६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा हुँदै गरेको प्रथम महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधी तथा शुभेच्छुकहरुका कारणले भरतपुरका अधिकांश होटल भरिएका छन् ।
रास्वपाको महाधिवेशन भोली असार ७ गतेदेखि ९ गतेसम्म भरतपुर महानगरपालिका १० मा हुन लागेको छ । रास्वपाको महाधिवेशन जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेस्ट हाउस चौरमा हुँदैछ भने, बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुँदैछ ।
रास्वपाको उद्गम आधार विन्दु नै चितवन भएकोले भविश्यसम्मका अविश्मरणीय बनोस् भनेर नै चितवनलाई पहिलो महाविधेशनस्थलका रुपमा रोजिएको सो पार्टीका नेताहरुले बताउँदै आएका छन् । सो पार्टीको महाविधेशनमा भाग लिन देशका विभिन्न जिल्ला, प्रवास तथा विभागहरुबाट प्रतिनिधीहरु चितवन आउन लागेकोले अधिकांश होटलहरू बुकिङ भैसकेका छन् ।
महाधिबेशनमा ३ हजारदेखि ३५ सयसम्म प्रतिनिधी, भोलेन्टिर्यसहरू, कार्यकर्ताहरु, पर्यवेक्षक तथा अन्य शुभेच्छुकहरू चितवन आउँदैछन् । कपितय शुक्रबार साँझ देखि नै आउन थालेका छन् ।
भरतपुरका अलवा, गैंडाकोट, सौराहा र टाँडीमा समेत होटलहरु बुकिङ गरिएका छन् । समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार र युटुबरहरुको लर्को पनि भरतपुरमा लागेको छ । महाधिवेशन प्रतिनिधी, नेता, कार्यकर्ता र अन्य व्यक्तिहरु आउने क्रमसँगै यहाँका होटल तथा रेष्टुरेन्टहरूमा भिडभाड देखिन थालेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुरमा रहेको दियालो फुडल्याण्डका कार्यकारी निर्देशक रमेश अधिकारीले महाविधेशन नजिकिएसँगै होटलमा ६० जना बस्ने मिल्ने कोठाहरु बुकिङ्ग भैसकेको जनाउँदै रेष्टुरेन्टको ब्यापार बढ्न थालेको बताए ।
दियालोमा १९ वटा कोठा पछिल्लो ५ दिन यता सबैजसो बुकिङ्गमा छन् । रास्वपाका अधिकांश नेता कार्यकर्ताहरु दियालोमा नै बस्नका लागि आउने गरेको तर आफू कहाँ कोठा नभएको अधिकारीले बताए । ‘मैंले थाहा पाए अनुसार भरतपुरका कुनै पनि होटलका कोठा खाली छैनन्, सबै कम्तीमा पनि ४ दिनका लागि बुकिङ भएका छन्’, प्रबन्ध निर्देशक अधिकारीले भने, ‘रास्वपाले चितवनलाई पहिलो महाधिवेशनस्थल बनाएर असाध्यै महत्वपूर्ण काम गरेको महसुस गरेका छौं, देशभरबाट पाउने पाहुनाहरुलाई भरतपुर चितवनले आतिथ्यतामा कुनै कमी गर्न हुँदैन ।’
हाकिमचोकमा रहेको सिएमटी रिसोर्टका अधिकांश कोठाहरु बुकिङ गरिएका छन् । भरतपुरका ठूला होटलहरु सिराईचुली, ग्यालेक्सी गार्डेन रिर्सोट, भरतपुर गार्डेन रिर्सोट, चितवन गार्डेन रिर्सोट, होटल सिद्धार्थ, ल्याण्डमार्क, भिभान्ता सबै जसो होटलहरु बुकिङ छन् ।
