+
+
Shares
द्वन्द्वमा यौनहिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस :

यौनहिंसाको घाउ र गरिबीको बोझ बोकेरै दुई दशकदेखि न्याय कुरिरहेछु

अपराध हामीमाथि भयो, सजाय हामीले भोग्यौं

हामीले कुनै अपराध गरेका थिएनौं। तर द्वन्द्वकालको हिंसा, बलात्कार, हत्या र अपमानको बोझ हामीले नै बोक्यौं। दुई दशक बितिसक्दा पनि हाम्रो घाउमा मल्हम लगाउने न्याय अझै आएको छैन। हामी दोषी होइनौं, पीडित हौं– र आज पनि सत्य, न्याय र सम्मानको प्रतीक्षामा छौं।

अपराजिता अपराजिता
२०८३ असार ५ गते १९:०४

कुरा २०५९ साल दशैंतिरको हो । गाउँमा स्कुल थिएन । कक्षा १० मा पढ्ने मेरो दाइ गाउँबाहिर जानु भएको थियो । दुई जना साथीहरूसँगै पढ्न पठाइएको थियो। त्यही क्रममा उहाँको केही मानिसहरूसँग चिनजान भयो, भेटघाट हुन थाल्यो र पछि उहाँ माओवादी आन्दोलनतर्फ लाग्नुभयो।

दाइ गएको केही महिनापछि हाम्रो परिवारमाथि दबाब बढ्न थाल्यो। सुरक्षाकर्मीहरू घरमा आएर आमालाई भन्थे, ‘तेरो छोरालाई बोला।’

आमाले परम्परागत पहिरन लगाउनुहुन्थ्यो, जहाँ गए पनि सबैले चिन्न सक्थे। खेतबारीमा भेटे पनि उहाँलाई पिट्ने गरिन्थ्यो। पछि चिनिन नपरोस् भनेर पहिरनसमेत परिवर्तन गर्न बाध्य हुनुभयो। त्यसपछि अलि सहज भयो। नत्र आमाले सधैंजसो कुटपिट सहनुपर्थ्यो।

सुरक्षाकर्मीहरूले हाम्रो परिवारमाथि झन् बढी दबाब दिन थाले। ‘यो घरका छोरीहरू माओवादी हुन्’ भनेर आरोप लगाउँथे। गाउँका मानिसहरूले भने बारम्बार ‘यी निर्दोष छोरीहरू हुन्’ भनेर सम्झाउँथे। तर कसैले सुनेन।

एकदिन आमामाथि यौन हिंसा गरे । हामीले प्रतिकार गर्न खोज्यौं । सकेनौं । पल्लो घरको काकीमाथि बलात्कार भयो । 

आमाले हामीलाई भाग्न भन्नुभयो । हामी भाग्न सकेनौं । आमामाथि पालैसँग बलात्कार गरे । अनि हामीमाथि झम्टिए । तीनवटै घरका महिलाहरूलाई बलात्कार गरे । पुरुषहरूलाई निर्घात कुटपिट गरे । 

मेरो भाउजू र दाइ त्यहीँ हुनुहुन्थ्यो। दाइ र भाउजूलाई सुताएर चार जना आर्मीले पालैपालो बलात्कार गरेका थिए। त्यो दृश्य मैले आफ्नै आँखाले देखेकी हुँ। मेरो दाइ, बुवा र परिवारका अन्य सदस्यहरूले पनि त्यो सबै देखेका थिए।

त्यसपछि उनीहरू फर्किएर गएका थिए। तर फेरि दिनदिनै आउँथे। एक दिन एउटा फौजी अधिकृतले भने, ‘यी त छोरीहरू हुन्, यस्तो व्यवहार नगर्नुहोस्।’ त्यस दिन उनीहरूले छोडे। तर त्यसपछि पनि तीन दिनसम्म उनीहरू फेरि आइरहन्थे ।

हामीमाथि पटकपटक यौन हिंसा भयो । त्यो पनि पासविक तरिकाले ।

आर्मीहरू गाडी र ट्रकमा आउँथे।

एकदिन मेरी भाउजूलाई घरमै सबैका अगाडि बलात्कार गरे । दाइ, बुबा र अन्य परिवारका सदस्यहरू त्यहीँ थिए। हामी सबैमाथि त्यस्तो भयो । हामीमाथि भएको हिंसा र भाउजूले भोग्नुपरेको पीडा परिवारका सबैले आफ्नै आँखाले देखेका थिए।

