३ असार, काठमाडौं । भरतपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय र कानुन बेवास्ता गर्ने २९ सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले बुधबार सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत: रद्द भएको घोषणा गरेको हो ।
यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था छन् ।
महानगरपालिकाका अनुसार खारेजीमा परेका सहकारी संस्थाले तोकिएको न्यूनतम कानुनी प्रक्रिया र दायित्व समेत पूरा गरेका थिएनन् ।
कानुनत: सहकारी संस्थाले आफ्नो कारोबारलाई सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा मासिक र वार्षिक रूपमा अद्यावधिक गर्नुपर्ने, आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र लेखा परीक्षण गराउनुपर्ने र ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
तर, ती संस्थाले साधारणसभा र लेखा परीक्षण नगरेको तथा तिनको प्रतिवेदन नियामक निकाय (महानगरपालिका) लाई नबुझाएको महानगरले बताएको छ ।
सहकारीहरूले नियम पालना नगरेपछि महानगरपालिकाले सम्बन्धित जनप्रतिनिधिको रोहवरमा स्थलगत अनुगमन समेत गरेको थियो ।
अनुगमन क्रममा ती संस्थाको कार्यालय नै फेला नपरेको, सञ्चालक समितिका पदाधिकारीहरू सम्पर्कविहीन रहेको र लगातार दुई वर्षभन्दा बढी समयदेखि कुनै पनि आर्थिक कारोबार नगरी संस्थाहरू पूर्णरूपमा निष्क्रिय अवस्थामा रहेको निष्कर्ष निकालिएको थियो ।
यसरी चरम लापरबाही र निष्क्रियता देखिएपछि महानगरपालिकाले ‘भरतपुर महानगरपालिका सहकारी ऐन २०७५’ को परिच्छेद १४ को दफा ६६ को उपदफा ३ बमोजिम खारेजी प्रक्रिया अघि बढाएको थियो ।
खारेजीअघि महानगरले १७ वैशाखमा स्थानीय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी १५ दिनभित्र संस्था खारेजी गर्नु नपर्ने मनासिव कारण भए प्रमाण सहित विवरण पेस गर्न अन्तिम मौकासमेत दिएको थियो ।

तर, दिइएको म्यादभित्र कुनै पनि सहकारीले विवरण पेस नगरेको र सम्पर्कमा समेत नआएपछि १ असारको निर्णय अनुसार महानगरपालिकाले उनीहरूको दर्ता औपचारिक रूपमै खारेज गरेको हो ।
खारेजीमा परेका सहकारी संस्थामा ठिमुरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, धौलाश्री कृषि सहकारी संस्था लिमिटेड, सालघारी जडीबुटी उत्पादक सहकारी संस्था लिमिटेड, कृष्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सुरभी कृषि सहकारी संस्था लिमिटेड, क्रियाशील कृषि सहकारी संस्था लिमिटेड, समर्पण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, संयुक्त दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड छन् ।
त्यसैगरी मंगलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड, प्रसिद्ध जडीबुटी सहकारी संस्था लिमिटेड, सहज कृषि सहकारी संस्था लिमिटेड, हस्तविर हिमाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, भुवनबस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, आदर्श दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, शारदानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, शंखर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, स्वयं सहायता कृषि सहकारी संस्था लिमिटेड र त्रिगाउँ कृषि सहकारी संस्था लिमिटेड पनि यही सूचीमा छन् ।
यसका साथै रंगिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, केरुङ्गा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, पौरखी महिला कृषि सहकारी संस्था लिमिटेड, सूर्यरत्न दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सुनौलो बिहानी महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, सिर्जनशील मौरीपालन सहकारी संस्था लिमिटेड, शुक्रनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, मनोकामना कालिका दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, दिव्य ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेड र तेलौली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड गरी २९ सहकारी संस्थाको दर्ता खोरज गरिएको छ ।
संस्था खारेजीमा परे तापनि ती सहकारी संस्थाले तिर्नुपर्ने वा बुझाउनुपर्ने कुनै दायित्व बाँकी रहे त्यसबाट सञ्चालकहरू उम्किन नपाउने महानगरले प्रष्ट पारेको छ ।
त्यस्तो दायित्वको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाका सञ्चालक तथा पदाधिकारीहरूले नै व्यक्तिगत रूपमा लिनुपर्ने र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
साथै, महानगरपालिकाले सम्बन्धित सेयर सदस्य लगायत सम्पूर्ण सरोकारवालालाई ती संस्थासँग कुनै रकम लिनु–दिनुपर्ने भए सम्बन्धित संस्थाकै सञ्चालक वा पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क राख्न सूचित गरेको छ ।
प्रतिक्रिया 4