भरतपुरकै सिराईचुली होटलका सिराईचुली होटलका प्रवन्ध निर्देशक विष्णु कुँवरले ठूला दलका ठूला नेताहरु भरतपुर आउँदा सिराईचुलीमा नै बस्ने गरेको बताए । होटलका ७१ वटा कोठा ३ दिनका लागि पूर्ण रुपमा बुक भएको उनको जानकारी दिए । सुन्दर दृश्यावलोकनका लागि सिराईचुली आउने गरेको कुँवरले बताए ।
भरतपुर ४ मा रहेको ग्यालेक्सी गार्डेन रिर्सोटका प्रवन्ध निर्देशक नविन कँण्डेलले होटलका सबै कोठाहरु बुकिङ भैसकेको जानकारी दिए । २३ वटा कोठा सबै बुकिङ भैसकेको र कतिपय नेता कार्यकर्ता आउन थालिसकेको उनले बताए ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले रास्वपाको चितवन महाधिवेशनका कारणले अफ सिजनमा पनि यहाँका होटलहरु शतप्रतिशत बुकिङ भएको जानकारी दिए ।
उनका अनुसार भरतपुरमा मात्रै संघमा आवद्ध ६ सयभन्दा बढी साना ठूला होटल छन् । चितवन जिल्लाभरीका होटल मात्रै होइन गैँडाकोटका होटलमा समेत रास्वपाका प्रतिनिधी तथा अन्य कार्यकर्ताहरुले कोठाहरु बुकिङ गरेको उनले जानकारी दिए । भरतपुरमा एसी र ननएसीसहितका कोठाहरु होटलको स्तरअनुसार मूल्य तोकिएको बताए ।
होटल संघका अध्यक्ष अर्यालका अनुसार भरतपुर तथा नारायणगढ क्षेत्रमा ननएसी कोठा ६ सयदेखि र एसी भएका कोठा १२ सय न्यूनत्तम दर राखिएको छ । उनले रास्वपाको महाविधेशनलाई एक अवसरका रुपमा लिँदै २५ प्रतिशत कोठामा र खानामा १० प्रतिशत छुट दिइएको बताए ।
उनले प्रतिनिधीहरुलाई सहजीकरणका लागि महाधिवशेनको बन्दसत्रस्थलमा नै हेल्प डेस्क राखिने जानकारी दिए । होटलहरुलाई गुणस्तर कायम गर्न र पाहुनाहरुलाई राम्रो खालको सेवा प्रवाह गर्न बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर कार्कीको संयोजकत्वमा ५ जना समिती पठाएर अनुगमन तथा गुनासो सुन्ने काम पनि तत्काल गरिने अध्यक्ष अर्यालले जानकारी दिए ।
रास्वपाको महाविधेशनका लागि कविलास रिर्सोट, भतेरी तथा रामनगर क्षेत्रका होटलहरुसहित पश्चिम चितवनका पटिहानी र मेघौलीसम्मका होटलहरूमा महाविधेशन प्रतिनिधीहरुले बुकिङ गरेको अध्यक्ष अर्यालले बताए । ‘आफ्नै साधन हुनेलाई चितवन खासै टाढा छैन, ५ मिनेटदेखि ३० मिनेटसम्म भरतपुरका सबै ठाउँमा पुग्न सकिन्छ’ अध्यक्ष अर्यालले भने, ‘जसलाई जस्तो होटल मनपर्छ त्यस्तो होटलमा बस्न सकिन्छ ।’ रास्वपाको महाधिवेशनमा भरतपुरमा भए पनि सौराहाका होटलहरुमा समेत प्रतिनिधी तथा रास्वपाका नेता कार्यकर्ताले होटल बुकिङ गरेका छन् ।
कतिपय यही मौकामा चितवन घुम्ने भन्दै परिवारसहित आएका छन्।
क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालले रास्वपाको महाविधेशनका लागि सौराहाका होटलहरु प्रतिनिधी तथा अन्य नेताहरुले स्वतर्स्फूत रुममा बुक गरेको बताए । ‘हामीसँग उहाँहरुको होटलको संख्या र रुमको संख्या, दर रेट माग गर्नुभयो, हामीले संघको तर्फबाट सबै दियौं’, महासचिव खनालले भने, ‘२ हजारदेखि ७ हजाससम्म सम्मका होटलहरुको रेट दिएका थियौं, पहिले कार्यक्रम टाँडी गर्ने कुरा थियो, अहिले भरतपुर हुँदा पनि बुकिङ आछ ।’