भाउजूलाई भने अलि बढी नै दुःख दिन्थे, हामीलाई भन्दा। हाम्रा शरीरका विभिन्न अंगहरू छुने, जिस्क्याउने र दुर्व्यवहार गर्ने काम भने गरिरहन्थे। उनीहरूको व्यवहार नै त्यस्तै थियो।

आमालाई लोकलाजको डर थियो । उहाँले सबैलाई भन्नुभयो- यो छोरी त्यो दिन घरमा थिइन । भागेर जंगल गएकी थिई र बची । 

मलाई कहिलेकाहीँ लाग्थ्यो, उनीहरूका पनि त छोरी होलान्, आमा होलान्, बहिनी होलान्। कसरी यस्तो गर्न सके होलान् ?

परिवारका सबै सदस्य सँगै राखेर यस्तो व्यवहार कसरी गर्न सक्छन् ? एक नेपालीले अर्को नेपालीलाई यस्तो कसरी गर्न सक्छन् ?

त्यो घटना भएपछि मेरी आमाको मन निकै भाँचिएको थियो। एक दिन उहाँले सबैलाई एउटै थालमा खाना राखेर भन्नुभयो, ‘अब मर्ने औषधि हालेर सबै जना एक–एक गाँस खाऔँ र सँगै मरौँ।’

आमाले साँच्चै पसलबाट विष किनेर ल्याउनुभएको थियो। तर नजिकैको पसले परिवारले सम्झायो, ‘यस्ता घटना धेरैलाई भएका छन् दिदी, यस्तो नगर्नुस्। तपाईंको त आधा जीवन बितिसक्यो, तर यी बच्चाहरू त भर्खर हुर्कँदै छन्। यिनको भविष्य बाँकी छ। बलात्कार पीडित भएको कुरा कतै लेखेर हिँड्नुपर्दैन। यिनले आफ्नो जीवन बनाउन सक्छन्।’

उनीहरूले धेरै सम्झाएपछि आमाले त्यो निर्णयबाट पछि हट्नुभयो ।

घरमा छोरीहरू र बुहारीमाथि यस्ता घटना भए। पुरुषहरूलाई भने लाठीले कुटपिट गरिन्थ्यो। बुबा, दाइ र काकाहरू पनि त्यसको सिकार हुनुभयो।

आमाले विष खाऔँ भन्नुहुँदा हामी पनि साना थियौँ। हामीलाई लाग्थ्यो, ‘मम्मी मर्नुभयो भने हामी पनि मर्छौँ।’ आमाबुबा नै नरहेपछि हामी कहाँ जाने ? त्यही सोचेर रोइरहन्थ्यौँ।

००० ०००

दाइ २०५९ सालतिर घर छोडेर जानुभएको थियो। त्यसपछि १० जेठ २०६२ मा उहाँ मारिनुभयो। उहाँसँगै ७ जना साथीहरू मारिए ।

अलिकति समय बाँचेको भए शान्ति प्रक्रियाको समयसम्म बाँच्न सक्नुहुन्थ्यो। शान्ति सम्झौता त त्यसको केही समयपछि नै भयो।

दाइसँगै उहाँका सातै जनालाई गोली हानी हत्या गरिएको थियो। दाइको शव अत्यन्त क्रूरतापूर्वक क्षतविक्षत बनाइएको थियो। अनुहारमा ग्रिनेट विस्फोट गराएका थिए र थप आक्रमणका कारण शरीर टुक्राटुक्रा भएको थियो। अनुहारसमेत चिन्न गाह्रो बनाइएको थियो। त्यो घटना कञ्चनपुर–डडेलधुरा सीमाक्षेत्र नजिकैको पहाडी क्षेत्रमा भएको थियो। हाम्रो गाउँका सबै मानिसलाई यो घटना थाहा छ।

००० ०००

त्यो घटना भएको करिब एक वर्षपछि मेरो विवाह भयो। त्यसबेला म १६ वर्षकी थिएँ। अवस्था केही शान्त भइसकेपछि केटापक्षबाट कुरा आएको थियो। उनीहरूले मेरा बुबासँग ‘छोरीको बारेमा सबै कुरा थाहा छ, दिनुहुन्छ कि दिनुहुन्न ?’ भनेर सोधेका रहेछन्। बुबाले ‘पहिले छोरीसँग सल्लाह गर्छु’ भन्नुभएको थियो।

