+
+
Shares

संसदीय समितिका ५ वटा बैठकमा लगातार नजाने सांसद कारबाहीमा पर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून, न्याय तथा मानव अधिकार समितिले सभापतिको अनुमतिविना लगातार ५ वटा बैठकमा अनुपस्थित हुने सांसदलाई समितिबाट हटाउन सभामुखसमक्ष सिफारिश गर्ने कार्यविधि बनाएको छ ।
  • समितिको बैठकको कार्यसूची आकस्मिकबाहेक अन्य अवस्थामा बैठक बस्नुभन्दा कम्तीमा १ दिन अगावै सदस्यहरूलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

७ असार, काठमाडौं । संसदीय समितिका पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कारबाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधानसहितको कार्यविधि बनाएको हो । विगतमा पनि यस्तो प्रावधान थियो । विगतको प्रावधानलाई समेत निरन्तरता दिएर संसदीय समितिले आफ्नो कार्यविधि तय गरेको हो ।

समितिले तय गरेको कार्यविधिको बुँदा नम्बर ४ मा उपस्थितिसम्बन्धी विषय छ । जसअनुसार समितिको बैठकमा उपस्थित सदस्यले वर्णानुक्रमअनुसार बैठक कक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा आफ्नो उपस्थिति जनाउनु पर्नेछ ।

बैठकमा अनुपस्थित रहने सदस्यले सभापतिलाई कुनै माध्यमबाट जानकारी दिनु पर्नेछ । लगातार पाँच वटासम्म बैठकमा अनुपस्थित रहने सदस्यले सभापति समक्ष अनुपस्थितिको कारणसहितको लिखित निवेदन विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट पेस गर्नु पर्नेछ ।

अगाडि भनिएको छ, ‘सभापतिको अनुमतिबिना लगातार पाँच वटा बैठकमा अनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउनका लागि सभापतिले सभामुखलाई सिफारिस गर्नेछ ।’

सभापतिलाई लिखित जानकारी गराई बैठकमा अनुपस्थित रहने सदस्यको भने हाजिरी पुस्तिकामा नामको पछाडि उपस्थित हुन नसक्ने बेहोराको निवेदन प्राप्त भन्ने बेहोरा उल्लेख गरिनेछ ।

बैठकको एजेण्डा भने एक दिन अगावै सदस्यहरूलाई दिने भनिएको छ ।

कार्यविधिको बुँदा नम्बर ३ मा बैठकको कार्यसूचीसम्बन्धी व्यवस्था छ । जसअनुसार समितिको बैठकको कार्यसूची सभापतिको सल्लाह र निर्देशनमा समिति सचिवले तयार गर्नेछ । अगाडि भनिएको छ, ‘त्यस्तो कार्यसूचीको जानकारी बैठक प्रारम्भ हुनुभन्दा कम्तीमा एक दिन अगावै सदस्यहरूलाई उपलब्ध वा जानकारी गराइने छ ।’

तर समितिको बैठक आकस्मिक रूपमा बस्नुपरेमा वा एकै दिनमा एकभन्दा बढी बैठक बस्नुपरेमा त्यस्तो बैठकको कार्यसूची बैठक बस्नुभन्दा सामान्यतया कम्तीमा आधा घण्टाअघि जानकारी गराए पनि हुने प्रावधान राखिएको छ ।

कुनै बैठकको अन्त्यमा अर्को बैठक बस्ने मिति, समय र स्थान जानकारी गराउने अवस्था नभई बैठक अन्त्य भएमा अर्को बैठक बस्ने सूचना समिति सचिवालयबाट लिखित रूपमा पत्राचार वा टेलिफोन वा इमेल वा एसएमएस वा अन्य विद्युतीय माध्यमबाट र संद्दीय संसद् सचिवालयको सूचना पाटीमा सूचना टाँसेर दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?