+
+
Shares

नेपाली युवा जोडिएको एआई कम्पनीले जुटायो साढे तीन अर्ब रुपैयाँ बढीको लगानी

सुवेदी हार्वर्ड विश्वविद्यालयमा एआई प्रयोग गरी कोड भेरिफिकेशन सम्बन्धी अनुसन्धान गरिरहेका थिए । अनुसन्धानका क्रममा अर्को प्रख्यात विश्वविद्यालय स्ट्यानफोर्ड गएका बेला हुसैनसँग उनको भेट भएको थियो ।

रोयटर्स तथा एजेन्सीहरू रोयटर्स तथा एजेन्सीहरू
२०८३ असार ५ गते २१:५०
आदित्य सुवेदी

नेपाली प्रविधि उद्यमी आदित्य सुवेदी र क्यानडाका इब्राहिम हुसेन मिलेर खोलेको आर्किटेक्ट ल्याब्सले कस्टम चिप्स बनाउन २ करोड ४० लाख डलर जुटाउन सफल भएको छ । नेपाली रुपैयाँमा यो करिब तीन अर्ब ६२ करोड बराबर हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार १९ वर्षीय सुवेदी र हुसेनले तयार गर्ने चिप्स प्रख्यात कम्पनी ब्रोडकम र यसको प्रतिस्पर्धी मार्भेलले अमेजन र अल्फाबेटको गुगलजस्ता क्लाउड कम्प्युटिङ कम्पनीहरूका लागि कस्टम एआई र अन्य सामान्य प्रयोजनका कम्प्युटिङ चिप्स डिजाइन गर्न मद्दत गर्छन् ।

इब्राहिम हुसेन र आदित्य सुवेदी

मार्भेल र ब्रोडकमले डिजाइन गरेका यी कस्टम चिप्सले अर्बौं डलरको आम्दानी सिर्जना गर्ने र एनभिडियाको शक्तिशाली हार्डवेयरको विकल्प प्रदान गर्ने रोयटर्सले जनाएको छ ।

सुवेदी काठमाडौं काँडाघारीको अक्षरा स्कुलबाट १० कक्षासम्म, अनि आइबी युलेन्सबाट १२ कक्षा पास गरी हार्वर्ड गएका थिए ।

सुवेदी हार्वर्ड विश्वविद्यालयमा एआई प्रयोग गरी कोड भेरिफिकेशन सम्बन्धी अनुसन्धान गरिरहेका थिए । अनुसन्धानका क्रममा अर्को प्रख्यात विश्वविद्यालय स्ट्यानफोर्ड गएका बेला हुसैनसँग उनको भेट भएको थियो ।

हुसैनले १५ वर्षको उमेरमै कलेजमा भर्ना हुन विद्यालय छाडेका थिए र पछि एप्पल र टेस्लामा कस्टम चिप डेभलपमेन्टमा काम गरेका थिए। सुवेदीसँग मिलेर उनले यो नयाँ कम्पनी खडा गरेका हुन् ।

उनीहरू दुवै मिलेर अनुसन्धान चिप डिजाइन र प्रमाणीकरणका लागि एआइ प्रणाली बनाउन सहकार्य गरे । जब एआईको प्रगति र त्यसलाई समर्थन गर्ने हार्डवेयरको विकासबीचको दूरी देखे, तब उनीहरूले पढाइ छोडेर आर्किटेक्ट ल्याब्स सुरु गरे ।

आर्किटेक्ट ल्याब्सले यो डिजाइन प्रक्रियालाई सस्तो र छिटो बनाउने लक्ष्य राखेको छ, जसमा हाल करिब दुई वर्षको समय लाग्ने आकलन गरिएको छ । श्रम लागत तथा अनुसन्धान र विकासमा थप करोडौं खर्च हुनसक्ने सुवेदी र हुसेनले जानकारी दिएका छन् ।

कम्पनीले चिप निर्माता कम्पनीहरूलाई डिजाइन प्रक्रिया तीव्र बनाउन मद्दत गर्ने मात्र नभई, आफ्ना एप्लिकेसनहरूलाई अझ छिटो वा बढी प्रभावकारी रूपमा सञ्चालन गर्न कस्टम चिप्स प्रयोग गर्न चाहने सफ्टवेयर कम्पनीहरूलाई पनि लक्षित गर्ने योजना बनाएको आर्किटेक्टका सह-संस्थापक इब्राहिम हुसेनले रोयटर्सलाई बताएका छन् ।

‘आज ती ठूला कम्पनीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या ब्याकइन्ड एक्जिक्युसन वा लेआउट मात्र होइन,’ हुसेनले भने, ‘उनीहरूको सबैभन्दा ठूलो चुनौती भनेको आफूले संसारलाई प्रदान गर्न चाहेको कार्यभार- चाहे त्यो एआई होस् वा रोबोटिक्स वा त्यस्तै अन्य कुरा- त्यसलाई कसरी व्यवस्थापन गर्ने र त्यसका लागि आवश्यक (चिप) आर्किटेक्चर कसरी तयार गर्ने भन्ने हो ।’

पालो अल्टो, क्यालिफोर्नियामा आधारित यो कम्पनी हुसेन र आदित्य सुवेदीद्वारा स्थापना गरिएको हो र यसमा मेसिन लर्निङ र हार्डवेयर क्षेत्रका गरी करिब १८ जना कर्मचारी कार्यरत छन्।

ताइवानको टीएसएमसीले चिप उत्पादनलाई जसरी सर्वसुलभ बनाएको छ, चिप डिजाइनलाई पनि त्यस्तै सुलभ बनाउनु नै आफ्नो उद्देश्य रहेको सुवेदीले बताए।

कम्पनीको यो फन्डिङ राउन्डको नेतृत्व किन्ड्रेड भेन्चर्सले गरेको थियो र यसमा टिक्यु भेन्चर्स, रेस क्यापिटल र टुगेदर फन्ड समावेश थिए। गुगल डीपमाइन्डका मुख्य वैज्ञानिक जेफ डिनका साथै ओपनएआई र एनभिडियाका कार्यकारीहरूले पनि यस कम्पनीमा लगानी गरेका छन्।

आर्किटेक्ट ल्याब्सले विभिन्न कम्पनीहरू, एआइ अनुसन्धानशालाहरू र राष्ट्रहरूसँग साझेदारी गरेर जटिल कम्प्युटिङ कार्यभारका लागि विशेष रूपमा बनाइएका चिपहरू तयार गर्ने जानकारी दिएको छ ।

चिप डिजाइन आज पनि प्रविधि क्षेत्रका सबैभन्दा कठिन र सीमित पहुँच भएका कार्यहरूमध्ये एक मानिन्छ । यसका लागि वर्षौंको विकास प्रक्रिया, करोडौँ डलरको लगानी र केही सीमित कम्पनीहरूमा केन्द्रित विशेषज्ञहरूको आवश्यकता पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?