१ असार, काठमाडौं । चिया उद्योगीहरूको संस्था ‘टी एलायन्स अफ नेपाल’मा आवद्ध १६ उद्योगले असार ४ गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्ने भएका छन् ।
भारतीय बजारमा हाल लागु गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेको उद्योगीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
उद्योगहरूमा उत्पादित चिया थन्किने क्रम बढेको, दोहोरो परीक्षणले लागत उच्च बढेको, भण्डारणको समस्याले उद्योगी र किसानलाई असर पुगेको संस्थाका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी गराए ।
न्यौपानेका अनुसार निर्यात प्रक्रिया जटिल बन्दा बिक्री प्रभावित भएको छ, भने उत्पादन जारी राख्न आवश्यक पुँजी व्यवस्थापन गर्न समेत कठिन भइरहेको छ । चिया उद्योगहरूमा तयार चिया मौज्दात बढ्दै जाँदा किसानबाट हरियो पत्ती खरिद गर्ने क्षमता घट्दै गएको भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् ।
उद्योग सञ्चालनमा आएको दबाबका कारण किसानको उत्पादन, श्रमिकको रोजगारी र ग्रामीण अर्थतन्त्र नै प्रभावित हुने जोखिम बढेको संस्थाको भनाइ छ ।
चिया उत्पादकहरूको संस्था टानले गुणस्तर परीक्षण र खाद्य सुरक्षालाई समर्थन गरे पनि व्यापारिक गतिविधिलाई अवरुद्ध गर्नेगरि लागु गरिएका प्रक्रियाहरू पुनरावलोकन हुनुपर्ने धारणा राखेको छ । संस्थाले सरकारलाई कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न तथा नेपाली चियाका लागि नयाँ र दिगो अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
युरोप, अमेरिका, चीन, जापान, दक्षिण कोरिया तथा मध्यपूर्वका सम्भावित बजारहरूमा नेपाली चियाको पहुँच विस्तार गर्न राष्ट्रिय रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
एक मात्र बजारमा अत्यधिक निर्भरता हुँदा यस्ता संकट बारम्बार दोहोरिन तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
समयमै समाधानको पहल नभए असार ४ गतेदेखि टानमा आबद्ध १६ उद्योगले उत्पादन तथा प्रशोधन कार्य बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
उद्योग बन्द भएमा हजारौं किसानको आयआर्जन, श्रमिकको रोजगारी र चिया क्षेत्रको समग्र आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने उद्योगीहरूको भनाइ छ ।

प्रतिक्रिया 4