होटल व्यावसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष दिनेश चुकेले चितवन रास्वपाको चितवनमा हुन लागेको महाधिवेशनले यहाँका होटल तथा रेष्टुरेन्ट चलायमान भएकाले बताए । आर्थिक मसान्त लाग्दै गर्दा होटलहरूमा भरिभराउ हुँदा व्यवसायीलाई राहात मिल्ने उनको भनाइ छ ।
भरतपुर तथा नारायणगढ क्षेत्र खसीको मासुको तासको समेत राजधानीका रुपमा चिन्छिन् । नारायणगढमा भेटघाट, जमघट, मामा, कर्मा जस्ता तास रेष्टुरेन्टहरू छन् । जहाँ तास खान भनेर टाढाटाढाबाट मानिसहरु आउने गरेका छन् । नदी तथा खोला तटिय क्षेत्रमा थारु समुदायहरुले बनाउने हाँसको छोइला र मासु खानका लागिसमेत ठूलो संख्यामा ग्राहकहरू जाने गर्दछन् ।
चितवनको हाँसको छोइला निकै चल्ने गरेको छ । चितवनमा ज्याँदै गर्मी भएकोले यहाँका दुग्ध उत्पादक सहकारीहरुले ब्राण्डिङ गरेको मही असाध्यै मिठो मानिन्छ । जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा जान सकिन्छ । विश्वकै अति दुलर्भ मानिने एकसिङे गैंडा, बाघ, घडियाल गोही हेर्न सकिन्छ भने, साँझपख नारायणी नदीमा सुस्ताउँदै मोटर बोटिङसमेत गर्न सकिन्छ । रामसार सूचीमा सृचिकृत २० हजारी ताल पनि अर्को पर्यटकीय गन्तब्य हो ।
साँझ/विहान केवलकार चढेर मौलाकाली मन्दिर जाने दर्शन गर्ने त्यहाँबाट देखिने लोभलाग्दो दृश्य हेर्न सकिन्छ । गैंडाकोटमा रहेको मौलाकाली मन्दिर जाने दूरी पनि रास्वपाको महाधिवेशनस्थलबाट खासै टाढा छैन। धार्मिक आस्था राख्ने ब्यक्तिहरूका लागि पवित्र तीर्थस्थल देवघाट नजिकै छ भने, चितवनका पहाडी क्षेत्र हेर्न रूचाउनेहरू मोटर लिएर पिच सडकको यात्रा गर्दै उपरदाङगढी र मायाटारसम्म पुग्न खासै धेरै समय छुट्टर्याउनु पर्दैन ।
चितवनका पर्यटन क्षेत्रका जानकार हिम्मत पुरीले रास्वपाले चितवन रोजेर धेरै राम्रो गरेको प्रतिक्रिया दिए । ‘देशको मध्यभाग त हुँदै हो, पर्यटनको विविधता भएको ठाँउ पनि हो, चाहे भूगोलका हिसावले होस् वा जातिय, धार्मिक र सांस्कृतिक रुपमा नै किन नहोस्’ पुरी भन्छन्, ‘आदिवासी थारु बोटे, मुसहर जातिको कला संस्कृति हेर्नेदेखि तिनको संरक्षण र सम्वर्द्धनमा काम गर्नुपर्ने रहेछ भन्ने ज्ञान पनि हुन्छ ।’
प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपालका कार्यकारी सदस्यसमेत रहेका पुरीले रास्वपा सत्तारुढ पार्टी पनि भएकोले चितवनको विकासमा अझै योगदान गर्न सक्ने बताउँछन् । भरतपुर विमानस्थल विस्तार, रात्रीकालिन उडान भरतपुरको प्रमुख एजेण्डा भएकोले रास्वपाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
प्रतिक्रिया 4