छित गतिविधिमा कमी आएको बताएका छन् । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रविधिको दीर्घकालीन उपयोगका लागि नियमित मर्मत सम्भारलाई पनि उत्तिकै महत्व दिनुपर्ने धारणा राखे ।

नगरपालिकाले आगामी दिनमा नागरिकको आवश्यकता र मागका आधारमा अन्य वडा तथा भित्री बजार क्षेत्रमा समेत सिसिटिभी निगरानी प्रणाली विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?