कहिलेकाहीँ घरपरिवारमा पनि तनाव हुन्थ्यो। तर अन्ततः मेरा आमाबुबाले एउटा कुरा भन्नुहुन्थ्यो- ‘धनसम्पत्तिभन्दा असल मान्छे ठूलो कुरा हो।’ त्यही सोचका साथ उहाँहरूले मेरो विवाह गरिदिनुभयो।

हाम्रो सहमतिमा विवाह भएको हो। मेरा श्रीमान् मभन्दा करिब पाँच वर्ष जेठो हुनुहुन्थ्यो।

त्यसपछि गाउँमा विभिन्न किसिमका कुरा हुन थाले। केही महिलाहरूले मेरो श्रीमान्लाई समेत ‘यस्तो घटना भोगेकी महिलासँग किन विवाह गरिस् ?’ भनेर कुरा काट्ने गर्थे। तर उहाँले सधैं मेरो साथ दिनुभयो। उहाँको जवाफ हुन्थ्यो, ‘उनी दोषी होइनन्, पीडित हुन्। म यहीसँग विवाह गर्छु।’

मेरो श्रीमान्ले पनि जीवनमा धेरै दुःख भोग्नुभएको छ। उहाँमाथि पनि द्वन्द्वकालमा गोली लागेको थियो। मेरो विवाह भएको एक वर्षअघि नै श्रीमान्माथि गोली प्रहार भएको थियो।

उहाँका बुबा एक स्थानीय जमिन्दारको घरमा हलिया काम गर्नुहुन्थ्यो। एक दिन त्यहाँबाट चामल बोकेर फर्किँदै गर्दा नजिकै विस्फोट भयो। सुरक्षाकर्मीहरू त्यहाँ पुगे र शंकाको आधारमा गोली चलाए। गोली उहाँको पेटमा लाग्यो। ज्यान त जोगियो, तर पेटमा गम्भीर चोट लाग्यो। अहिले पनि त्यसको असर बाँकी छ।

अहिले पनि पूर्ण रूपमा काम गर्न सक्नुहुन्न। पहिले मजदुरी र खेतीपाती गर्नुहुन्थ्यो, अहिले सानो पसलमा काम गर्नुहुन्छ।

मेरो श्रीमान् पनि त्यस्तै असल स्वभावको मानिस हुनुहुन्छ। गाउँका जोसुकैलाई सोध्नुभयो भने उहाँबारे राम्रो कुरा मात्र सुन्नुहुनेछ। जीवनमा दुःख धेरै भए पनि भगवान्ले तीन जना सन्तान दिनुभएको छ। त्यही नै मेरो सबैभन्दा ठूलो धन हो।

मेरा दिदीबहिनीहरू आ–आफ्नो परिवारमा बस्नुहुन्छ। हामी सबैले जीवनमा धेरै संघर्ष गरेका छौँ।

मलाई लाग्छ, दुःखको पनि आयु हुँदोरहेछ। धेरै दुःख भोगेपछि कहिल्यै न कहिल्यै राहतको दिन आउँदो रहेछ। गाउँका मानिसहरूलाई पनि हाम्रो अवस्था थाहा छ। उनीहरू भन्छन्, ‘सरकारले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो।’

विवाहपछि संयुक्त परिवारमा बस्यौँ। पछि देवरहरूको विवाह भयो, उनीहरू आ–आफ्नो बाटो लागे। धेरै संघर्ष गरेर, ऋण काढेर विदेश पठाएका देवरहरूले विदेशमा काम गरेर जग्गा–जमिन किन्ने, घर बनाउने काम गरे।

पछि सम्पत्तिको विषयमा विवाद पनि भयो। तर हामीसँग आफ्नै नाममा लालपुर्जा भएको जग्गा थिएन। बुबाले भन्नुहुन्थ्यो, ‘मेरो छोरीसँग बस्ने घर पनि छैन, उठ भन्यो भने कहाँ जान्छे ?’

हामी बसेको ठाउँमा न धारा थियो, न शौचालय। आधारभूत सुविधा पनि थिएनन्।

पछि लामो समयसम्म मेरो पीडा कसले बुझ्ला, मेरो आवाज कसले सुनिदेला भन्ने लागिरह्यो। त्यही क्रममा म जस्तै युद्धमा बलात्कार पीडित साथीहरू संगठित हुनुभएको रहेछ । त्यसैमध्येको एकजना आउनुभयो । गाउँका मानिसहरूले पनि ‘खुला रूपमा बोल, जे भोगेकी छस् त्यो सबै भन, हामी साथ दिन्छौँ’ भने।

त्यसपछि मैले आफ्नो कथा खुलेर भन्न थालेँ। मलाई डर लागेन। मैले भोगेको घटना जस्तो थियो, त्यही सत्य कुरा सुनाएँ।

त्यसपछि म आफैंजस्ता पीडित महिलाहरूसँग जोडिएँ। संगठनमा आबद्ध भएँ। त्यहाँ पुगेर आफ्ना अनुभव साटासाट गर्दा मन केही हल्का भयो, केही शान्ति पनि मिल्यो।

म जस्तो पीडा भोगेका मानिसहरू त धेरै रहेछन् भन्ने कुरा पछि थाहा पाएँ। सुरुमा त हामी चार दिदीबहिनी र भाउजूलाई मात्र यस्तो भएको हो जस्तो लाग्थ्यो। तर अन्य पीडितहरूसँग भेट भएपछि आफू एक्लो नभएको महसुस भयो। त्यसले केही हदसम्म चित्त बुझाउन मद्दत गर्‍यो।

मैले यो कुरा श्रीमान्लाई पनि भनेकी थिएँ। उहाँले भन्नुभयो, ‘तिमी मात्र होइनौ, संसारमा यस्ता घटना धेरै मानिससँग भएका छन्। बितेका कुरा फेरि किन कोट्याइरहनु ?’

पहिलो पटक धनगढी जाँदा मैले आफ्ना कुरा खुलेर राखेँ। त्यहाँका साथीहरूले पनि ‘केही न केही त अवश्य हुनेछ, न्यायका लागि अगाडि बढ्नुपर्छ’ भनेर हौसला दिए। त्यतिबेला मसँग यात्रा खर्चसमेत थिएन। साथीहरूले टिकटको व्यवस्था गरिदिनुभयो र कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो।

पछि उहाँहरूले मेरो अवस्था देखेर विभिन्न ठाउँबाट सहयोग जुटाएर थोरै भने पनि पशुपालन गरन् सहयोग गर्नुभएको छ । यसले मेरो मनमा नयाँ आशा पलाएको छ।

जब मेरो नाम सहयोगका लागि छनोट भएको खबर आयो, म अत्यन्त भावुक भएँ। त्यो खबर सुनेर मलाई भगवान् नै मेरो सहायताका लागि आउनुभएको जस्तो लाग्यो। श्रीमान्लाई सुरुमा विश्वास लागेको थिएन। तर फोनमा भएको कुराकानी सँगै बसेर सुनेपछि मात्र उहाँले पत्याउनुभयो।

सहयोगको रकम खातामा आएपछि उहाँ खुसीले रुनुभयो। त्यो दुःखको होइन, खुसीको आँसु थियो।

यसबाट केही आम्दानी होला, घरखर्च चलाउन, छोराछोरीको पढाइमा सहयोग पुग्ला भन्ने लागेको छ। अरूको अगाडि हात फैलाउनुभन्दा आफ्नै मेहनतले केही गर्न पाए राम्रो हुन्थ्यो भन्ने मेरो चाहना हो।

मानिसले कमाएरै सबै आवश्यकता पूरा गर्नुपर्छ। चामल, नुन, तेल, खुर्सानी किन्नैपर्छ। तर हाम्रो आफ्नै खेती गर्ने जमिन पनि छैन। त्यसैले जीवन झन् कठिन छ।

श्रीमान् मलाई हौसला दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘केही न केही गरेर अगाडि बढ्न सकिन्छ। बाख्रापालनबाट आम्दानी भएन भने बेचेर सानो पसल खोलौँला। विस्तारै आम्दानी बढ्दै जाला।’

मेरो कान्छो छोरा अहिले कक्षा १० मा पुगेको छ। तर आर्थिक अवस्थाका कारण अब सबैलाई पढाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता छ। जेठा छोराहरू काममा लागिसकेका छन्। अहिले छोरीको पढाइलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच छ।

मलाई लाग्छ, दुःखको पनि आयु हुँदोरहेछ। धेरै दुःख भोगेपछि कहिल्यै न कहिल्यै राहतको दिन आउँदो रहेछ। गाउँका मानिसहरूलाई पनि हाम्रो अवस्था थाहा छ। उनीहरू भन्छन्, ‘सरकारले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो।’

गाउँका धेरै मानिसहरूले शुभकामना दिन्छन्। ‘प्रगति गर, अगाडि बढ, तिमीले पाएको अवसर सफल होस्’ भनेर आशिष दिन्छन्। म जहाँ जान्छु, उनीहरूले उत्साह थपिदिन्छन्।

गाउँका मानिसहरूले पनि मलाई विभिन्न काममा अवसर दिन खोजिरहेका छन्। ‘काम सानो भए पनि केही आम्दानी हुन्छ, घरखर्च चलाउन सहयोग पुग्छ’ भन्ने उनीहरूको सोच छ। अहिले निर्माणाधीन योजनामा पनि मलाई काम दिलाउन पहल भइरहेको छ।

पहिले गाउँमा केही मानिसहरूले नराम्रा कुरा गर्थे। तर अहिले धेरैले सत्य कुरा बुझिसकेका छन्। पीडितलाई दोष दिनु हुँदैन भन्ने चेतना विस्तारै बढेको छ।

यद्यपि कहिलेकाहीँ केही मानिसहरूले पुराना घाउ कोट्याउने गर्छन्। त्यस्ता कुरा सुन्दा परिवारलाई दुःख लाग्छ। तर मैले अब आफूलाई दोषी ठान्न छोडेकी छु। मैले कुनै गल्ती गरेकी थिइनँ। म हिंसाको सिकार भएकी थिएँ।

गरिबीले पनि जीवन झन् कठिन बनाएको छ। राम्रो लुगा लगाउन नसक्ने, आधारभूत सुविधा नहुने, अर्काको धारामा नुहाउन जानुपर्दा लाज लाग्ने अवस्था छ। कहिलेकाहीँ जीवनप्रति नै निराशा जाग्छ। तर फेरि छोराछोरीको अनुहार सम्झेर आफूलाई सम्हाल्छु।

तिहार जस्ता चाडपर्वमा पनि बच्चाहरूले मासु खान खोज्छन्। तर पैसा नहुँदा त्यो इच्छा पूरा गर्न सकिँदैन। त्यस्ता बेला मन धेरै दुख्छ। मजदुरीको पैसा पनि समयमै नपाउँदा झन् समस्या हुन्छ।

मेरो श्रीमान् पहिले खेतीपाती र शारीरिक श्रमका काम गर्नुहुन्थ्यो। तर अहिले स्वास्थ्य समस्याका कारण धेरै काम गर्न सक्नुहुन्न। त्यसले घरको आर्थिक भार अझ बढेको छ।

आजसम्म उहाँले द्वन्द्वकालमा भोग्नुपरेको पीडाका लागि कुनै राहत वा सरकारी सहयोग पाउनुभएको छैन। न त कुनै आधिकारिक सूचीमा उहाँको नाम छ। हामीलाई धेरै प्रक्रिया र अवसरहरूको जानकारीसमेत थिएन।

घटना भएको मिति, महिना वा वर्षसमेत अहिले ठ्याक्कै सम्झना छैन। हामी अशिक्षित थियौँ। तर त्यो दिनको पीडा भने कहिल्यै बिर्सन सकिँदैन।

आज पनि कहिलेकाहीँ ती दृश्यहरू आँखाअगाडि आउँछन्। तर अब मेरो चाहना एउटै छ- छोराछोरीले हामीले जस्तो दुःख नपाऊन्। उनीहरूले पढून्, अघि बढून् र सम्मानका साथ बाँच्न सकून्।

मलाई विश्वास छ, कसैले न कसैले साथ दिन्छ। यही विश्वासले आजसम्म बाँच्न र संघर्ष गर्न शक्ति दिएको छ।

(द्वन्द्वमा यौनहिंसा खेपेकी एक सर्भाइभरसँग कुराकानीमा आधारित । उनको नाम परिवर्तन गरेर अपराजिता राखिएको हो ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?